२७ चैत, काठमाडौँ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्लाई लेबननसँग सकेसम्म चाँडो प्रत्यक्ष वार्ता गर्न निर्देशन दिइएको बताएका छन्।
एक्समा हिब्रु भाषामा पोस्ट गरिएको विज्ञप्तिमा लेबननले वार्ता सुरु गर्न बारम्बार र निरन्तर अपिल गरेको दाबी गर्दै आफ्नो मन्त्रिपरिषद्लाई यसमा अगाडि बढ्न भनिएको नेतन्याहुले उल्लेख गरेका छन्।
उनले वार्ताको केन्द्रबिन्दु हेजबुल्लाहको नि:शस्त्रीकरण र इजरायल र लेबननबिच शान्ति सम्बन्ध स्थापना हुने बताएका छन्।
अमेरिका-इरान युद्धविरामपछि पनि इजरायलले लेबननमा हवाई हमला जारी राखेका बेला यो समाचार आएको हो।
मंगलबार राति अमेरिका र इरानबिच २ साता युद्धविराम गर्ने सहमति भइसक्दा पनि बुधबार इजरायलले लेबननमा भीषण हवाई आक्रमण गरेको छ। जसमा परी २ सयभन्दा बढी मानिस मारिएका छन् भने हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।
जसले गर्दा अहिले अमेरिका र इरानबिच युद्धविराम सम्झौतामा लेबननमा पनि आक्रमण रोक्ने कुरा छ कि छैन भन्ने विषयमा विवाद भइरहेको छ।
इरानले सम्झौतामा लेबननमा पनि हमला नगर्ने कुरा रहेको जिकिर गरिरहँदा अमेरिकाले भने यो कुरा समावेश नगरिएको दाबी गरिरहेको छ।
त्यसो त युद्धविरामका लागि मध्यस्थता गर्ने पाकिस्तानले बुधबारै लेबननमा पनि युद्ध रोक्ने कुरा रहेको बताएको थियो। तर इजरायलले युद्धविराम लेबननमा लागु नहुने भनेको थियो।


+ There are no comments
Add yours