याङ्गो राइडले नेपालमा सुरु गर्यो चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा

२७ फागुन, काठमाडौँ। विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको घोषणा गरेको छ।

यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।

कम्पनीका अनुसार प्रति राइड अधिकतम रु १०,००,००० सम्मको बीमा कभरेज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडद्वारा प्रदान गरिएको छ, जसमा खल्ती सुरक्षाले सहयोग गरेको छ।

चालकका लागि राइड स्वीकार गरेदेखि नै बीमा लागू हुन्छ भने यात्रुका लागि पिकअपदेखि ड्रप पूरा नभएसम्म कभरेज रहनेछ। साथै, यो सुविधा डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूमा पनि लागू हुनेछ।

दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातहरू (जस्तैः मेडिकल रिपोर्ट, बिल, र सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन) सहित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा दाबी पेश गर्न सकिन्छ। सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिनेछ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, “हाम्रा पार्टनर चालक, कुरीयर र यात्रुहरूको सुरक्षा तथा हित हाम्रो प्रमुख प्राथमिकता हो। निःशुल्क इन–राइड बीमा सुरु गरेर हामी सबैलाई अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सहयोग पुर्याइरहेका छौं।”

यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक, कुरीयरलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको हो, जसले सबैलाई आर्थिक भार बिना अतिरिक्त सुरक्षा उपलब्ध गराउँछ।

नेपालमा तीव्र रूपमा बढिरहेको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा, यस बीमा कार्यक्रमले याङ्गो राइडलाई नेपालको यातायात क्षेत्रमा विश्वसनीय सेवाप्रदायकको रूपमा अझ सुदृढ बनाएको कम्पनीको ठम्याई छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours