०३ मंसिर, काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीको पावन अवसरमा आज बिहानै पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा दिवंगत पितृहरूको सद्गतिको कामना गर्दै शतबीज छर्ने कार्य सम्पन्न भएको छ । रातभर दीपदान गरी बसेका भक्तजनहरूले बिहानैदेखि पशुपति क्षेत्रमा भेला भई शतबीज छरेका हुन् ।
सूर्य उदाउँदै गर्दा पशुपतिको पवित्र भूमिमा छरिएको शतबीजले आध्यात्मिक ऊर्जा र पितृभक्तिको अनुपम दृश्य सिर्जना गरेको थियो । ‘ओम नमः शिवाय’ को जयघोषसहित भक्तजनहरूले मृगस्थली, श्लेषमान्तक वन लगायतका क्षेत्रमा सात प्रकारका अन्न (धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकै) मिसाएर तयार पारिएको शतबीज छरेका छन् । यसरी शतबीज छर्दा पितृहरूले मोक्ष प्राप्त गर्ने र उनीहरूको आत्माले शान्ति पाउने धार्मिक विश्वास छ ।
पशुपति क्षेत्रमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो । लाखौंको संख्यामा उपस्थित श्रद्धालुहरूले लामो लाइनमा बसेर दीपदान, पूजाअर्चना र शतबीज छरेका छन् । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागबाट आएका भक्तजनहरूले परिवारका दिवंगत सदस्यहरूको सम्झनामा शतबीज छरेर श्रद्धा व्यक्त गरेका छन् ।
बालाचतुर्दशी पर्व विशेषगरी पितृको मोक्षका लागि महत्वपूर्ण मानिन्छ । यस दिन शतबीज छर्नाले पितृहरूले वैतरणी नदी तर्ने र स्वर्गमा बास पाउने जनविश्वास रहिआएको छ । यसै परम्परालाई निरन्तरता दिँदै आज पनि भक्तजनहरूले उत्साहका साथ यो पर्व मनाएका छन् ।
पशुपति विकास कोषले बालाचतुर्दशीका लागि विशेष व्यवस्था मिलाएको थियो। सुरक्षाकर्मी र स्वयम्सेवकहरू परिचालन गरी भक्तजनको भीडलाई व्यवस्थित गरिएको थियो । यद्यपि, मातापिता दिवंगत भई एक वर्ष पूरा नभएका अर्थात् बरखी बारेकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद्हरूले स्मरण गराएका छन् । शतबीज छरेपछि भक्तजनहरूले वासुकी र गुह्येश्वरीको पनि पूजाअर्चना गरेका छन् ।


+ There are no comments
Add yours