०३ फागुन, काठमाडाैँ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले युरोपको सुरक्षाका लागि अमेरिकाको ‘आणविक छहारी’ को कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।
म्युनिख सुरक्षा सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले युरोपमा अहिले भइरहेका बहसहरूले सामूहिक आणविक प्रतिरोधलाई कसरी अझ बलियो बनाउने भन्नेमा केन्द्रित रहेको बताए। रुटले युरोपमा कसैले पनि अमेरिकी परमाणु सुरक्षाको प्रतिस्थापन खोज्नेबारे बहस नगरेको दाबी गर्दै अमेरिका नै अन्तिम संरक्षक भएको सबैले महसुस गरेको उल्लेख गरे।
युरोपमा आणविक सुरक्षाको विषय तब चर्चामा आयो जब जर्मन चान्सलर फ्रेडरिक मर्जले फ्रान्सका राष्ट्रपतिसँग युरोपेली आणविक प्रतिरोधका बारेमा गोप्य वार्ता भएको खुलासा गरे।
यस्तै, बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले पनि फ्रान्ससँगको परमाणु सहयोग बढाइरहेको बताएका छन्। रुसबाट बढ्दो खतरा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सुरक्षा प्रतिबद्धतामा आउन सक्ने फेरबदलका आशङ्काबीच यस्ता बहसहरू सतहमा आएका हुन्।
ट्रम्प प्रशासनका अधिकारीहरूले युरोपेली सहयोगीहरूलाई आफ्नो परम्परागत प्रतिरक्षाको जिम्मेवारी आफैँ लिन सुझाव दिँदै आएका छन्। तर, सुरक्षाको सबैभन्दा बलियो पक्ष मानिने परमाणु सुरक्षा भने अमेरिकाले नै प्रदान गरिरहने उनीहरूको भनाइ छ।
नेटो प्रमुख रुटले यी सबै छलफलहरू युरोपको थप सुरक्षाका लागि भएको भन्दै अमेरिकी नेतृत्वको वर्तमान सुरक्षा संरचना नै सबैभन्दा भरपर्दो भएकोमा जोड दिएका छन्।


+ There are no comments
Add yours