सातौं हप्तामा पनि ‘अञ्जिला’लाई ४० भन्दा धेरै शो

१४ वैशाख, काठमाडौं । पछिल्लो समय फिल्मलाई हलमा एकसाता टिक्न पनि मुस्किल भैरहेको बेला प्रदर्शनरत ‘अञ्जिला’को बक्सअफिस पर्फमेन्स भने लोभलाग्दो छ । प्रदर्शनको सातौं हप्तामा पनि यो फिल्मको शो संख्या ४० भन्दा माथि छ ।

यो फिल्मको कमाइ गतसातासम्म ८ करोड नाघिसकेको छ । लाइफटाइम कलेक्सन १० करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । निर्माताले शुक्रबार प्रदर्शनको ५१ दिन सेलिब्रेसनको तयारी गरिरहेका छन् ।

यसैबीच यो फिल्मलाई भोजपुर नगरपालिकामा चौंथोपटक प्रदर्शन गरिएको छ । नगरप्रमुख कैलाशकुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिकाको हलमा ५ सय दर्शकको सहभागितामा स्क्रिनिङ गरिएको निर्देशक मिलन चाम्सले बताए ।

चाम्सले भने, ‘चलचित्र हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो, र यस्तो कार्यक्रममा सहभागी हुन आउँदा अत्यन्तै खुसी लागेको छ ।’

उक्त विशेष शोबाट उठेको मुनाफा फिल्मकी मुख्य पात्र तथा महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्च गरिने पनि निर्देशकले जानकारी गराए । नगरप्रमुख आलेले घर निर्माणका लागि नगरपालिकाको तर्फबाट ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरे ।

यो फिल्म २०८१ सालमा धेरै कमाउने शीर्ष १० फिल्मको सूचीमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours