११ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक निर्णय निर्वाचन नै भएको स्पष्ट पारेका छन् । शक्रबार बिहान आफ्नै निवासमा भेट्न आएका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटवार्तामा सरकारलाई निर्वाचनका लागि विश्वसनीय र अनुकूल वातावरण छिटो बनाउन आग्रह गरेका हुन् ।
निर्वाचनबारे पार्टीको धारणा स्पष्ट रूपमा राख्दै देउवाले सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै निर्वाचनका लागि अझै आवश्यक वातावरण नबनेको उल्लेख समेत गरे । उनले भने, “सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्।”
संसद पुनःस्थापनाको माग गर्दै केही सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेको सन्दर्भ उल्लेख गर्दै उनले त्यसलाई पार्टीको आधिकारिक धारणा नठान्न समेत आग्रह गरेका छन् । उनका अनुसार कांग्रेस संस्थागत रूपमा निर्वाचनमार्फत नै निकास खोज्ने पक्षमा रहेको देउवाको जिकिर छ ।
कांग्रेस नेतृत्व संवैधानिक प्रक्रिया अनुसार निर्वाचननै लोकतान्त्रिक समाधान भएकोमा अडिग रहेको उनको भनाई छ । सो अवसरमा सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन सरकार लागिपरेको छ तोकिएकै मितिमा निर्वाचन हुनेमा दुईमत नरहेको देउवालाई जानकारी गराए । खरेलले निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरुले विरोध नगरी सरकारलाई साथ र सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


+ There are no comments
Add yours