निफमा सहभागी हुन काठमाडौँ आइपुगे ‘शोले’का निर्देशक रमेश सिप्पी

१९ चैत, काठमाडौँ । बलिउडका चर्चित निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सहभागी हुन नेपाल आइपुगेका छन्।

उनी गएराति काठमाडौँ आइपुगेका हुन्। निफ आजदेखि सुरु हुँदैन। यही चैत २३ गतेसम्म सञ्चालन हुने निफको उद्घाटन समारोहमा उनी विशेष अतिथिको रुपमा सहभागी हुँदैछन्।

निफको अन्तरक्रियात्मक कार्यक्रममा रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको अध्यक्ष केपी पाठकले जानकारी दिए।

निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे हमाल सिप्पीबीच संवाद कार्यक्रम हुनेछ। संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद स् रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ ।

नेपाली र बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने तय भएको अध्यक्ष पाठकले बताए ।

‘दुई लेजेन्डहरूको अनुभव, उनीहरूको भोगाइ र सिनेमाको भविष्यका विषयमा उहाँहरूले संवाद गर्ने तय भएको हो। निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली चलचित्र क्षेत्रको सम्बन्ध थप विस्तार हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो,’उनले भने।

रमेश सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन्। बलिउडमा कोशेढुंगाका रुपमा साबित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो।

सिप्पीले आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, सञ्जीव कुमार, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन्।

नवौं संस्करणको निफ निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ। प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रसियन फिल्महरू पनि निफमा देखाइनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours