राजेन्द्र तिवारी
२४ जेठ, काठमाडौं । वैदिक सनातन धर्म मान्नेहरूले आज ज्येष्ठ शुक्ल एकादशीका अवसरमा आफ्ना घरका मठमा तुलसीको दल राख्दै छन्। हरेक वर्ष यसै दिन तुलसीको बीउ रोप्ने परम्परा रहेको छ।
ज्येष्ठ शुक्ल एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ। आज रोपिएको तुलसीको बीउ एक महिनापछि, आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ। यस अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभरि तुलसी हुर्काएर पछि दामोदर (भगवान् विष्णु) सँग विवाह गरिन्छ भन्ने धार्मिक विश्वास छ।
चतुर्मासमा स्नान, पूजन र दान गरेमा मनोकांक्षा पूरा हुने मानिन्छ। निर्जला एकादशी भनिने भएकाले आजको दिन पानीसमेत नखाई व्रत बस्दा अझ विशेष फल मिल्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार, ‘सक्नेले आजको दिन निर्जल व्रत बस्ने र नसक्नेले फलफूल खाएर व्रत बस्न सक्ने व्यवस्था छ।’
तुलसी आयुर्वेदिक दृष्टिकोणले पनि लाभदायक मानिन्छ र विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। आधुनिक विज्ञानले तुलसीमा उच्च मात्रामा अक्सिजन पाइने कुरा पुष्टि गरिसकेको छ।
यस अवसरमा देशभरका नारायणस्थान तथा विष्णु मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। रासस


+ There are no comments
Add yours