जेनजी आन्दोलनमा हतियार लुटपाट : प्रहरी समस्यामा, चुनावका लागि सेनासँग ३ हजार हतियार सापटी

१६ माघ, काठमाडौँ। पर्याप्त स्रोत-साधन नभएपछि नेपाल प्रहरी नेपाली सेनाको हतियार लिएर निर्वाचनमा खटिने भएको छ । नेपाल प्रहरीले करिब तीन हजार साना हतियार (पेस्तोल) उपलब्ध गराइदिन गृह मन्त्रालय हुँदै नेपाली सेनालाई पत्राचार गरेको हो ।

हरेक मतदानस्थलमा साना हतियारसहित प्रहरी खटाउने एकीकृत सुरक्षा योजनामा उल्लेख छ । त्यसअनुसार पर्याप्त हतियार नभएपछि सेनासँग सापट लिन लागिएको गृह मन्त्रालयले जनाएको छ । अघिल्लो निर्वाचनमा पनि नेपाल प्रहरीले सेनाकै हतियार प्रयोग गरेको थियो ।

बिचौलियाको चलखेलका कारण वर्षौँदेखि नेपाल प्रहरीमा हतियार खरिद रोकिँदै आएको छ । जसकारण प्रहरीले समस्या झेल्दै आएको छ । जेनजी आन्दोलनमा प्रहरीका केही हतियार लुटिएकाले पनि यसपटक प्रहरी अझै समस्यामा छ । अभावका कारण ठुलो संख्यामा सेनासँग हतियार माग गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२१ फागुनमा हुन लागेको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल तय भइसकेको छ । हरेक मतदानस्थलमा कनिष्ठ प्रहरी अधिकृत ९असइ, सइ र वरिष्ठ सइ०को कमान्डमा प्रहरी खटिनेछन् ।

सुरक्षा मापदण्डमा उनीहरूलाई हतियारसहित खटाउनुपर्ने उल्लेख छ । मतदानस्थलको संख्याअनुसार हतियार अपुग भएपछि सेनासँग लिन लागिएको हो ।

निर्वाचनमा सेना र सशस्त्र प्रहरीसमेत खटिने भए पनि मतदानस्थलभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी ९म्यादी० मात्र खटिन पाउनेछन् । सुरक्षासम्बन्धी कुनै समस्या आएमा मात्र सेना र सशस्त्र सहयोगका लागि खटिने सुरक्षा योजना छ ।

सेना र सशस्त्रले मोबाइल र स्ट्राइकिङ टोली खटाउनेछ । दुवै निकायले हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर खटिने तयारी गरेका छन् । सशस्त्रले निर्वाचनलक्षित गस्ती सुरु गरिसकेको छ भने सेना औपचारिक रूपमा २१ माघदेखि खटिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours