२३ फागुन, काठमाडौं । ‘इतिहास भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन,’ केही वर्ष अगाडि काठमाडौँको गल्लीमा गुञ्जिएको एउटा र्यापको पङ्ति थियो । त्यतिबेला यो केवल एउटा ठिटो बालेनको जोशिलो र्यापको लय मात्र थियो । तर समयको चक्रले यसलाई नेपाली राजनीतिको सबैभन्दा कठोर र यथार्थ सावित गरिदियो । आज काठमाडौँका सडकदेखि झापाका फाँटसम्म बालेन एउटा नाम मात्र रहेनन्, उनी नेपाली राजनीतिमा दशकौँदेखि जकडिएको पुरातन शैलीलाई भत्काउने एउटा शक्ति भएर उदाए ।
२०७९ को स्थानीय निर्वाचनमा काठमाडौँको मेयरका रूपमा अप्रत्याशित विजयी भएका बालेनले जुन राजनीतिक चमत्कारको बीजारोपण गरेका थिए, त्यसले आज देशकै शासन व्यवस्थाको स्वरूप बदल्ने गरी विशाल वृक्षको आकार ग्रहण गरेको छ ।
बालेनको राजनीतिक यात्रा कुनै परम्परागत विरासत वा दलीय आशीर्वादबाट सुरु भएको थिएन । राजनीतिक दलको किल्लाको रुपमा रहेको राजधानी काठमाडौँ महानगरपालिकामा स्वतन्त्र व्यक्ति मेयर जितेर ‘सरप्राइज’ दिएका उनले महानगरभित्रका अनधिकृत संरचनामा डोजर चलाउँदा धेरैले त्यसलाई केवल एउटा पपुलिस्ट कदमका रूपमा मात्र हेरेका थिए । तर त्यो डोजर केवल सिमेन्ट र बालुवाका पर्खालहरूमा मात्र चलेको थिएन, त्यसले त नेपाली जनताको मानसपटलमा बसेको ‘केही हुँदैन’ भन्ने हीनताबोधको पर्खाल भत्काउँदै आशाको किरण जगाएको थियो ।
सिंहदरबारको बन्द कोठाभित्र बसेर शक्तिको अभ्यास गर्ने परम्परागत दलका शीर्ष नेताहरूका विरुद्ध उनले जुन टसल गरे, त्यसले नेपाली युवामा वर्षौँदेखि सञ्चित निराशालाई एउटा निकास दियो । बालेन केवल पदको नाम थिएन, उनी त सुशासनको खोजीमा भौँतारिएका लाखौँ युवाका आशा बनिसकेका थिए । उनले बागदरबारबाट सिंहदरबारलाई दिएका कडा जवाफहरू केवल शब्द मात्र थिएनन्, ती परिवर्तनका लागि आतुर एउटा सिङ्गो युवा पुस्ताको गर्जन बनेको थियो ।
आम नागरिकमा चरम निराशा छाइरहेको बेला बालेन एउटा नयाँ तरङ्ग बनेर आए । सुशासनको अभाव र भ्रष्टाचारको दुर्गन्ध व्याप्त थियो । सामाजिक सञ्जाल बन्द विरुद्ध र विधिको शासनका लागि भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो, त्यसले नेपालको राजनीतिक जग नै हल्लाइदियो । तत्कालीन सरकारको दमनकारी नीति र युवामाथि चलेको गोलीले नेपाली माटोलाई पुनः रक्ताम्य बनायो, तर त्यही रगतले परिवर्तनको नयाँ गाथा लेख्न सुरु गर्यो । त्यो आन्दोलनमा बालेनको खुला समर्थनले आगोमा घिउको काम गर्यो । सडकमा उत्रिएका ती कलिला हातहरू र सपना देख्ने आँखाहरूका लागि बालेन एउटा भरोसाको केन्द्र बने । देशभरि फैलिएको त्यो विद्रोहको लहरले अन्ततः एमाले–कांग्रेस नेतृत्वको शक्तिशाली सत्तालाई बालुवाको महलझैँ ढलाइदियो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एउटा अन्तरिम सरकारको उदय भयो ।
बालेनले काठमाडौँको सुरक्षित मेयर पद त्यागेर देशको नेतृत्व लिने जोखिमपूर्ण निर्णय लिए । जब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्यो, तब नेपाली राजनीतिमा एउटा यस्तो भूकम्प गयो, जसको धक्का परम्परागत दलका किल्लाहरूसम्म पुग्यो । उनले केवल चुनाव मात्र लडेका थिएनन्, उनले त वर्षौँदेखि जरा गाडेर बसेका शक्ति केन्द्रहरू विरुद्ध धावा बोलेका थिए ।
सङ्क्रमणकालीन घडीमा नेपाली जनता विशेष गरी नयाँ पुस्ताले एउटै अनुहार खोजिरहेको थियो– बालेन । फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा भयो । बालेनले काठमाडौँको सुरक्षित मेयर पद त्यागेर देशको नेतृत्व लिने जोखिमपूर्ण निर्णय लिए । जब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्यो, तब नेपाली राजनीतिमा एउटा यस्तो भूकम्प गयो, जसको धक्का परम्परागत दलका किल्लाहरूसम्म पुग्यो । उनले केवल चुनाव मात्र लडेका थिएनन्, उनले त वर्षौँदेखि जरा गाडेर बसेका शक्ति केन्द्रहरू विरुद्ध धावा बोलेका थिए । उनले आफ्नो उम्मेदवारीका लागि त्यस्तो ठाउँ रोजे, जुन नेपाली राजनीतिको ‘अभेद्य किल्ला’ मानिन्थ्यो झापा निर्वाचन क्षेत्र नम्बर ५, जहाँ दशकौँदेखि केपी शर्मा ओलीको एकछत्र राज थियो ।
झापा–५ केवल एउटा निर्वाचन क्षेत्र मात्र थिएन, त्यो त एउटा राजनीतिक विरासत र शक्तिको प्रतीक थियो । २०४८ सालदेखि नै अपवादबाहेक निरन्तर विजयी हुँदै आएका र विपक्षीलाई लज्जास्पद हारको स्वाद चखाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि यो क्षेत्र एउटा सुरक्षित कवचजस्तै थियो । तर यसपटक इतिहासले आफ्नो पाना पल्टाउने निर्णय गरिसकेको थियो । बालेनले जब ‘घण्टी’ चिह्न लिएर झापाको माटोमा पाइला टेके, तब त्यहाँ परिवर्तनको लहर चल्यो । धेरैले यसलाई बालेनको ‘राजनीतिक आत्महत्या’ भनेर टिप्पणी गरे, तर ती टिप्पणीकारहरूले युवा पुस्ताको मनमा उम्लिरहेको विद्रोहको लाभालाई ठम्याउन सकेका थिएनन् ।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइरहँदा नेपाली राजनीतिमा एउटा महाकाव्यको अन्त्य र नयाँ युगको सूत्रपात भएको छ । झापाको त्यो गढ, जहाँ ओलीले राज्यकोषको अर्बौँ रकम खन्याएर विकासका नाममा आफ्नो वर्चस्व जोगाउने प्रयत्न गरेका थिए । त्यहाँ बालेनले ४९ हजार ६ सय १४ मतको विशाल मतान्तरले विजय हासिल गरे । ६८ हजार ३ सय ४८ मतका साथ बालेन विजयी हुँदा ओली केवल १८ हजार ७ सय ३४ मतमा खुम्चिन पुगे । यो केवल एक व्यक्तिको हार वा जित थिएन, नेपाली राजनीतिमा रहेको सामन्ती सोच, दम्भ र पुरानो पुस्ताको एकाधिकार माथिको निर्मम प्रहार थियो । झापाका युवाहरूले ओलीले दमकमा निर्माण गरेका गगनचुम्बी भ्युटावरभन्दा बालेनको आँखामा झल्केको सुशासनको सपनालाई विश्वास गरे ।
बालेनको यो उदयका पछाडि उनको व्यक्तिगत व्यक्तित्व मात्र थिएन, बरु उनीभित्र लुकेको एउटा कुशल इन्जिनियरका योजना र र्यापरको विद्रोहको समीश्रण थियो । ३६ वर्षीय यी युवा जो सिभिल र स्ट्रक्चरल इन्जिनियरिङमा पोख्त थिए । भूकम्पको समयमा उनले देशका ६५ जिल्ला घुमेर नेपाली माटोको समस्यालाई नजिकबाट बुझेका थिए । उनले र्यापमार्फत नेपाली जनतालाई अब खोक्रा भाषण र राष्ट्रवादका नारा मात्रले पुग्दैन, उनीहरूलाई त परिणाममुखी काम र जवाफदेही नेतृत्व चाहिएको सन्देश दिँदै आएका थिए । उनको चुनावी सभामा पनि यही झल्किथ्यो । उनले भूगोल र संस्कृति जोडेर छोटो भाषण दिएका थिए ।
बालेनले आफ्नो सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम मात्र बनाएनन्, त्यसलाई एउटा यस्तो अस्त्रका रूपमा प्रयोग गरे, जसले परम्परागत सञ्चारमाध्यम र दलीय संयन्त्रहरूलाई नै ओझेलमा पारिदियो । बालेनको यो चुनावी विद्रोहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा अभूतपूर्व उचाइमा पुर्याएको छ ।
मतपरिणामको रुझान हेर्दा प्रत्यक्षतर्फ १२१ सिट आउने अनुमान गरिएको छ । समानुपातिकमा ५० प्रतिशतभन्दा बढी मत देखिन्छ । यही रफ्तारले रास्वपा अहिले दुई तिहाइ बहुमतको नजिक पुग्छ । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना हात्तीहरू अहिले रास्वपाको यो प्रचण्ड लहरका अगाडि मरिचझैँ चाउरिएका छन् । यो पटक नेपाली जनताले कुनै एउटा दललाई यति ठुलो जनमत दिएका छन् कि अब संवैधानिक प्रक्रियाहरू पनि एउटै दलको इच्छाशक्तिमा निर्भर हुने भएका छन् । यो जनमत बालेनप्रतिको भरोसा र पुराना दलप्रतिको चरम घृणाको संयुक्त अभिव्यक्ति हो ।
झापाको चुनावी मैदानमा आफु सुरक्षित हुन ओलीले विकासको बाढी नै ल्याएका थिए । तर उनले यो बिर्सेका थिए कि समय सधैँ एउटै लयमा चल्दैन । जब मानिसमा परिवर्तनको भोक जाग्छ, तब पुराना किल्लाहरू तासको महलझैँ ढल्छन् ।
भदौको त्यो विद्रोहले युवाहरूको मनमा जुन चोट पुर्याएको थियो, त्यसको बदला उनीहरूले मतपत्रमार्फत लिए । एमालेको बलियो सङ्गठन र ग्रासरुट नेटवर्कलाई एउटा ३६ वर्षे ठिटोले आफ्नो वैचारिक स्पष्टता र साहसले ध्वस्त पारिदियो । नेपाली राजनीतिको एउटा अध्याय अहिले पूर्णविराममा पुगेको छ । लामो समयदेखि एमालेको बागडोर सम्हालेका र राष्ट्रिय राजनीतिको मियो मानिएका केपी शर्मा ओली अहिले संसद् बाहिर बस्नुपर्ने अवस्थामा पुगेका छन् । बालेनले झापामा मात्र जितेनन्, उनले त समग्र नेपालमा एउटा सन्देश दिए ‘अबको पालो युवाको, अबको बाटो सुशासनको ।’


+ There are no comments
Add yours