०२ फागुन, पोखरा । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका अनुसार गएराती अन्दाजी २ः१० बजेको समयमा पामेको गैह्राकोचौतरा नजिकै उक्त दुर्घटना भएको हो।
कारका चालकले नियन्त्रण गुमाउँदा कार अचानक सडकबाट फेवातालमा खसेको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकाली तत्काल थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो। तर, अस्पताल पुर्याइएपछि बिहान ४:३४ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको प्रहरीले जनाएको छ।


+ There are no comments
Add yours