सेनाले भन्यो -सत्ता हस्तक्षेपको कुनै महत्त्वाकाङ्क्षा छैन, संविधानप्रति निष्ठावान् छौँ
०७ पुस, काठमाडौँ । नेपाली सेनाले गत भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा आफूले निर्वाह गरेको भूमिकाबारे प्रष्टीकरण दिँदै सेनामा कुनै पनि किसिमको राजनीतिक वा सत्ता हस्तक्षेपको महत्त्वाकाङ्क्षा नरहेको स्पष्ट पारेको छ। जङ्गीअड्डाले एक विशेष लेखमार्फत तत्कालीन सङ्कटको घडीमा सेनाले केवल संविधानको मर्मअनुसार नागरिक सर्वोच्चता र राष्ट्रिय सुरक्षाको हितमा काम गरेको दाबी गरेको छ।
सेनाले पछिल्लो समय आफ्नो भूमिकामाथि उठाइएका प्रश्नहरूको जवाफ दिँदै भनेको छ— “सेनामा यदि राजनीतिक महत्त्वाकाङ्क्षा हुन्थ्यो भने आज हामी यो (लोकतान्त्रिक) अवस्थामा हुन्थ्यौँ र?” सेनाले आफू कुनै राजनीतिक एजेन्डा बोकेर नहिँडेको र तत्कालीन समयमा देखिएको राजनीतिक शून्यतालाई अन्त्य गर्न केवल सहजीकरण मात्र गरेको उल्लेख गरेको छ। सेनाले राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारलाई सधैँ सम्मान गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ।
आन्दोलनको समयमा सेनाले भौतिक संरचना जोगाउनुभन्दा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको बताएको छ। “सिंहदरबार जोगाउन जनतामाथि गोली किन चलाइएन भन्ने प्रश्न उठ्न सक्छ, तर हाम्रा लागि मानवीय क्षति स्वीकार्य थिएन,” जङ्गीअड्डाले भनेको छ। तत्कालीन अवस्थामा विशिष्ट व्यक्ति र सर्वसाधारणको ज्यान जोगाउनु राज्यको आधारभूत कर्तव्य भएकाले सेना संयमित रूपमा उपस्थित भएको दाबी गरिएको छ।
भदौ २४ गते सेना प्रमुखको सन्देशमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर देखिएको विषयमा भएको आलोचनालाई पनि सेनाले सम्बोधन गरेको छ। सेनाका अनुसार उक्त तस्बिर कुनै ‘तन्त्र’ वा ‘वाद’ को प्रतिक नभई सङ्कटको समयमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउने राष्ट्रिय चेतनाको आह्वान मात्र थियो।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार भूमिका निर्वाह गर्ने सेनाको तयारी छ। सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा हुने भन्दै सेनाले परिस्थितिको वस्तुपरक विश्लेषण गरिदिन नागरिक समाजसँग आग्रह समेत गरेको छ।


+ There are no comments
Add yours