१६ कार्तिक, काठमाडौँ ।
भियना, सेप्टेम्बर, सन् १९३२
प्रिय प्राध्यापक आइन्स्टाइन,
तपाईंले मलाई छलफलमा निम्त्याउनु भएको थाहा पाएँ । छलफलको विषय तपाईंलाई रुचि लागेको तथा अरूलाई पनि रुचिकर हुने खालको रहेछ । म यस बहसमा सहभागी हुन राजी छु । मैले तपाईंको छनोटको विषय अर्कै हुन्छ होला भन्ने ठानेको थिएँ ।
फ्रायडलाई आइन्स्टाइनको चिठी
फ्रायडलाई आइन्स्टाइनको चिठी : युद्ध किन हुन्छ ?
भौतिकशास्त्री तथा मनोवैज्ञानिक दुबैका लागि पछिल्लो समय विकसित विविध विषयमा हामी फरक विषयगत क्षेत्रका अध्येताहरूले आफ्ना धारणा राख्ने होला भन्ने ठानेको थिएँ । तपाईंले रोजेको विषय देखेर म त आश्चर्यमा परेँ । तपाईंले त युद्धको अभिशापबाट मानवजातिलाई कसरी जोगाउने होला भन्ने प्रश्न पो अघि सार्नु भएछ ।
सुरुमा त राजनेताहरूको चासोको विषय रहेको यो प्रश्न सुन्दा म केही डराएको थिएँ । तर लगत्तै मलाई तपाईंले उठाएको प्रश्न प्रकृति विज्ञान वा भौतिकवादको समस्याका रूपमा नभएर मानवीयताको भावनासहित उठाएको महसुस भयो ।
तपाईंको प्रयत्न पृथ्वीको ध्रुवमा पुगेका भौगोलिक अन्वेषक तथा यात्री फ्रिट्जोफ नान्सेनले विश्वयुद्धका कारण घरबार गुमाएका तथा भोकमरीमा परेका मानिसलाई सघाए जस्तै लाग्यो । यसमा परोपकारी भावना पाएँ । तपाईंको प्रश्नको स्वरूप हेर्दा मैले युद्ध रोक्ने व्यवहारिक प्रस्ताव प्रस्तुत गर्नुपर्ने नभएर मनोवैज्ञानिक अवलोकनकर्ताका रूपमा युद्ध हुनबाट कसरी रोक्न सकिएला भन्नेबारे आफ्नो बुझाई राख्न लगाएको जस्तो बुझेको छु ।
फेरि यस विषयमा तपाईं आफैले धेरै कुरा भनी सक्नु भएको छ । तपाईंले डोर्याएको सन्दर्भ पछ्याउँदै आफ्नो बुझाई तथा आङ्कलन प्रस्तुत गर्ने जमर्को गर्न पाउँदा पक्कै पनि हर्षित छु ।
‘अधिकार र शक्ति’ बिचको सम्बन्धबाट तपाईंले बहसको सुरुवात गर्नु भएको छ । निःसन्देह हाम्रो अध्ययनको सुरुवात यही सन्दर्भबाट गर्नु उपयुक्त हुन्छ । म त्यसमा थोरै सुधार गर्न चाहन्छु । शक्तिको सट्टा ‘हिंसा’ शब्दको प्रयोग गर्दा अझ प्रभावकारी हुन्छ भन्ने लाग्छ । आजको दिनमा हेर्दा अधिकार र हिंसा आपसमा विरोधी अवधारणा जस्ता देखिन्छन् । तर यी अवधारणाहरू एकबाट अर्को उत्पन्न भएको सजिलै देखाउन सकिन्छ ।
इतिहासको सुरुवाती चरणमा फर्केर यसको थालनीबारे बुझ्ने प्रयास गर्ने हो भने हिंसाबाट अधिकारको विकास भएको सजिलै देख्न सक्छौँ ।
मैले प्रस्तुत गर्ने तर्क तथा विचारहरू यस अघि नै थाहा भएका तथा स्थापित हुन सक्छन् । आफ्नो तर्कको क्रमबद्धता स्थापित गर्नलाई मैले यो तरिका अपनाउँदैछु । त्यसले सिर्जना गर्ने झिँझोप्रति क्षमाप्रार्थी छु ।
मानिसबिच स्वार्थको द्वन्द्व भयो भने हिंसाको माध्यमबाट समाधान गरिन्छ भन्ने आम नियम नै हो । यो नियम मान्छेको हकमा मात्रै नभएर सिङ्गो प्राणी जगतको हकमा पनि उत्तिकै सत्य हो । मान्छेको हकमा, जब बिचारको द्वन्द्व चरम अवस्थामा पुग्छ त्यस बेला द्वन्द्व निरूपणका लागि अन्य तरिकाको खोजी हुन थाल्छ ।
राजित दुस्मनलाई मार्नुको साटो अन्य उपयोगी काममा लगाउन सकिने सोच देखा पर्न थाल्यो । त्यस्तो अवस्थामा विजेताले पराजित दुस्मनलाई जीवितै राखेर आफ्नो मातहत काममा लगाउन थाले ।
मान्छे जङ्गली अवस्थामा हुँदा को हाबी हुने भन्ने निर्णय पाखुराको तागतका आधारमा तय हुन्थ्यो । बिस्तारै पाखुराको बलको ठाउँ विभिन्न औजारहरूले लिन थाले । जसले कुशलता साथ राम्रो हतियार चलाउँछ उसैले जित्ने हुन थाल्यो । त्यसपछि हतियारहरू देखा पर्न थाले । पछि बिस्तारै मांसपेशीको शक्तिको ठाउँ बौद्धिक श्रेष्ठताले लिन थाल्यो । तथापि लडाइँको अन्तिम उद्देश्य भने बदलिएको थिएन । एक पक्षले अर्को पक्षको शक्ति चकनाचुर पारेर वा क्षति पुर्याएर दाबी त्याग्न लगाउने काम भने उस्तै नै थियो । यदि विजेताले आफ्नो विपक्षीलाई सधैँका लागि पाखा लगाउन वा मार्न सक्षम भयो भने त्यसलाई पूर्ण रूपमा उद्देश्य पुरा भएको मानिन्थ्यो ।
यसो गर्नुका दुई फाइदा थिए । पहिलो, उसको प्रतिद्वन्द्वी सधैँका लागि सकिएर जान्थ्यो तथा अरूले पनि यसबाट पाठ लिएर पराजित प्रतिद्वन्द्वीको सिको गर्दैनथे । दोस्रो, आफ्नो दुस्मनको हत्या गर्दा मानिसको सहज प्रवृत्ति सन्तुष्ट हुन्थ्यो । यस्तो सन्तुष्टिका बारेमा लेखमा पछि चर्चा गर्नेछु ।
अलि समय पछि, पराजित दुस्मनलाई मार्नुको साटो अन्य उपयोगी काममा लगाउन सकिने सोच देखा पर्न थाल्यो । त्यस्तो अवस्थामा विजेताले पराजित दुस्मनलाई जीवितै राखेर आफ्नो मातहत काममा लगाउन थाले । यसरी पहिलो पटक आफ्नै दुस्मनको पनि जीवन रक्षाको अवधारणा देखा पर्यो । एक किसिमको कृपाको थालनी भयो ।

तर यसो गर्दा पराजित दुस्मनमा बदलाको भाव लुकेर बसेको हुन सक्ने खतरा कायमै हुन्थ्यो । विजेताले आफ्नो सुरक्षामा केही सम्झौता गर्नुपर्ने अवस्था भने पक्कै हुन्थ्यो ।
सुरुवातमा शारीरिक रूपमा बलियो हुने शक्तिशाली हुन्थ्यो । त्यस पछि क्रूर हिंसा वा बुद्धिमत्तापूर्वक गरिएको हिंसाले शक्ति निर्धारण गर्थ्यो । उद्विकासका क्रममा प्रभुत्वको स्वरूप फेरिँदै गयो । हिंसाबाट सुरु भएको प्रभुत्वको औजार अहिले अधिकार वा कानुनसम्म आइपुगेको छ ।
यसरी फेर्ने बाटो केले तय गर्यो होला भन्ने प्रश्न उठ्छ । मेरो विचारमा बलियो शक्तिलाई रोक्न धेरै कमजोरहरूको एकताले सक्छ भन्ने स्थापित हुँदै गयो । मानिसले संघमा शक्ति छ भन्ने बुझ्दै गए । यसरी एकीकृत भएका मानिसले कुनै एउटा बलियो मान्छेको सट्टा कानुनले नियन्त्रण गर्नुपर्ने कुरा अघि सारे ।
आफूलाई शक्तिमा श्रेष्ठ ठान्ने अर्को कुनै व्यक्तिले फेरि हिंसाद्वारा प्रभुत्व स्थापित गर्न खोज्छ र उस्तै खेल अनन्तसम्म दोहोरिन सक्छ । समुदाय स्थायी रूपमा कायम हुनुपर्छ । सङ्गठित हुनुपर्छ ।
यसरी समुदायको शक्तिको रूपमा अधिकार स्थापित भएको देख्न सक्छौ । कानुन र अधिकार भनिएता पनि यो अहिले पनि हिंसा नै हो । जसले कानुन र अधिकारमा गडबडी गर्छ त्यसमाथि अहिले पनि हिंसा गरिन्छ । यसले पुरानै विधि प्रयोग गर्छ । पुरानै स्वरूपको लक्ष हासिल गर्छ । फरक यत्ति मात्रै हो कि कुनै व्यक्तिले गर्ने हिंसाको ठाउँमा अब समुदायले हिंसा गर्छ ।
यसरी हिंसाबाट नयाँ अधिकार वा न्यायमा सङ्क्रमण हुँदा एउटा मनोवैज्ञानिक सर्त भने पुरा भएको हुनुपर्छ । बहुसङ्ख्यकको एकता स्थिर र दिगो हुनैपर्छ । यदि त्यस्तो एकता केवल एक जना प्रभावशाली व्यक्तिसँग लड्ने उद्देश्यले गरेको भए तथा उसको पराजय लगत्तै विघटन हुने भएको अवस्थामा नयाँ परिस्थिति बन्नै सक्दैनथ्यो ।
आफूलाई शक्तिमा श्रेष्ठ ठान्ने अर्को कुनै व्यक्तिले फेरि हिंसाद्वारा प्रभुत्व स्थापित गर्न खोज्छ र उस्तै खेल अनन्तसम्म दोहोरिन सक्छ । समुदाय स्थायी रूपमा कायम हुनुपर्छ । सङ्गठित हुनुपर्छ । समाजमा विद्रोहको जोखिमबारे पूर्वानुमान गर्ने, नियन्त्रणको कानुन निर्माण गर्ने एवम् कार्यान्वयन गर्ने आधिकारिक निकाय बनाउनुपर्छ । समुदायका साझा हितहरूको पहिचानले सदस्यहरूमाझ भावनात्मक सम्बन्ध थप प्रगाढ बनाउँछ ।
सामुदायिक भावना पनि बढाउँछ जुन आफैमा समुदायको तागतको स्रोत हो । छोटकरीमा भन्नुपर्दा, अहिलेसम्म हामीले व्यक्तिको नियन्त्रणबाट साझा भावना तथा आपसी सहयोगद्वारा निर्मित समूहमा हिंसा स्थानान्तरण हुँदै कानुन वा अधिकारको उदयसम्मको चर्चा गर्यौँ ।
समुदायका सबै सदस्य बारबार शक्तिशाली भएको अवस्थामा धेरै कुरा सहज हुन्छ । यस्तो अवस्थामा हुने एकताबाट बन्ने कानुनले हरेक सदस्यले सबैका लागि शान्ति र सुरक्षा कायम राख्न कति हदसम्म व्यक्तिगत स्वतन्त्रता त्याग्नुपर्छ भन्ने कुराको निर्णय गर्छ । तर यस्तो अवस्था सैद्धान्तिक रूपमा सम्भव भएपनि व्यवहारिक रूपमा भने सम्भव हुँदैन ।
उत्पीडितहरूले निरन्तर थप अधिकार र समानताका लागि सङ्घर्ष गर्छन् । कानुनलाई सबैका लागि निष्पक्ष बनाउन प्रयास गर्छन् ।
यथार्थमा समुदायको सुरुवातबाटै मानिस असमान शक्तिसहित रहेका हुन्छन् । महिला र पुरुष, बालबालिका र अभिभावक तथा युद्धको परिणाम स्वरूप देखा पर्ने विजेता र पराजित जो समय क्रमसँगै मालिक र दास बन्न पुगेका हुन्छन् । त्यसले जटिलता थपिदिन्छ । त्यस बेला समुदायको न्याय त्यहाँ भित्रको असमान शक्तिको अभिव्यक्ति बन्न पुग्छ । कानुनको निर्माण शासक समूहका सदस्यले गर्छन् । उनीहरूको मातहतमा रहेकाहरूको अधिकार खुम्चिन पुग्छ ।
त्यहीँबाट समुदायमा कानुन भन्दामाथि रहेर अशान्ति वा हिंसाको स्रोत बन्ने दुई तत्त्वले काम गर्न थाल्छन् । जसले कानुन निर्माणलाई थप प्रभावित पार्दै लैजान्छन् । पहिलो, शक्तिशालीहरूले आफूलाई कानुनभन्दा माथि राख्ने प्रयास गर्छन् । न्यायको सट्टा समाजलाई हिंसाको शासनमा फर्काउन खोज्छन् ।
दोस्रो, उत्पीडितहरूले निरन्तर थप अधिकार र समानताका लागि सङ्घर्ष गर्छन् । कानुनलाई सबैका लागि निष्पक्ष बनाउन प्रयास गर्छन् । जब सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनमार्फत शक्ति संरचनामा ठुला परिवर्तनहरू हुन्छन्, त्यस बेला कानुन पनि परिवर्तन हुन्छ । कहिलेकाहीँ शान्तिपूर्ण रूपमा शक्तिको नयाँ सन्तुलन बन्न जान्छ । तर प्रायःजसो भने शासक वर्गले प्रतिरोध नै गर्छ ।

जसले गर्दा विद्रोह वा गृहयुद्ध हुन्छ । त्यस्तो बेला कानुन अस्थायी रूपमा भत्किन्छ । र नयाँ कानुनी व्यवस्था स्थापित नभएसम्म समुदायमा हिंसाको पुनरागमन हुन्छ । कानुनी परिवर्तनको अर्को शान्तिपूर्ण तरिका पनि छ । समाजको संस्कृति र मूल्यमान्यताहरू विकसित हुँदै जाँदा मानिसको मनोवृत्ति तथा नैतिक मान्यताको पनि विकास हुँदै गएको अवस्थामा कानुनमा बिस्तारै परिवर्तन हुँदै जान्छ ।
सबै युद्धको परिणाम उस्तै भयो भन्न मिल्दैन । मङ्गोल र टर्कहरूले चलाएको युद्धले खराब नतिजा मात्रै ल्याए । यसको विपरीत अन्य केही युद्धले भने हिंसालाई रूपान्तरण गर्न योगदान पनि गरेका छन् ।
यसरी हामी देख्छौँ समुदाय भित्र पनि स्वार्थको द्वन्द्वको निरूपण हिंसाकै माध्यमबाट हुन्छ । तर मानिसका दैनिक आवश्यकता तथा साझा सरोकारका कारण समुदायमा आपसमा मिलेर बस्नुपर्ने हुँदा त्यहाँभित्र हुने सङ्घर्षहरू छिट्टै निष्कर्षमा पुग्ने गर्छन् । साथै शान्तिपूर्ण समाधानको सम्भावना पनि बढ्दै गएको छ । तथापि मानव जातिको इतिहास हेर्ने हो भने एक अर्को समुदाय वा धेरै समुदायहरू बिचमा, समुदायका विभिन्न ठुला र साना एकाइहरूबिचमा तथा सहरहरू, क्षेत्रहरू, जातिहरू, राष्ट्रहरू, साम्राज्यहरूबिच अन्तहीन द्वन्द्वहरूको शृङ्खला देखिन्छ । यस्ता सबै द्वन्द्वहरू धेरै जसो हतियारकै बलद्वारा समाधान गरिएका पाइन्छन् । त्यस्ता युद्धहरू या त लुटपाट वा कुनै एउटा पक्षको पूर्ण पतन वा पराजयमा टुङ्गिन्छन् ।
सबै युद्धको परिणाम उस्तै भयो भन्न मिल्दैन । मङ्गोल र टर्कहरूले चलाएको युद्धले खराब नतिजा मात्रै ल्याए । यसको विपरीत अन्य केही युद्धले भने हिंसालाई रूपान्तरण गर्न योगदान पनि गरेका छन् । द्वन्द्व निरूपणका लागी कानुनको नवीन प्रणाली सहितका ठुला इकाईहरू स्थापना गर्दै हिंसालाई असम्भव बनाउने योगदान गरेका छन् । रोमनहरूको आक्रमणले भूमध्यसागर वरपरका मुलुकलाई रोमन व्यवस्था अर्थात् ‘प्याक्स रोमाना’ दियो । आफ्नो राज्य फैलाउने फ्रान्सेली राजाहरूको लोभले शान्तिपूर्ण रूपमा उन्नति गर्दै गरेको फ्रान्स दियो ।
युद्धले कहिले काहीँ दिगो शान्ति सिर्जना गर्न मद्दत गर्न सक्छ भन्ने सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । युद्धले बलियो केन्द्रीय सरकारहरूसहित ठुला राजनीतिक एकाइहरू गठन गर्न सक्छ । जसले भविष्यमा आफ्नो सिमाना भित्र हुनसक्ने युद्धहरूलाई रोक्छ ।
यद्यपि सामान्यतया यस्तो लक्ष्य असफल हुन्छ । किनभने त्यसरी भएको विजयको परिणाम लामो समयसम्म टिक्दैन । नयाँ साम्राज्य वा राज्यहरू प्रायः फेरि टुक्रिन्छन् । किनकि हिंसाद्वारा एकसाथ जोडिएका भागहरू वास्तवमा एकताबद्ध भएका भने हुँदैनन् । आजसम्म विजयद्वारा सिर्जना भएका साम्राज्यहरूले संसारका केही भागहरूलाई मात्र एकताबद्ध गर्न सकेका छन् । सम्पूर्णलाई भागलाई होइन ।
ठुला शक्तिहरू अझै पनि हिंसात्मक युद्धहरू मार्फत आपसमा लड्ने गरेका छन् । त्यसैको फलस्वरूप मानवताले अहिलेसम्म युद्ध समाप्त गर्न सकेको छैन । धेरै साना र निरन्तर चलिरहेका युद्धहरूलाई थोरैको सङ्ख्यामा रहेका असाध्यै विनाशकारी ठुला युद्धहरूले प्रतिस्थापन गरेका छन् ।
हामीले वर्तमान अवस्थालाई हेर्यौँ भने एउटै निष्कर्षमा पुग्छौँ । युद्धहरू पूर्ण रूपमा रोक्नका लागि सम्पूर्ण मानवता नै एउटा केन्द्रीय प्राधिकार अन्तर्गत एकताबद्ध हुनुपर्ने हुन्छ । जसलाई सबै द्वन्द्वहरूको हकमा न्याय निरूपण गर्ने तथा समाधान गर्ने अधिकार हुन्छ । यसका लागि दुई कुरा चाहिन्छ । पहिलो, यस्तो केन्द्रीय निकाय सिर्जना गर्नुपर्छ ।
दोस्रो, त्यसलाई आफ्नो काम गर्ने वास्तविक शक्ति दिनुपर्छ । शक्ति बिनाको सङ्गठन बेकार हुन्छ । अहिले हामीसामु रहेको राष्ट्र सङ्घ अर्थात् ’लिग अफ नेसन्स’ यस्तो संस्था हुनु पर्ने थियो तर यसले दोस्रो सर्त पूरा गर्न असफल भयो । यसको आफ्नै कुनै प्रभावकारी शक्ति नै छैन ।
सदस्य राष्ट्रहरूले आफ्नो केही शक्ति यसलाई दिएर यसलाई शक्तिशाली बनाउँदा मात्रै यो प्रभावकारी हुन सक्छ । यसो गर्न राष्ट्रहरूले चाहेनन् । यी तमाम सीमाका बाबजुद राष्ट्र सङ्घ भौतिक शक्तिमा नभएर साझा आदर्श तथा नैतिक मूल्यमान्यताहरूमा आधारित शान्ति सिर्जना गर्ने एक साहसी र दुर्लभ प्रयास भने पक्कै थियो ।
शक्ति (हिंसा) को तागत वा सदस्यहरू बिचको भावनात्मक बन्धनले मात्र कुनै पनि समुदाय एकताबद्ध रहन सक्छ । हिंसाको तागत वा भावनात्मक एकता मध्ये एउटा हराउँदा वा अर्को पर्याप्त बलियो हुँदा मात्रै एकता कायम हुन्छ । साझा विचार वा आदर्शहरूले काम गर्नका लागि तिनीहरूले साँच्चै मानिसहरूलाई आफ्नोपनको भावना मार्फत एकताबद्ध गर्न सक्नुपर्छ ।
आजको समयमा राष्ट्रहरूलाई एकताबद्ध गर्नका लागि पर्याप्त रूपमा शक्तिशाली कुनै एउटै विचार छैन । राष्ट्रवादले त्यसको विपरीत दिशामा काम गर्छ ।
हामी इतिहासमा के पाउँछौ भने यस्ता विचारहरू केही हदसम्म प्रभावकारी पनि भएका छन् । उदाहरणका लागि ‘पान–हेलेनीक’ विचारलाई नै लिन सकिन्छ । ग्रीकहरू माझ आफू वरपर रहेका बर्बर जातिहरूभन्दा आफूलाई श्रेष्ठ देखाउन यसले धेरै हदसम्म काम गरेको थियो । ‘एम्फिक्ट्योनिक परिषद्’, ओरेकलहरू तथा विभिन्न खेलहरूमा यस्तो व्यवस्थाको शक्तिशाली अभिव्यक्ति पाइन्थ्यो । यस्तो विचारले ग्रीकहरू माझ हुने युद्ध रोक्न महत्त्वपूर्ण भूमिका पनि खेलेको थियो ।
तथापि त्यसले ग्रीक सिटी स्टेट्सहरूलाई आपसमा लड्न वा कुनै अर्को ग्रीक राज्य विरुद्ध फारस (इरान) सँग गठबन्धन गर्नबाट भने रोक्न सकेन । त्यस्तै गरी युरोपेली पुनर्जागरणको समयमा इसाई एकता सिद्धान्तमा बलियो थियो । तर इसाई राज्यहरूलाई आपसमा लड्नका लागि मुस्लिम टर्कहरूसँग गठबन्धन गर्नबाट भने त्यसले रोक्न सकेन ।
आजको समयमा राष्ट्रहरूलाई एकताबद्ध गर्नका लागि पर्याप्त रूपमा शक्तिशाली कुनै एउटै विचार छैन । राष्ट्रवादले त्यसको विपरीत दिशामा काम गर्छ । मानिसहरूलाई एकताबद्ध गर्नुको सट्टा विभाजित गर्छ । कम्युनिस्ट विचारलाई विश्वव्यापी रूपमा लागु गर्दा त्यसले युद्ध समाप्त गर्न सक्छ भन्नेहरू पनि छन् । तर त्यो लक्ष्य हासिल गर्न सजिलो छैन । साथै त्यो तरिकाबाट लक्ष प्राप्त गर्न भयानक गृहयुद्धहरू आवश्यक पर्न सक्छ ।
त्यसैले भौतिक शक्तिलाई विचारहरूको शक्तिले मात्र प्रतिस्थापन गर्ने प्रयास असफल हुने देखिन्छ । कानुन आफैँ बलबाट जन्मिएको हो । आज पनि कानुन प्रभावकारी हुनका लागि यसले शक्तिको समर्थनमा भर पर्नुपर्छ ।
म अब तपाईंको अर्को टिप्पणीतर्फ ध्यान आकृष्ट गराउन चाहन्छु । मानिसलाई युद्धका बारेमा उत्साहित पार्न सजिलो छ भन्ने सत्यले तपाई छक्क पर्नु भएको रहेछ । साथै मानिस भित्र घृणा र विनाशको सहज प्रवृत्ति छ कि भन्ने तपाईंमा आशङ्का रहेछ । जसले युद्धपिपाशुहरूलाई आफ्नो ध्येय पुरा गर्न सघाउँछ भन्ने सोच्नुभएको रहेछ । म तपाईंको भनाइमा पूर्ण रूपमा सहमत छु ।
तपाईं भन्नुहुन्छ कि तपाईं छक्क पर्नुभएको छ कि मानिसहरूलाई युद्धको बारेमा उत्साहित बनाउन यति सजिलो छ, र तपाईंलाई शङ्का छ कि मानिसहरू भित्र केही छ – घृणा र विनाशको लागि एक प्रवृत्ति – जसले युद्धपीडितहरूलाई उनीहरूको प्रयासमा मद्दत गर्दछ। म पूर्ण रूपमा सहमत छु।
मान्छे भित्र यस्तो प्रवृत्ति वास्तवमै अस्तित्वमा छ भन्ने कुरामा हामी मनोवैज्ञानिकहरू विश्वास नै गर्छौ । पछिल्ला केही वर्षहरूमा मनोविश्लेषकहरूले मानव व्यवहारमा यस्तो कसरी देखा पर्छ भनेर विभिन्न तरिकाले अध्ययन गरिरहेका छन्। अब म पछिल्लो समय विभिन्न अध्ययन तथा अनुसन्धानपछि विकसित भएको ‘मानव सहज प्रवृत्तिको मनोविश्लेषणात्मक सिद्धान्त’ थोरै व्याख्या गर्ने अनुमति चाहन्छु ।
हाम्रो मनोविश्लेषकहरूको परिकल्पना अनुसार मान्छेको सहज प्रवृत्ति (इन्स्टिङ्ग्ट) केवल दुई प्रकारको हुन्छ । एउटाले संरक्षण र एकता गर्न खोज्छ । त्यसलाई हामी ‘इरोटिक’ भन्छौँ । प्लेटोले आफ्नो ‘सिम्पोजियम’ नामक कृतिमा उल्लेख गरेको ‘इरोस’सँग ठ्याक्कै मिल्छ । ‘यौनिकताको’ विस्तारित अवधारणको अर्थमा ‘यौनिक’ पनि भन्न सकिन्छ । खासमा यो जीवन प्रवृत्ति हो । र अर्को चाहिँ ध्वंस र हत्याको प्रवृत्ति हुन्छ । जसलाई आक्रामक अथवा ध्वंसात्मक प्रवृत्तिको रूपमा लिन सकिन्छ । यो चाहिँ मृत्यु प्रवृत्ति हो ।
तपाईंले भने जस्तै, त्यसलाई हामीले जताततै देख्ने गरेको प्रेम र घृणा बिचको विपरीत धाराको रूपमै बुझ्न सक्छौँ । तपाईंहरू पढ्ने भौतिकशास्त्रमा वस्तुहरू बिच हुने आपसी आकर्षण र पर धकेल्ने शक्ति जस्तै पनि भन्न सकिन्छ । तर हामीले यी प्रवृत्तिमा सजिलै असल र खराबको नैतिक मूल्याङ्कन भने थोपर्न मिल्दैन । कुन ठिक कुन बेठिक भनेर ठोकुवा गर्न मिल्दैन । यी दुवै उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
दुवै प्रवृत्तिको आपसी अन्तर्क्रिया र सन्तुलनबाटै जीवनको स्वरूप बनेको हुन्छ । सामान्यतया यी प्रवृत्तिहरू एक्लै काम गर्दैनन् । आपसमा मिसिएका हुन्छन् । जस्तै उदाहरणका लागि, आत्मसुरक्षाको लागि उपयोग हुने प्रवृत्ति मुख्यतया जीवन प्रवृत्ति हो । तर आफूलाई बचाउन केही आक्रामकता पनि चाहिन्छ । प्रेम सम्बन्धमा आफ्नो प्रियजनलाई नियन्त्रण गर्ने वा आफ्नो कब्जामा लिने इच्छा पनि समावेश हुन्छ । यी प्रवृत्तिहरू वास्तविक जीवनमा सधैँ मिश्रित अवस्थामा हुन्छन् । तिनीहरूलाई स्पष्ट रूपमा छुट्ट्याउन र छुट्टाछुट्टै बुझ्न हामीलाई गाह्रो भइरहेको छ ।
मान्छेले गर्ने कामहरू सामान्यतया केवल एउटा प्रवृत्तिबाट आउने भन्दा धेरै जटिल हुन्छन् । धेरैजसो काममा चाहना वा मनसाय (मोटिभ) मिसिन आइपुग्छ । सबैमा जीवन प्रवृत्ति (इरोस) तथा विनाशकारी प्रवृत्ति दुवैको संयोजन भएको हुन्छ ।
यो विनाशकारी प्रवृत्ति प्रायः प्रेम वा आदर्शवाद जस्ता जीवन प्रवृत्तिहरूसँग मिसिन पुग्छ । कहिले काहीँ आदर्शवादी मनसायले पनि विनाशकारी आवेगलाई औचित्यपूर्ण बनाउँछन् ।
धेरै अघि नै प्राध्यापक जी. सी. लिच्टेनबर्गले यस्तो धारणालाई ‘चाहनाहरूको कम्पास’ नाम दिएका छन् । उनका अनुसार हाम्रा चाहना वा मनसायहरू धेरै तरिकाले संयोजन हुन सक्छन् । समुद्रमा हावाको विभिन्न दिशाहरू जस्तै गरी फरक–फरक हुन सक्छन् । कसैले आफूलाई चर्चित बनाउनमा जोड गरेको हुनसक्छ भने कसैले चर्चालाई दोस्रो प्राथमिकतामा राखेर अस्तित्व वा आत्मसुरक्षालाई मुख्य ठानेको हुनसक्छ । मानिसको मनसायले धेरै फरक पार्छ ।
मानिसहरू युद्धमा जाँदा उनीहरू धेरै खाले मनसायबाट प्रभावित हुन्छन् । कोही महान् बन्न लागेका हुन्छन् । कसैको खास स्वार्थ पुरा गर्नुपर्ने हुन्छ । कसैको गुप्त उद्देश्य हुन्छ । यी तमाम मनसायहरू मध्येको एउटा चाहिँ आक्रामकता तथा विनाशका लागि तत्पर हुने प्राकृतिक इच्छा हो । इतिहासका घटनाहरूले तथा हाम्रा दैनिक जीवनका अनुभवले पनि त्यही आक्रामक प्रवृत्तिलाई धेरै बलियो देखाएका छन् ।
यो विनाशकारी प्रवृत्ति प्रायः प्रेम वा आदर्शवाद जस्ता जीवन प्रवृत्तिहरूसँग मिसिन पुग्छ । कहिले काहीँ आदर्शवादी मनसायले पनि विनाशकारी आवेगलाई औचित्यपूर्ण बनाउँछन् । अरू बेला विनाशकारी आवेगहरूले थाहै नपाई आदर्शवादी मनसायको समर्थन गरिरहेका पनि हुन्छन् । दुवै परिस्थितिहरू यथार्थ नै हुन ।
मलाई थाहा छ, तपाईंको चासो हाम्रा मनोवैज्ञानिक सिद्धान्तहरूको वर्णन सुन्नेमा नभएर युद्ध रोक्ने उपायहरूमा छ । आफ्नो विषयको चर्चा लम्बाएकोमा क्षमा याचनासहित म केही प्रसङ्गमा व्याख्या गर्न चाहन्छु ।
यहाँ म विनाशकारी प्रवृत्तिबारे नै भन्दैछु । सामान्यतया बेवास्ता गर्ने गरिएको भएता पनि यसको महत्त्व असाध्यै ठुलो छ । हामीले थोरै गमेर हेर्दा पनि यो प्रवृत्ति सबै जीवित प्राणीहरूमा रहेको तथा तिनीहरूको विनाश गर्दै जीवनलाई निर्जीव पदार्थमा फर्काउने प्रयास गर्दै गरेको पाउँछौँ । त्यसैले हामी यसलाई ‘मृत्यु प्रवृत्ति’ भन्छौँ । जीवन प्रवृत्तिले भने जीवनलाई बचाउने लक्ष्य राख्छ ।
जब त्यस्तो मृत्यु प्रवृत्ति बाहिरतर्फ निर्देशित हुन्छ त्यो विनाशकारी बन्छ । उदाहरणका लागि कुनै जीवले अरू केही नष्ट गरेर भए पनि आफूलाई बचाउन सक्छ । यद्यपि यस प्रवृत्तिको केही अंश भने जीव भित्रै क्रियाशील रहेको हुन्छ । जीव भित्र आन्तरिक रूपमा रहेको मृत्यु प्रवृत्तिका आधारमा हामी मान्छेका धेरै सामान्य र असामान्य व्यवहारहरूको व्याख्या गर्न सक्छौँ ।
धेरै गहिराइसम्म पुगेको आक्रामकता तथा मृत्यु प्रवृत्तिको आन्तरिकीकरणलाई संज्ञानको उत्पत्तिसँग जोडेको भन्दै कहिले काहीँ हाम्रो आलोचना पनि हुने गरेको छ ।
यदि विनाशकारी प्रवृत्तिको धेरै भाग भित्रतिर मोडियो भने हानिकारक र अस्वस्थ बन्छ । तर यदि यसलाई बाहिरतिर निर्देशित मोड्न सकियो भने बाह्य संसारमा भएका चीजहरूलाई नष्ट गर्ने तर्फ लागेर यसले जीवलाई राहत दिन सक्छ । लाभदायक हुन सक्छ ।
यस्ता सन्दर्भहरूले मानिसहरूमा किन हिंसात्मक वा खतरनाक आवेगहरू हुने गर्छन् भन्नेबारे बताउँछन् । प्रकृतिले हामीलाई जीवित राख्नका लागि यस्ता प्रवृत्तिको उपयोग गर्छ । यी प्रवृत्तिहरू तिनीहरूलाई दबाउने हाम्रो प्रयासहरू भन्दा बढी प्राकृतिक स्वाभाविक छन्, जसको व्याख्या आवश्यक छ । झट्ट सुन्दा हाम्रा सिद्धान्तहरू मिथक जस्तो लाग्न सक्छन् तर अन्तमा प्रत्येक विज्ञानले वास्तविकतालाई व्याख्या गर्न आफ्नै प्रकारको पौराणिक कथा विकास गरेकै हुन्छ । अचेल भौतिक विज्ञानले पनि त्यस्तै गर्छ ।
हाम्रो छलफलबाट स्पष्ट छ– हामी मानव आक्रामकतालाई पूर्ण रूपमा हटाउन सक्दैनौँ । केही मानिसका अनुसार प्रकृतिले सबै कुरा सजिलै उपलब्ध गराउने केही निश्चित ठाउँमा मानिसहरू हिंसा वा द्वन्द्व बिना शान्तिपूर्वक बस्छन् । मलाई यो सत्य होला भन्नेमा शङ्का छ । प्रमाण पाए भने मात्रै विश्वास गर्छु । रुसी कम्युनिस्टहरू सबैको भौतिक आवश्यकताहरू पूरा गर्ने तथा सबैलाई समान बनाएको अवस्थामा मानव आक्रामकता हराएर जाने कुरामा विश्वास गर्छन् । तर यो दाबी वास्तविकतामा आधारित देखिँदैन । उनीहरूको आफ्नो गतिविधि पनि हतियारमा भर पर्छ । आफ्ना अनुयायीहरूलाई एकताबद्ध राख्न बाहिरीहरूप्रति घृणा बढाउँछन् ।
तपाईं आफैले पनि आक्रामकतालाई पूर्ण रूपमा हटाउन असम्भव हुने बताउनु भएको छ । हामीले सक्ने सबैभन्दा राम्रो काम भनेकै त्यसको गति र घनत्व कम गर्ने मात्रै हो । जसले गर्दा आक्रामकताले मानिसलाई युद्धमा नदोहोर्याओस् । हाम्रो प्रवृत्तिको सिद्धान्त अनुसार विनाशकारी प्रवृत्तिबाट आउने युद्धको प्रतिरोध गर्ने उत्तम तरिका ‘इरोस’ वा जीवन प्रवृत्तिलाई बलियो बनाउनु नै हो । मानिसलाई भावनात्मक बन्धन वा सम्बन्धको भावना बनाउन मद्दत गर्ने कुनै पनि कुरा युद्धको विरुद्धमा काम गर्नेछ । यी बन्धनहरू दुई खालका हुन सक्छन् ।
पहिलो, प्रेम जस्तो सम्बन्ध हो । अरूप्रति स्नेहको भावना जगाउनुपर्छ, जुन यौन आकाङ्क्षामुक्त मुक्त हुन्छ । मनोविश्लेषणले यहाँ प्रेमका बारेमा खुलेर कुरा गर्न सक्छ । विभिन्न धर्महरूले पनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर’ भनेर सिकाउँछन् । तर यस्तो विकल्पबारे कुरा गर्न जति सजिलो छ व्यवहारमा लागु गर्न भने त्यत्तिकै कठिन छ ।
अर्को हो पहिचान । साझा रुचि वा लक्ष्यहरूका कारण पनि एकताको भावना आउँछ । मानिस आपसमा जोडिएको महसुस गर्दा उनीहरूमा सामुदायिक भावनाको सिर्जना हुन्छ । खासमा मानव समाजको धेरैजसो भाग यी दुई प्रकारका भावनात्मक सम्बन्धहरूद्वारा निर्माण गरिएका हुन्छन् । मानव समाजको संरचना धेरै हदसम्म यिनै दुईवटा बन्धनमा आधारित छ ।
तपाईंले प्राधिकारको दुरुपयोग हुने कुरा उल्लेख गर्नु भएको छ । जसले युद्धको प्रवृत्तिलाई अप्रत्यक्ष रूपमा कम गर्ने अर्को विचार तर्फ हामीलाई डोर्याउँछ । स्वाभाविक रूपमा मानिस असमान हुन्छन् । यसको एउटा सङ्केतका रूपमा ‘नेता’ र ‘अनुयायी’ वा ‘पछ्याउने’ स्वभावमा विभाजित हुने स्वभावलाई हेर्न सकिन्छ । धेरैजसो मानिसहरू दोस्रो समूहका पर्छन् । उनीहरूलाई मार्गदर्शन गर्न र निसङ्कोच त्यसको पालना गर्ने बनाउनका लागि अधिकार आवश्यक हुन्छ ।
यसको अर्थ हामीले स्वतन्त्र विचारकहरूको समूहलाई शिक्षित गर्नमा बढी ध्यान दिनुपर्छ । साहसी, निडर तथा सत्य खोज्न समर्पित मान्छेलाई प्रोत्साहित गर्नुपर्छ । तिनीहरूको भूमिका ठुलो जनसङ्ख्यालाई मार्गदर्शन र प्रभाव पार्ने हुनेछ । यो काम धेरै गाह्रो छ किनभने राज्य र धार्मिक संस्थाहरू प्रायः विचारको स्वतन्त्रतालाई प्रतिबन्धित अवस्थामा राख्ने प्रयत्न गर्छन् । जसले यस्तो वर्गलाई विकास हुनबाट रोक्छ ।
आदर्श समाज त्यस्तो हुनेछ जहाँ सबैले तर्कको नियम अन्तर्गत आफ्नो प्रवृत्तिलाई नियन्त्रण गर्छन् । जहाँ भावनाको सट्टा तर्कसङ्गत सोचद्वारा नेतृत्व गरिएको समुदाय हुन्छ । यस्तो समाज भावनात्मक बन्धन बिना पनि साँच्चै एकताबद्ध हुनेछ । तर यो सम्भवतः एक काल्पनिक सपना हो । यथार्थपरक अपेक्षा होइन ।
युद्ध रोक्ने अन्य अप्रत्यक्ष तरिकाहरू सायद बढी यथार्थपरक छन् । तर त्यस्ता उपाय प्रभावकारी हुन समय लाग्छ । यी उपायहरू पीठो पिस्ने मिल जस्तै हुन । यति बिस्तारै पिस्छन् कि मानिसहरू पीठो तयार हुनु भन्दा पहिले नै भोकै मर्छन् ।
अव्यवहारिक सिद्धान्तकारलाई ज्वलन्त समस्याबारे समाधान खोज्न लगाउँदा फलदायी हुन नसक्ने देखियो । त्यसैले प्रत्येक समस्यामा छुट्टाछुट्टै समाधानका उपाय खोज्नु प्रभावकारी हुने देखियो ।
अब म अर्को प्रश्न बारे चर्चा गर्न चाहन्छु ।मलाई विशेष रुचि भएको तर तपाईंले उल्लेख नगरेको प्रश्न बारे कुरा गर्न खोज्दैछु । हामी र हामी जस्तै अरू धेरैले किन युद्धलाई यति गहिरो रूपमा घृणा गर्छन् ? हामी किन यसलाई जीवनको अर्को पीडादायी तर स्वाभाविक हिस्साको रूपमा स्वीकार गर्दैनौँ ? आखिर युद्धहरू जैविक आधारबाटै निस्किएका तथा कुनै उपायबाट पनि हटाउनै नसकिने छन् भनेर किन स्वीकार गर्दैनौ ?
म यो प्रश्न इमानदार अनुसन्धानका लागि सोध्दैछु । सामान्य जवाफ के हो भने हामी युद्धको विरोध गर्छौँ किनभने सबैलाई बाँच्ने अधिकार छ । युद्धले आशावादी जीवनलाई नष्ट गर्छ । व्यक्तिहरूलाई अपमानित गर्छ । मानिसलाई उनीहरूको इच्छा विरुद्ध मार्न बाध्य पार्छ । बहुमूल्य मानव सिर्जनाहरू नष्ट गर्छ।
अन्य कारणहरू पनि छन् । आधुनिक युद्धले अब वीर आदर्शहरू निर्माण गर्दैन । बरु नयाँ हतियारले सम्पूर्ण राष्ट्रहरूलाई मेटाउन सक्छ। यो सबै सत्य हो । मान्छेले युद्ध किन अस्वीकार गर्दैन भन्ने नै आश्चर्य भएको छ । केही मानिसहरू त अझै पनि समाजलाई कहिलेकाहीँ व्यक्तिहरूको बलिदान गर्ने अधिकार छ भन्ने तर्क गर्न सक्छन् । सबै युद्धहरू समान रूपमा गलत हुँदैनन्, खतराहरू अवस्थित हुँदा राष्ट्रहरूले सशस्त्र रहनुपर्छ भन्न सक्छन् । तर ती मेरा मुख्य बुँदाहरू होइनन् ।
म के ठान्छु भने हामीले युद्ध रोक्न नसकेकै कारण त्यसको विरोध गर्छौँ । हामी स्वाभाविक रूपमा शान्तिप्रिय हुन इच्छुक छौँ । र पछि त्यस भावनालाई औचित्य प्रदान गर्न कारणहरू सिर्जना गर्छौँ।
निःसन्देह यसले थप व्याख्याको माग गर्छ । यो मेरो विश्वास हो । अगणित समय अघिदेखि नै मानवजाति संस्कृतिको उद्विकासको प्रक्रिया हुँदै यहाँसम्म आइपुगेको छ । केही मानिसहरू यसलाई सभ्यता भन्न पनि रुचाउँछन् । हामी अहिले जे जस्तो भएका छौँ त्यसमा उही संस्कृतिको उद्विकासको देन छ । यस्तो उद्विकास कसरी सुरु भयो, के कारणले सुरु भयो भन्ने हामीले प्रस्ट बुझेका छैनौँ । यसको परिणाम पनि अनिश्चित छैन ।
यसका केही विशेषता भने सजिलै ठम्याउन सकिन्छ । यसले मानवजातिको अस्तित्व नै समाप्तिको दिशातिर लैजान पनि सक्छ । किनभने सभ्यतासँगै हाम्रो यौनिक क्रिया कमजोर हुँदै गएको छ । तर कम विकसित समूहहरू उच्चस्तरका सभ्य समूहहरू भन्दा छिटो प्रजनन गरिरहेका छन् । यो प्रक्रिया केही हदसम्म जनावरहरूलाई घरपालुवा बनाउने जस्तै हो ।
यसले क्रमैसँग शारीरिक र मानसिक दुवै परिवर्तन ल्याउँछ । मनोवैज्ञानिक रूपमा भन्नुपर्दा सभ्यताले प्रवृत्तिहरूलाई आत्म–नियन्त्रण मार्फत हटाउँदै जान्छ । हाम्रा पुर्खाहरूले पहिले भोगेका आनन्दहरू अब हामीलाई अप्रिय वा गलत लाग्छन् । किनभने हाम्रा मूल्यमान्यता र स्वादहरू नै फेरिँदै गएका छन् ।
सभ्यताका दुई प्रमुख मनोवैज्ञानिक प्रभावहरू स्पष्ट देखिन्छन् । पहिलो सहज प्रवृत्तिमाथि तर्कको बढ्दो शक्ति हो । र दोस्रो हाम्रा आक्रामक आवेगहरूको आन्तरिकीकरण हो । जसले फाइदा र खतरा दुवै ल्याउँछ । युद्धले यो सभ्य मानसिकताको प्रत्यक्ष विरोध गर्छ । त्यसैले हामी अब यसलाई सहन सक्दैनौँ । युद्धको हाम्रो अस्वीकार केवल विचार वा भावनामा आधारित छैन ।
यो त हाम्रो स्वभावकै एउटा हिस्सा हो । हामी शान्तिवादीहरूमा युद्धका लागि गहिरो अझ भनौँ जन्मजात असहिष्णुता छ । युद्धले ल्याउने कुरूपताले पनि हामीलाई यसको क्रूरता जत्तिकै अपमानित महसुस गराउँछ ।
मानवतामा शान्तिप्रियताको ठुलो हिस्सा छ । अब बाँकी मानवता पनि शान्तिवादी बन्न कति समय लाग्छ भन्ने कसैले किटान गरेर भन्न सक्दैन । तर हाम्रो बढ्दो सांस्कृतिक विकास तथा अर्को विनाशकारी युद्धको त्रास जस्ता दुई कुराले अन्ततः युद्धको अन्त्य गर्नेछ भन्ने आशा गर्नु धेरै अवास्तविक बुझाई होइन । यो कसरी र कहिले हुनेछ भनेर त हामीलाई ठ्याक्कै थाहा छैन । तर हामी एउटा कुरामा निश्चित हुन सक्छौँ । सभ्यताको प्रगतिलाई मद्दत गर्ने प्रत्येक विकासले युद्धको विरुद्धमा पनि काम गरिरहेको हुन्छ ।
यस सन्दर्भमा मलाई लागेका कुराहरू मैले यसरी नै राखेँ । मेरा विचारहरूले तपाईंको अपेक्षाहरू पूरा नगरेका पनि हुन सक्छन् । त्यसो भएको खण्डमा माफी चाहन्छु ।
उही तपाईंको
सिग्मण्ड फ्रायड


+ There are no comments
Add yours