नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सव सम्पन्न

०९ पुष, काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। ८ पौष २०८२ मा आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, बैंक तथा वित्तीय संस्थाका संघ–संस्थाका प्रमुखहरू, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष, सञ्चालकहरू लगायत सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ सालमा स्थापना भएको एनसीएचएलले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग तथा सेटलमेन्ट प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटाइज गर्दै सुरु गरेको एनसीएचएलले हाल ईएफटी, कर्पोरेटपे, कनेक्ट आइपीएस, नेपालपे कार्ड तथा क्यूआर जस्ता आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याइसकेको छ।

कार्यक्रममा कम्पनीमा १० वर्ष सेवा पूरा गरेका कर्मचारी छवी सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो। साथै, एनसीएचएलका पूर्व अध्यक्षद्वय अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई संस्थाको स्थापना तथा विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।

वार्षिकोत्सव अवसरमा एनसीएचएलले विभिन्न नयाँ तथा इनोभेटिभ डिजिटल भुक्तानी समाधानहरूको अनावरण गरेको छ। साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई समेट्दै १३ विधामा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो।

हाल एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य र १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। गत आर्थिक वर्षमा एनसीएचएलमार्फत १८६ खर्ब रुपैयाँभन्दा बढीको २१ करोडभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भएको कम्पनीले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours