ग्यास भण्डारण नहुँदा उपभोक्तालाई सास्ती

०३ फागुन, काठमाडाैँ । सरकारसँग खाना पकाउने एलपिजी ग्यासको भण्डारण नहुँदा विभिन्न समयमा उपभोक्ताले अभाव खेप्नु परेको छ । मुलुकभर पेट्रोलियम पदार्थको वितरण गर्ने नेपाल आयल निगमसँग डिजेल, पेट्रोल र हवाई इन्धनको भण्डारण क्षमता रहे पनि ग्यासको नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । निजी उद्योगी व्यवसायीलाई निगमले ग्यास खरिद आदेश (पिडिओ) जारी गर्ने र उद्योगीले भारतका विभिन्न ‘रिफाइनरी’ केन्द्रबाट ग्यास आयात गरी बजारमा पठाउने गर्छन् ।

अर्कोतिर ग्यास आयात गर्नका लागि नेपाली नम्बरका ग्यास बुलेट नहुँदा भारतीय नम्बरका ग्यास बुलेटमा भर पर्नुपर्ने अवस्था छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार निजी उद्योगीसँग सिलिन्डर र बुलेटमार्फत गरी १२ हजार मेट्रिक टनदेखि १५ हजार मेट्रिक टन ग्यास अर्थात् १० दिनको बजार माग धान्न सक्ने भण्डारण रहेको छ । सङ्घका अनुसार बजारमा सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टन र जाडोको समयमा ५० हजार मेट्रिक टन ग्यासको खपत हुने गरेकोमा आपूर्तिमा समस्या हुँदासाथ अभाव देखिने गरेको छ ।

एक महिनाअघि भारतको बरौनी रिफाइनरी केन्द्र मर्मत हुँदा आपूर्तिमा समस्या भएको थियो । केन्द्र मर्मत भएपछि पछिल्लो एक सातादेखि नियमित रूपमा ग्यासको आयात भइरहेको छ । नेपाल आयल निगमका अनुसार दैनिक ७० बुलेट ग्यास आवश्यक पर्ने गरेकोमा पछिल्लो समय ९० देखि एक सय बुलेट ग्यास आयात भइरहेको छ तर पनि बजारमा उपभोक्ताले भने सहजै रूपमा ग्यास पाउन सकेका छैनन् ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजार मागभन्दा बढी ग्यास आयात भइरहेकाले अभाव नभएको जानकारी दिनुभयो । “बजारमा ग्यासको अभाव भएको हल्ला फैलिएपछि थप अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले घरमा भएका खाली सिलिन्डर भर्न थालेकाले माग बढ्दा खपत ह्वात्तै बढ्यो हो,” उहाँले भन्नुभयो, “ग्यासको आयात नियमित भइरहेकाले आवश्यकताभन्दा बढी खरिद नगर्नसमेत आग्रह गर्दछु ।” ग्यास ढुवानी गर्नका लागि भारतीय नम्बरका ग्यास बुलेटमा भर पर्नुपर्दा पनि ग्यासको आपूर्तिमा सामान्य समस्या आउने गरेको उहाँको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले भारतको बरौनी नाका मर्मतका कारण त्यसको प्रभाव बजारमा देखिएको जानकारी दिनुभयो । बरौनीबाट ग्यास आयात गर्दा तीन दिनमा आइपुग्ने र अन्य नाकाबाट ग्यास आयात गर्न १० दिन लाग्ने गर्दा बजारमा ग्यासको अभाव देखिएको उहाँको भनाइ छ ।

निगमसँग ग्यास भण्डारण नभएको र निजी क्षेत्रसँग बुलेट र सिलिन्डरमा १० दिनको माग धान्न मात्र भण्डारण भएकाले पनि आपूर्तिमा सामान्य अवरोध हुँदा बजारमा अभाव देखिने उहाँको भनाइ छ । स्थायी रूपमा ग्यासको समस्या समाधान गर्न पाइप लाइनबाट ल्याएर भण्डारण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । भारतको बरौनीबाट बाराको अमलेखगन्जसम्म पाइप लाइनमार्फत ग्यास आयात गरी भण्डारण गर्न सकिने उहाँको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले नेपालमा ग्यास ल्याउने बुुलेटले भारतमै ग्यास बोक्न थालेकाले पनि ग्यास आपूर्तिमा समस्या भएको जानकारी दिनुभयो । “अन्य सिजनको तुलनामा जाडोमा ग्यासको खपत १५ देखि २० प्रतिशत बढ्छ,” उहाँले भन्नुभयो, “ग्यास आयातका लागि नजिकको बरौनी रिफाइनरी केन्द्र मर्मत गर्दा पनि आपूर्तिमा समस्या देखिएको हो ।”

निगमले प्रमाणित गरेका बजारमा देशभर एक करोड ४२ लाख सिलिन्डर बजारमा छन् । बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको र उपभोक्ताले एकैचोटी भर्न खोज्दा पनि अभाव देखिएको निगमको भनाइ छ ।

नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्याल उद्योगीले डिलरमा जति ग्यास पठाउनुपर्ने हो त्यति ग्यास नपठाएको जानकारी दिनुभयो । उद्योगीले नयाँ सिलिन्डर बिक्री गर्दा पनि बजारमा ग्यासको सामान्य अभाव देखिएको उहाँको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours