१६ माघ, काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको छ । ‘फ्राइडे रिलिज’ अन्तर्गत यो चलचित्र देशभरका हलहरूमा लागेको हो ।
बलिराम चौहानको निर्देशन रहेको यस चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिहीबार आयोजित प्रिमियरमा उपस्थित दर्शक तथा चलचित्रकर्मीहरूले चलचित्रको खुलेर तारिफ गरेका छन् ।
‘साइकोलोजिकल थ्रिलर’ जनरामा बनेका सीमित राम्रा नेपाली चलचित्रमध्ये ‘द ब्ल्यू लाइट’ एक भएको प्रतिक्रिया प्राप्त भएको छ । नेपालमा बनिरहेका अन्य चलचित्रभन्दा यो निकै फरक रहेको धेरैको बुझाइ छ ।
एकै शैलीका सिनेमा बने भन्ने गुनासो दर्शक तथा समीक्षकबाट आइरहेका बेला ‘द ब्ल्यू लाइट’ ले फरक स्वाद पस्किएको कलाकार तथा मेकरहरूले बताएका छन् । कतिपयले चलचित्रको ‘ब्याकग्राउन्ड स्कोर’ (पार्श्व संगीत) ले थ्रिलर मुडलाई अन्त्यसम्म कायम राखेको प्रतिक्रिया दिएका छन् ।
एउटै धारका चलचित्र हेरेर वाक्क भएका दर्शकका लागि ‘द ब्ल्यू लाइट’ ले नयाँपन दिने विश्वास प्रिमियरमा देखिएको उत्साहले दिलाएको छ । चुनौती मोलेर निर्माण गरिएको यो सिनेमा आम दर्शकले पनि मन पराउने अपेक्षा गरिएको छ ।
प्रिमियरमा चलचित्रको अभिनय र मेकिङको सबैले तारिफ गरेका छन् । विशेषगरी खलपात्रको भूमिकामा देखिएकी सृष्टि श्रेष्ठको अभिनयको निकै चर्चा भएको छ । प्रिमियरपछि बोल्दै कलाकार तथा निर्देशक दीपक आचार्य (काकु) ले फिल्मको समग्र प्याकेजलाई उत्कृष्ट भनेका छन् ।
कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने दाबी गर्दै उनले भने, “सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु छ र कथा बिल्कुलै नौलो छ । कलाकारहरूको अभिनयले तपाईंलाई हलभित्र बाँधेर राख्छ ।”
त्यस्तै, निर्माता अविरल थापाले फिल्म पारखीहरूका लागि नरेन्द्र मैनालीको छायांकनको जादु अनुभूत गर्न पनि यो सिनेमा हेर्नैपर्ने बताए । प्रिमियरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाह लगायतका सेलेब्रिटीहरूले पनि चलचित्रको प्राविधिक पक्ष र कथावाचन शैलीको प्रशंसा गरे ।
चलचित्रकी मुख्य अभिनेत्री तथा कार्यकारी निर्माता बेनिशा हमालले प्रिमियरपछि खुसी व्यक्त गर्दै भनिन्, “नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु एउटा ठूलो चुनौती र जोखिम थियो । तर, आज प्रिमियरमा उपस्थित दर्शक र चलचित्रकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मेहेनत सफल भएको महसुस गराएको छ । यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो ।”
निर्देशक बलिराम चौहानले आफूले भन्न खोजेको कथालाई कलाकारहरूले पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गरे । उनले थपे, “हामीले एउटा इमान्दार प्रयास गरेका छौं । प्रिमियरमा जस्तै हलमा आम दर्शकले पनि यसलाई माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।”
चलचित्र ‘द ब्ल्यू लाइट’ मा बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुष्मान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । बलिराम चौहानको यो डेब्यु निर्देशन हो ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको यस चलचित्रका सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक हुन् भने रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
आज (शुक्रबार) बाट देशभर प्रदर्शनमा आएको यो चलचित्रले प्रिमियरमा जस्तै आम दर्शकबाट पनि सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।


+ There are no comments
Add yours