०१ चैत, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ।
६ वर्ष कैद र २२ करोड बढी जरिवाना तोकिएका उनी फरार रहँदै आएका थिए। सीआईबीले काठमाडौंको सीतापाइलाबाट आइतबार पक्राउ गरेको हो।
उनीसमेतले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हितविपरीत हुने कार्य गरी बैङ्किङ कसूरमा संलग्न रहेकोले नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले अनुसन्धान तथा आवश्यक कारबाही गर्न सीआईबीलाई पत्राचार गरेको थियो। उनी काठमाडौंको नागार्जुन ५ सीतापाइलाका स्थायी बासिन्दा हुन्।
सोसँगै सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेकामा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला गर्दै दुईवटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना तथा ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद गरी कुल जम्मा २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिबाना र ६ वर्ष कैद सजाय हुने ठहर गरेको थियो। तर श्रेष्ठ फरार थिए।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ।


+ There are no comments
Add yours