२२ मंसिर, बारा । पर्सा राष्ट्रिय निकुञ्जले अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्दा सोही क्रममा वन्यजन्तुका लागि पानीको पाइप पनि सँगै बिछ्याउनुपर्ने सर्त राखेको छ ।
निकुञ्जले वर्षभरि नै वन्यजन्तुका लागि पानीको अभाव हुने समस्याको दीर्घकालीन समाधानका लागि यो प्रस्ताव अघि सारेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले एउटै खर्चमा दुईवटा पाइप बिछ्याउन सकिने र यही सर्तमा मात्र वातावरणीय प्रभाव अध्ययन (ईआईए) गर्न अनुमति दिने जानकारी दिएका छन् ।
उनले पानीको पाइप नराखे आफ्नो क्षेत्रमा स्वीकृति नदिने स्पष्ट पारेका छन् । यो प्रस्ताव निकुञ्जले वन्यजन्तु विभागमार्फत वन मन्त्रालयमा पठाइसकेको छ ।

अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटरमा करिब तीन मिटर गहिराइमा पेट्रोल र डिजेलको पाइप बिछ्याउने योजना छ । खतिवडाका अनुसार त्यसभन्दा माथि पानीको पाइप राख्न सकिनेछ । निकुञ्जले बागमती र मधेस प्रदेशका तीन जिल्लालाई समेटेको छ, जहाँ वर्षभरि नै पानीको समस्याले गर्दा वन्यजन्तु बस्तीसम्म पुग्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ ।
खतिवडाले मकवानपुरको राप्ती नदीको पानी ६ इन्चको पाइपबाट निकुञ्जसम्म ल्याउन सकिएमा वर्षभरि वन्यजन्तुलाई पानी पर्याप्त हुने बताएका छन् । उनले यो पानी अम्लेखगञ्जका जनता, कृषि उत्पादन र निकुञ्जका वन्यजन्तु सबैले उपयोग गर्न सक्ने र यसको लागत आयल निगमले बेहोर्नुपर्ने सर्त राखेका छन् ।


+ There are no comments
Add yours