गगनको राजीनामा अस्वीकृत भएपछि फेरि जुट्दै कांग्रेस, सानेपामा केन्द्रीय कार्यसमिति बैठक

१० चैत, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक रणनीति र आगामी कार्यदिशा तय गर्न आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले विशेषगरी १५ औं महाधिवेशनको तयारी र हालैको चुनावी परिणामका विषयमा घनीभूत छलफल गर्ने जनाइएको छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ । आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी अब पूर्ण रूपमा नियमित १५ औं महाधिवेशनको तयारीमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा आजको बैठकमा महाधिवेशनको मिति र आवश्यक प्रक्रियाबारे प्रारम्भिक छलफल सुरु हुने नेताहरूले बताएका छन् ।

यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजय र त्यसपछिको राजनीतिक परिस्थितिबारे पनि बैठकमा गम्भीर समीक्षा हुने बताइएको छ । चुनावमा अपेक्षित नतिजा नआएपछि उत्पन्न आन्तरिक असन्तुष्टि र सुधारका उपायहरूबारे पनि सदस्यहरूले धारणा राख्नेछन् ।

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष दिएको राजीनामा आइतबारको केन्द्रीय समिति बैठकले अस्वीकृत गरिदिएको थियो । थापाको राजीनामा अस्वीकार गर्दै पार्टीले उनलाई आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेपछि बस्न लागेको यो बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

पार्टीभित्रको आन्तरिक एकता कायम गर्दै कार्यकर्ताको मनोबल उच्च बनाउन नेतृत्वले कस्तो योजना ल्याउँछ भन्नेमा कांग्रेस वृत्तमा चर्चा सुरु भएको छ । आजको बैठकले महाधिवेशनको खाका कोर्ने मात्र नभई, पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्ने आधारसमेत तयार पार्ने अपेक्षा गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours