२७ फागुन, काठमाडौँ। एटीएण्डटीले अमेरिकामा नेटवर्क पूर्वाधार विस्तार गर्न आगामी पाँच वर्षमा २५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको जनाएको छ। टेलिकम सेवा प्रदायक कम्पनीले मंगलबार यस्तो जानकारी दिएको हो।
संयुक्त राज्य अमेरिकाका टेलिकम अपरेटरहरूले अहिले फाइबर र फाइभजी नेटवर्कमा आक्रामक रूपमा खर्च गरिरहेका छन्। केबल सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्न र एआईको बढ्दो प्रयोगसँगै बढिरहेको डाटा-केन्द्रित सेवाको माग पूरा गर्न यस्तो लगानी बढाइएको हो।
कम्पनीका अनुसार २५० अर्ब डलरको यो रकममा पूँजीगत लगानी मात्र नभई सो अवधिको सञ्चालन खर्च पनि समावेश गरिएको छ, अर्थात् यो सबै नयाँ खर्च मात्र होइन।
डाटा विश्लेषण संस्था भिजिबल अल्फाको तथ्यांक अनुसार सन् २०३० सम्म कम्पनीको पूँजीगत खर्च करिब १११.६१ अर्ब डलर हुने विश्लेषकहरूको अनुमानसँग यो योजना तुलना गरिएको छ। हाल १ लाख १० हजार अमेरिकी कर्मचारी रहेको एटीएण्डटीले यस वर्ष हजारौँ प्राविधिक (टेक्निसियन) थप नियुक्त गर्ने पनि जनाएको छ।


+ There are no comments
Add yours