सुरुङभित्रको त्यो त्रासदी : मृत्युको मुखबाट फर्किएका कामदारको कहालीलाग्दो भोगाइ

‘त्यहाँ कोही फर्किन चाहँदैनन्, तर साथीहरू फर्किएलान् भन्ने आश छ’

१५ भदाै, काठमाडौँ । अन्धकारमा उर्लिएर आएको पानी, कंक्रिट र भग्नावशेषले बगाउनै लाग्दा रामचन्द्रले नेपालको त्रिशूली नदी किनारस्थित आफू कार्यरत सुरुङको छतमा जडान गरिएको फलामे खुड्किलोलाई कसिलो गरी समाते।

उनको त्यही सुझबुझपूर्ण फुर्तीले नै सम्भवतः उनको ज्यान बचायो।

उनी र उनीसँगै रहेको सहकर्मीहरूको सानो समूह सुरुङको निकासबाट सयौँ मिटर टाढा थिए।

‘पानीको सतह बढिरहेकाले खुट्टा सार्न मुस्किल परिरहेको थियो, यदि मैले त्यो खुड्किलो छोडेको भए म खस्ने थिएँ।’

खुट्टा अड्याउन उनले एउटा टिनको पाता समाते र त्यसैलाई समूहमा एक-अर्कालाई दिँदै उनीहरू ६ घण्टासम्म एकपछि अर्को खुड्किलो गर्दै बिस्तारै अघि बढे।

‘हामी ६ जना थियौँ र पछि सुरुङको ढोकामा अर्को एक जनालाई भेट्यौँ,’ उनले भने। बाहिर निस्किसक्दा बाढीले उनीहरूको शरीरका कपडासमेत बगाइसकेको थियो।

उज्यालोमा आएपछि उनीहरूले बाढीले मच्चाएको विनाशकारी ताण्डव देखे। तल नदी अझै उर्लिरहेको थियो, जुन भग्नावशेष, हिउँ र लेदोले गर्दा कालो रूपमा परिणत भएको थियो।

माथिल्लो भेगका हिमालबाट सुरु भएको प्रलयकारी बाढीले तल्लो तटीय क्षेत्रको १०० किलोमिटरसम्म तहसनहस बनायो। वर्षौंपछिको यो सबैभन्दा ठुलो प्राकृतिक विपत्तिमा सयौँले ज्यान गुमाए भने सम्पूर्ण बस्तीहरू नै पुरिए।

विश्वकै अग्लो पर्वत शृङ्खलाबाट बग्ने नदीहरूको प्रचण्ड ऊर्जा दोहन गर्न गहिरो सुरुङ खनिरहेका धेरै जलविद्युत् आयोजनाका रामचन्द्र जस्तै सयौँ कामदारहरू बेपत्ता हुनेको सूचीमा छन्।

करिब २७९ जना जलविद्युत् कामदारको उद्धार गरिएको छ वा उनीहरू हिलो र लेदोले भरिएका सुरुङहरूबाट सङ्घर्ष गर्दै बाहिर निस्कन सफल भएका छन्। तर अन्य धेरै जना अझै सुरुङभित्रै फसेको आशङ्का गरिएको छ।

Trishuli 3A

त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा, उद्धारकर्ताहरूले शनिबार रातभर र आइतबार दिनभर काम गर्दै सुरुङभित्र फसेका हुनसक्ने व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्ने आशामा प्वाल खोपेर हावा पठाउने र खानेकुरा खसाल्ने प्रयास गरे।

थोरै मात्र बाँच्न सफल

बाढी आउँदा मदनसिंह बुढा माथिल्लो त्रिशूलीको २ नम्बर सुरुङमा रात्रिकालीन ड्युटी सकेर भर्खरै फर्किएका थिए।

‘मैले बाहिर हेर्दा जताततै पानी मात्र देखेँ, त्यसैले म डाँडातिर दौडिन थालेँ,’ आइतबार विपत्तिग्रस्त क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएपछि उनले भने।

‘डाँडा चट्टानी थियो र बीचबीचमा घाँसहरू उम्रिएका थिए। उकालो चढ्दा हामीले त्यही घाँसको सहारा लियौँ।’

‘माथि चढ्न नसक्ने जति सबैलाई बाढीले बगायो।’

त्यसपछि सुरु भयो, आफ्ना सहकर्मीहरूको निराश र अन्योलपूर्ण खोजी।

मदनसिंह बुढा, रामचन्द्र र उद्धार गरिएका अन्य करिब १५ जना कामदार नेपालको सुदूर क्षेत्र जुम्लाका हुन्– भिरालो पहाडमा रहेका मकैका गह्रा र आत्मीय ग्रामीण समुदाय भएको यो क्षेत्र, विपत्ति आएको स्थानभन्दा बिलकुलै फरक संसार जस्तो लाग्छ।

त्यो समूहका हरेकले आफ्ना कोही न कोही आफन्त वा साथी गुमाएका थिए।

hydropower workers

रामचन्द्र जस्तै धेरैले बाढीमा आफ्ना कपडासमेत गुमाएका थिए र ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्दा गाउँलेहरूले पैँचो दिएका पाइन्ट, सर्ट र चप्पल लगाएका थिए।

बाँच्न सफल हुनेमध्येका अर्का एक हुन्, भक्तिराम बोहरा।

उनको भनाइअनुसार, यसरी बाँच्न सफल हुनेहरूको सङ्ख्या अत्यन्तै न्यून छ।

उनी कार्यरत र नजिकैका अन्य आयोजनाहरूमा गरी करिब १ हजार जना मानिसले काम गरिरहेको उनको अनुमान छ।

तीमध्ये करिब सय जना मात्र सकुशल बाहिर निस्कन सफल भएका थिए।

बेपत्ता हुनेहरूमा उनका ज्वाइँ पनि छन्। उनीहरू एउटै टोलीमा सँगै काम गर्थे र परिवारबाट हप्तौँ टाढा बसेर कमाएको पैसा गाउँ पठाउँथे।

‘उनकी श्रीमती मेरी बहिनी हुन् र उनी अहिले गर्भवती छिन्,’ धरधरी रुँदै उनले भने।

‘त्यहाँ कोही पनि फर्केर जान चाहँदैनन्’

पेसाले ‘टुर गाइड’ रहेका अमर विष्ट सुरुङमा काम त गर्दैनथे, तर आफ्ना दर्जनौँ आफन्त र साथीभाइ कार्यरत सो स्थानमा विपत्ति आएको खबर सुन्नासाथ उनी घटनास्थलतर्फ दौडिए।

को बेपत्ता भए र को सुरक्षित छन् भनेर पत्ता लगाउनु अनि उनीहरूलाई बाहिर निकाल्नु लगभग असम्भव जस्तै काम थियो।

आफूले उद्धार गरेका मानिसहरूको समूहसँगै उभिइरहेका उनले सिएनएनसँग आफू चार दिनदेखि नसुतेको बताए।

आफ्नो वरिपरि शान्त भावमा उभिरहेका मानिसहरूतर्फ इसारा गर्दै उनले आँसु पुछ्दै भने, ‘उहाँहरू सबै मेरै गाउँ-ठाउँका हुन्।’

जब उनी हेलिकप्टरमार्फत घटनास्थल पुगे, त्यहाँको विनाशको दृश्यले उनलाई गहिरो चोट दियो।

अति प्रभावित क्षेत्रबाट मानिसहरूको उद्धार भइरहेको सञ्चारमाध्यमका खबरहरूलाई सङ्केत गर्दै उनले भने, ‘मानिसहरू अझै पनि जीवितै भेटिने आशमा छन्, तर वास्तविकता शून्य छ।’

‘धेरै रात म रोएर सुत्नै सकेको छैन। मेरा दाइभाइ र दिदीबहिनीले आफ्ना छोराछोरी गुमाएका छन्। १८ वर्षका कलिला केटाकेटीहरू… तपाईं आफैँ कल्पना गर्न सक्नुहुन्छ,’ उनले भने।

उनी बोलिरहँदा माथि आकाशमा सैन्य र नागरिक हेलिकप्टरहरू जीवित र मृतकलाई ओसार्ने अनवरत कार्यमा निरन्तर फन्को मारिरहेका थिए। उनले सरकारी निकायले गरिरहेको यस कामप्रति आफू आभारी रहेको बताए।

विपत्तिग्रस्त क्षेत्रमा उद्धारका लागि लगभग अकल्पनीय आँटको आवश्यकता थियो: आफ्ना यति धेरै मानिसहरूको ज्यान लिने तिनै सुरुङहरूभित्र पुनः प्रवेश गर्नु।

‘त्यहाँ फर्केर जान कोही पनि चाहँदैनन्,’ उनले भने, ‘तर सबै जना आफ्ना साथीहरू फर्किएर आऊन् भन्ने चाहन्छन्।’

आइतबार राति यो समूह राजधानी काठमाडौँ फर्किने बसमा चढ्यो। यो उनीहरूको जुम्लास्थित परिवारसम्म पुग्ने कैयौँ दिन लाग्न सक्ने सडक यात्राको पहिलो पाइला थियो।

‘हामीले आफ्ना साथीहरूलाई फर्काएर ल्याउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौँ भन्ने कुरा सबैले बुझून् भन्ने हाम्रो चाहना छ,’ काँप्दो स्वरमा अमरले भने, ‘कम्तीमा उनीहरूको मृत शरीर भए पनि हामी ल्याउन चाहन्थ्यौँ।’

सीएनएन

You May Also Like

More From Author

+ There are no comments

Add yours