११ जेठ, काठमाडौं । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको १० महिनामा ८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
यातायात कार्यालय कलैयका अनुसार चालु आव २०८१/८२ (१ साउनदेखि ६ जेठसम्म) मा ८ करोड २१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले सबैभन्दा बढी सवारी कर शीर्षकमा राजस्व संकलन गरेको छ । जसमा ३ करोड ८३ लाख ८७ हजार रुपैयाँ संकलन भएको कार्यालयका प्रमुख अबिन्दर दासले जानकारी दिए ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, ‘अनुमति पत्र पास (नयाँ)’ शीर्षकबाट १ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता (नयाँ) शीर्षकमा ८३ लाख ७६ हजार र पटके शीर्षकबाट ३९ लाख ९२ हजार ४० रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै, दर्ता (थप) बाट ३३ लाख ६२ हजार, नवीकरण शीर्षकबाट २७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
सवारी नवीकरण, विविध शुल्क लगायत अन्य शीर्षकहरूबाट पनि उल्लेखनीय आम्दानी भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दासका अनुसार सवारी कर तथा दस्तुर समयमै तिर्ने वातावरण निर्माण, डिजिटल प्रणालीको प्रयोग, सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम गर्ने प्रयासले राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको हो ।
गत ८ माघदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका दासले आफ्नो कार्यकालपछि मासिक राजस्व औसत ६१ लाख रुपैयाँले बढेको बताए ।
डिजिटल प्रणालीको प्रभावकारिताले सेवाग्राहीहरू सन्तुष्ट रहेको र कर तिर्ने तथा सवारीसम्बन्धी काम गर्न झन् सहज भएको उनको भनाइ छ ।
आगामी दिनमा प्रविधिमैत्री, पारदर्शी र सेवामुखी प्रणालीमार्फत राजस्व संकलनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।


+ There are no comments
Add yours