जाडोमा मस्तिष्कघातको जोखिम

१६ माघ, काठमाडौँ। जाडो मौसममा मस्तिष्कको कुनै भागमा रगतको आपूर्ति अचानक बन्द हुने अवस्था मस्तिष्कघात (ब्रेन स्ट्रोक)को जोखिम उच्च हुन्छ। त्यस्तै रक्तनली फुल्ने (एन्युरिज्म रप्चर) घटना पनि जाडो मौसममै बढी हुन्छ।

रक्तचाप बढ्नु

जाडोमा शरीर तातो राख्न रक्तनलीहरू खुम्चिन्छन् । यसले रक्तचाप बढाउँछ। उच्च रक्तचाप नै स्ट्रोक र एन्युरिज्म फुट्ने सबैभन्दा ठूलो जोखिम कारक हो।

रगत बाक्लो हुनु
चिसो मौसममा पानी पर्याप्त पिइँदैन। शरीरबाट पसिना पनि कम निस्कन्छ। जसले गर्दा रगत बाक्लो हुन्छ। यसले रगत जम्ने सम्भावना बढाउँछ। जसले इस्केमिक स्ट्रोक गराउन सक्छ।

शरीरमा तनाव हर्मोन बढ्नु
जाडोमा एड्रेनालिन र कोर्टिसोलजस्ता हर्मोन बढ्छन्। जसले मुटुको मुटुको धड्कन बढाउँछ। रक्तचाप बढाउँछ। कमजोर रक्तनलीमा दबाब बढेर एन्युरिज्म फुट्न सक्छ।

शारीरिक सक्रियता कम हुनु
जाडोमा कम हिँडडुल गरिन्छ। धेरै समय बस्ने हुँदा मोटोपना बढ्छ। मधुमेह र रक्तचापको नियन्त्रण पनि बिग्रन्छ। यी सबै स्ट्रोकका जोखिम हुन्।

चिसोको प्रत्यक्ष असर
अचानक चिसोमा निस्कँदा (जस्तै बिहान चिसो पानीले नुहाउँदा) रक्तचाप अचानक बढ्न सक्छ। कमजोर मस्तिष्कको रक्तनली फुट्न सक्छ।

धूमपान र मद्यपानको बढी प्रयोग
जाडोमा न्यानोका लागि भन्दै कतिपयले धूमपान गर्छन्। मदिरा बढी सेवन गर्ने चलन हुन्छ। जसले रक्तनलीलाई कमजोर बनाउँछ।

  • रक्तचाप नियमित जाँच गर्ने।
  • न्यानो कपडा लगाउने।
  • पर्याप्त पानी पिउने।
  • धूमपान एवं मद्यपान नगर्ने।
  • बिहानको अत्यधिक चिसोमा अचानक गतिविधि नगर्ने।
  • औषधि खानुपर्ने भएमा छुटाउन नहुने।

डा. अरुण पौडेल

न्युरो इन्टरभेन्सनिस्ट एवं इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ

You May Also Like

More From Author

+ There are no comments

Add yours