नयाँ प्रविधिमा जाँदै राहदानी विभाग, जिल्ला र विदेशस्थित नियोगमा पनि केही दिन काम रोकिने

२९ फागुन, काठमाडाैँ । राहदानी विभागले पुरानो राहदानी वितरण प्रणालीलाई विस्थापित गरी नयाँ आधुनिक प्रणाली जडान गर्न लागेकाले केही दिन सेवा अवरुद्ध हुने जानकारी दिएको छ। विभागका अनुसार नयाँ प्रणाली जडानका क्रममा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने सेवा १ देखि ३ दिनसम्म बन्द हुन सक्नेछ।

राहदानी विभाग (काठमाडौँ) बाटै प्रदान गरिने सेवाहरू भने करिब एक हप्तासम्म रोकिन सक्ने सूचनामा उल्लेख छ। नयाँ प्रणाली जडान भएपछि त्यसलाई पूर्ण रूपमा स्थिर हुन १ देखि ३ महिनासम्म लाग्ने अनुमान गरिएको छ। यस अन्तरिम अवधिमा राहदानी तयार भई वितरण हुन हालको तुलनामा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ।

विभागले आगामी ५ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई नयाँ प्रणाली सुरु हुनुअघि नै आवेदन दिन र सेवा लिन आग्रह गरेको छ। नयाँ प्रणाली सञ्चालनमा आएपछि राहदानी जारी हुने समय र प्रक्रियाबारे विभागले निकट भविष्यमै पुनः अर्को सूचना जारी गर्ने जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours