उनले हालै ‘रिच स्पार्कल होल्डिङ्स लिमिटेड’ सँग एउटा ठूलो सम्झौता गरेका छन्, जसको उद्देश्य उनका करिब ३६ करोड फलोअर्सलाई एउटा सफल व्यवसायमा बदल्नु हो ।
१५ माघ, काठमाडौं । तपाईंले सुन्नुभएको होला, टिकटकमा नबोलीकनै चर्चित भएका खाबी लामे अब एउटा ठूलो व्यवसायिक यात्रामा निस्किएका छन् । उनले हालै ‘रिच स्पार्कल होल्डिङ्स लिमिटेड’ सँग एउटा ठूलो सम्झौता गरेका छन्, जसको उद्देश्य उनका करिब ३६ करोड फलोअर्सलाई एउटा सफल व्यवसायमा बदल्नु हो ।
यो सम्झौता करिब ९७५ मिलियन डलर (झन्डै १ खर्ब ३० अर्ब नेपाली रुपैयाँ भन्दा बढी) छ । उनी अब एक ‘इन्फ्लुएन्सर’ मात्र रहेनन्, ‘इक्विटी-ब्याक्ड क्रिएटर’ बनेका छन् । यसको अर्थ, अब उनको ब्रान्डमा ठूला कम्पनीहरूको लगानी रहनेछ ।
अमेरिकाको नास्डाकमा सूचीकृत यस कम्पनीले आगामी ३६ महिनासम्म विश्वभर खाबीको ब्रान्ड प्रयोग गर्ने विशेष अधिकार पाएको छ । खाबी लामे अहिले टिकटकमा सबैभन्दा धेरै रुचाइएका व्यक्ति हुन् । उनको टिकटकमा मात्रै १६ करोड फलोअर्स छन्, जबकि दोस्रो स्थानमा रहेकी चार्ली डामेलियोका १५ करोड ६० लाख फलोअर्स छन् ।
यस सम्झौताको अर्को रोचक पक्ष भनेको अब हामीले खाबीको एआई अवतार पनि देख्न पाउनेछौँ । खाबीकै हाउभाउ, आवाज र शैलीलाई प्रयोग गरेर एआईले विभिन्न भाषामा सामाजिक सञ्जालका सामग्री तयार पार्नेछ । यसले गर्दा उनले नबोलीकनै पनि संसारभरका मानिससँग आफ्नै भाषामा कुराकानी गरेझैँ महसुस गराउनेछ ।
खाबीसँग हात मिलाउनुअघि यो कम्पनीले मुख्यतया हङकङका ठूला कम्पनी र वित्तीय संस्थाहरूका लागि ‘फाइनान्सियल प्रिन्टिङ’ र संस्थागत सेवा दिने काम गथ्र्यो । एउटा गम्भीर वित्तीय सेवा दिने कम्पनीले सिधै सामाजिक सञ्जालको दुनियाँमा यसरी पाइला चाल्नुलाई धेरैले निकै चासोका साथ हेरेका छन् ।
ब्लुमबर्गबाट ।


+ There are no comments
Add yours