‘एपस्टिनको गतिविधिबारे सबैलाई थाहा थियो’

२८ माघ, वासिङ्टन डीसी । डोनाल्ड ट्रम्पले आफूलाई फोन गरेर जेफ्री एपस्टिनको यौन दुराचारबारे सबैलाई थाहा भएको दाबी गरेको फ्लोरिडाका एक पूर्व प्रहरी प्रमुखले भनेका छन् । सन २००६ मा तत्कालीन व्यवसायी ट्रम्पले फोनमा आफूलाई यस्तो बताएको दाबी हालै सार्वजनिक गरिएको एफबीआईको एउटा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार, सन् २०१९ मा एफबीआईले लिएको अन्तर्वार्तामा पाम बिचका तत्कालीन प्रहरी प्रमुखले ट्रम्पले आफूलाई फोन गरेको बताएका थिए । प्रहरी विभागले एपस्टिनमाथि नाबालिग यौन शोषणको अनुसन्धान थालेपछि ट्रम्पले ‘धन्न, तपाईँहरूले उनलाई रोक्दै हुनुहुन्छ—सबैलाई थाहा थियो कि उनले यस्तो गरिरहेका थिए,’ भनेको दाबी गरिएको छ । उक्त प्रहरी अधिकृतको नाम दस्ताबेजमा गोप्य राखिएको छ । तर मियामी हेराल्डसँगको कुराकानीमा माइकल राइटरले आफू नै त्यस समयका प्रमुख रहेको पुष्टि गरेका छन् ।

राइटरका अनुसार, ट्रम्पले २००६ को जुलाईमा आफूले एपस्टिनलाई मार–ए–लागो क्लबबाट निकालेको र न्युयोर्कका मानिसहरूलाई उनी कति घिनलाग्दा थिए भन्ने थाहा भएको बताएका थिए । साथै, घिसलेन म्याक्सवेललाई एपस्टिनकी सहयोगी भन्दै ‘उनी दुष्ट हुन्, उनैमाथि ध्यान दिनु’ भनेको दाबी गरिएको पनि बताइएको छ । म्याक्सवेललाई सन् २०२१ मा नाबालिगहरूलाई एपस्टिनसम्म पु‍र्याएको आरोपमा दोषी ठहर गरिएको थियो ।

प्रतिवेदनमा ट्रम्पले आफू किशोरीहरूसँग रहेका बेला एपस्टिनसँग केही समय रहेको र त्यहाँबाट तुरुन्तै निस्किएको बताएका थिए भन्ने पनि उल्लेख छ । राइटरका अनुसार, एपस्टिनमाथि अनुसन्धान सुरु भएको थाहा पाएपछि ट्रम्प फ्लोरिडा प्रहरीलाई फोन गर्ने पहिला व्यक्तिहरूमध्ये एक थिए ।

तर, ट्रम्पले बारम्बार आफूलाई एपस्टिनका अपराधबारे थाहा नभएको दाबी गर्दै आएका छन् । ‘मलाई कुनै शङ्का थिएन, म उनीसँग धेरै वर्षदेखि बोलेको छैन ।’ सन् २०१९ मा एप्स्टिन पक्राउ पर्दा उनले पत्रकारहरूलाई भनेका थिए ।

ट्रम्प र एपस्टिन १९९० को दशकमा सामाजिक रूपमा नजिक देखिएका थिए । तर ट्रम्प पक्षले सन २००४ तिर सम्पर्क टुटेको र एपस्टिनले आफ्ना कर्मचारीहरू तानेपछि उनीसँगको सम्बन्ध बिग्रिएको दाबी ट्रम्पको छ । नयाँ दस्ताबेजले ट्रम्पलाई एपस्टिनको गतिविधिबारे कति पहिल्यै थाहा थियो भन्ने प्रश्नलाई फेरि सतहमा ल्याएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours