१३ पुस, काठमाडौँ । काठमाडौं मेडिकल कलेजले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान र उपचारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । मेडिकल कलेजका प्रा.डा. सहदेव ढुङ्गानाले हृदय तथा मस्तिष्कसम्बन्धी जटिल रोगहरूको उपचारमा क्याथ ल्याव र इलेक्ट्रोफिजियोलोजी (इपि) ल्यावले नयाँ युगको शुरुवात गरिरहेको दाबी गरे । उनका अनुसार यी प्रविधिहरूले पारम्परिक ओपन हार्ट सर्जरीको विकल्पको रूपमा छोटो समयमै, सुरक्षित र प्रभावकारी उपचार सम्भव बनाएका छन् । अत्याधुनिक प्रविधियुक्त बाइ–प्लेन क्याथ ल्याव र नवस्थापित इपि ल्यावको क्षमताबारे उनले विस्तृत जानकारी दिँदै यी सेवा नेपालमा छिटो फैलिनु अत्यन्त सकारात्मक रहेको टिप्पणी गरे ।
क्याथ ल्यावः बिना चिरफार धड्किरहेको मुटुमा उपचार प्रक्रिया
प्रा. ढुङ्गानाका अनुसार क्याथ ल्याव एक विशेष प्रकारको अत्याधुनिक एक्स–रे मेसिन हो । जसले धड्किरहेको मुटु र नशागत समस्याहरूको जाँच तथा उपचार गर्न सकिन्छ । डा. ढुङ्गानाले क्याथ ल्यावमा हृदयको नशा परीक्षणका लागि हात वा खुट्टाको नशामा सानो सुई (सामान्यतः स्थानीय एनस्थेसिया) मार्फत पाइप (क्याथेटर) प्रवेश गराइने बताए । यो प्रविधिमार्फत हृदयका विभिन्न रोगहरू—जस्तै नशा ब्लकेज, जन्मजात मुटुका प्वाल, भल्बको साँघुरो वा अन्य हृदयसम्बन्धी जटिलताहरूको छिटो र सुरक्षित उपचार सम्भव भएको प्रा. ढुङ्गानाले बताए । यस प्रक्रियाले धेरै जटिल रोगहरूलाई सहज र सुरक्षित बनाएको उनले जिकिर गरे ।
उनले भने, ‘यो मेसिन चाहीँ एक विशेष किसिमको एक्स—रे हो । जसरी एक्स—रे मा फोटो खिचिन्छ नि छातीको । सामान्य बुझाइमा भन्दाखेरि छातीको एक्स—रे लिँदाखेरि फोटो खिचिन्छ त्यस्तै यसले चाहीँ के गर्छ भन्दा लाइभ त्यहाँ सुताउने बित्तिकै हामीले पूरा शरीरदेखि गोडा सम्मको अंग हेर्न मिल्छ । यसमा चाहीँ के हुन्छ भने हातको नशा, यो नाडीको नशामा हामीले एउटा लाटो पार्ने सुई दिन्छौं । कहीँ चिरफार हुँदैन एउटा सुई मात्र लाग्छ । त्यहाँ एउटा सामान्य किसिमको पाइप पस्छ । त्यो पाइपको थ्रु चाहीँ हामीले नशा चाहीँ के हुन्छ भन्दा यहाँको हातको र गोडाको नशा चाहीँ मुटुसँग कनेक्ट भएको हुन्छ । त्यो नशाको थ्रु, नशा हुँदै मुटुमा पुगिन्छ ।’
बाइ–प्लेन प्रविधिः दुवै फोटो एकैचोटि
काठमाडौं मेडिकल कलेजले प्रयोग गर्दै आएको क्याथ ल्याव ‘बाइ–प्लेन’ मोडेल भएकाले यस प्रविधिले एकैचोटि दुईवटा फोटो खिच्नसक्ने जसका कारण डाई र विकिरणको मात्रा कम हुने डा. ढुङ्गानाले बताए । उनका अनुसार ‘यसले बिरामीको मिर्गौलामा पर्ने प्रभाव घटाउँछ र चिकित्सकको काम पनि सहज बनाउँछ’ । नेपालमा करिव एक दशक अगाडि भित्रिएको यो प्रविधि काठमाडौं मेडिकल कलेजमा करिव तीन वर्ष देखि उपलब्ध छ । क्याथ ल्यावको प्रयोगले बिरामीलाई डर लाग्ने अवस्था कम हुने, छुट्टि तत्कालै दिन सकिने र महत्वपूर्ण रूपमा समय बचत हुने डा. ढुङ्गाना बताउँछन् ।

उनले भने, ‘काठमाडौं मेडिकल कलेजमा शुरुवात गरेको लगभग तीन, साढे तीन वर्ष भयो र नेपालमा त धेरै वर्षदेखि छ । नेपालमा १०/१५ वर्षदेखि नै यो सेवा विभिन्न सेन्टरहरुमा उपलब्ध छ । तर यो मेसिन चाहीँ हाम्रो अत्याधुनिक टाइपको, हामी बाइ प्लेन भन्छौं, एकैचोटि यसले चाहीँ दुईवटा फोटो खिच्छ । अरु मेसिनमा के हुन्छ भन्दा खेरि हामीले दुई चोटि फोटो खिच्नलाई एउटा डाई हुन्छ त्यो डाइ दिनुपर्ने अनि एक्स—रेको विकिरण बढी लिनुपर्ने हुन्थ्यो भने यसमा चाहीँ एकैचोटी दुईवटा फोटो खिच्ने भएको हुनाले एकैचोटी डाई पठाएर दुईवटा फोटो लिन सकिन्छ । त्यसले अलि सहज पनि हुन्छ । हामी गर्ने मान्छेलाई पनि विकिरणको प्रभाव कम पर्न जान्छ । कतिपय बिरामीको मृगौलामा समस्या आउन सक्ने समस्या सेफ हुन्छ ।’
हार्ट अट्याकमा समयमै उपचारको महत्व
ढुङ्गानाका अनुसार हार्ट अट्याकमा समय नै जीवन र मुटुको स्वास्थ्य निर्धारण गर्ने मुख्य कारक हो । १ देखि २ घण्टाभित्र नशा खोल्ने हो भने मुटु सामान्य अवस्थामा फर्कन्छ । ढिलो भएमा मांसपेशी मर्न थाल्छ र मुटु कमजोर हुन्छ । त्यसैले एन्जियोप्लास्टी तुरुन्तै गर्नुपर्छ । एन्जियोग्राफीले ब्लकेज पत्ता लगाउँछ र त्यसपछि स्टेन्ट राखेर नशा खोलिन्छ ।
नेपालमा सेवा र पहुँच
तीन वर्षमा काठमाडौं मेडिकल कलेजमा करिव १५० देखि १६० बिरामीमा एन्जियोप्लास्टी सम्पन्न भइसकेको प्रा. ढुङ्गानाले बताए । आफ्नो अस्पतालमा दैनिक रूपमा ३–४ जनामा एन्जियोग्राफी हुने गरेको उनको भनाइ छ । सरकारी बीमा र विपन्न वर्गको लागि उपचारमा दुई–तीन लाखसम्मको छुट सुविधा उपलब्ध छ, ग्रामीण भेगका जनताका लागि पनि हृदयरोगको उपचार गर्न सुलभ बनाएको उनले बताए ।

उनले भने, ‘अब हाम्रो दुई, तीन वर्षमा लगभग १५० देखि १६० हामीले ‘एन्जियो प्लास्टि’ हामीले नशा खोलीसकेका छौं । ‘एन्जियो ग्राफि’ भन्ने जहाँ त हाम्रो दैनिक ३/४ वटा दैनिक रुपमा भई नै हाल्छ । त्यस्तै अब मुटुको भल्ब खोल्ने, मुटु वरिपरि जमेका पानी निकाल्ने, जन्मजातको प्वाल टाल्ने, त्यो चाहीँ आक्कल, झुक्कल हुन्छ । धेरै चाहीँ हामीले हार्ट अट्याक भएका बिरामीहरुलाई सुविधा दिएका छौं ।’
इपिल्याबः मुटुको विद्युतीय समस्या समाधान
कलेजले हालै शुरु गरेको इपिल्याब (इलेक्ट्रोफिजियोलोजी) प्रविधि नेपालमा दुर्लभ भएको प्रा. ढुङ्गानाले बताए । उनका अनुसार यो प्रविधिले मुटुको चाल अनियमित, मुटु हल्लिने, चक्कर लाग्ने वा बेहोस हुने जस्ता रोगहरूको निदान र उपचार गर्न प्रयोग गरिन्छ ।
उनले भने, ‘मुटुमा पेसमेकरले उत्पादन गर्ने विद्युत प्रवाह मात्र होइन, अन्य ‘चोर बाटो’ बाट उत्पन्न हुने प्रवाहले पनि मुटु हल्लिने समस्या सिर्जना गर्नसक्छ । हामी विशेष पाइपमार्फत मुटुको विभिन्न च्याम्बरमा पुगेर उक्त अवाञ्छित विद्युत प्रवाह पत्ता लगाउँछौं र रेडियोफ्रिक्वेन्सीको मद्दतले त्यसलाई डामेर बन्द गर्छौं । यसरी मुटुको चाल सामान्य हुन्छ र बिरामीलाई समस्या हुँदैन ।’

उनका अनुसार क्याथ ल्याव मात्रले विद्युतीय समस्याको उपचार गर्न सक्दैन तर इपिल्याबले यस्तो बिरामीलाई निदान र उपचार दुवै प्रदान गर्छ । नेपालमा यस इपि ल्यावसहितको सुविधा ४–५ अस्पतालमा मात्रै उपलब्ध रहेको उनले बताए । अब बिरामीले डर नमानिकन, छोटो समयमै र तुलनात्मक रूपमा सस्तो उपचार पाउन सक्ने उनले जिकिर गरे ।


+ There are no comments
Add yours