कर्जा अपलेखन र गैरसञ्चालन आम्दानी सुधारले बैंकहरूको नाफा ९५ प्रतिशत बढ्यो 

०२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष भदौसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा ९५ प्रतिशतले बढेको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले कर्जा अपलेखन र गैरसञ्चालन आम्दानी उच्च दरमा बढ्दा नाफामा सुधार देखिएको हो ।

चालु आव भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल नाफा १८ अर्ब ३३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो नाफा साउनको तुलनामा ९५.६२ प्रतिशतले धेरै हो । साउनमा उनीहरूले ९ अर्ब ३७ करोड ५० लाख खुद नाफा गरेका थिए ।

तर, बैंक तथा वित्तीय संस्थाको नाफा गत आव पहिलो दुई महिनाको तुलनामा चालु आव घटेको छ । त्यसबेला १९ अर्ब ७० करोड नाफा गरेका थिए ।

गत आव सुरुवातमा बैंक तथा वित्तीय संस्थाले असुलीलाई प्राथमिकता दिए पनि सुस्त अर्थतन्त्रका कारण नाफा प्रभावित भएको थियो । चालु आव भदौ अन्तिमतिर जेनजी आन्दोलन र तोडफोडका कारण अर्थतन्त्रमा थप क्षति पुगेको अस्थिर राजनीतिक अवस्थाले पनि बैंक तथा वित्तीय संस्थाको नाफा प्रभावित बनाएको हुन सक्ने एक बैंकरको भनाइ छ ।

‘कर्जाको माग छैन, पुरानो कर्जा असुलीका लागि एकपछि अर्को समस्या थपिइरहेको अवस्था छ,’ ती बैंकरले भने, ‘कोरोनापछि आर्थिक मन्दी अहिले आएर जेनजी आन्दोलनले असुलीमा बाधा पुर्‍याएको हुनाले अपेक्षित नाफा गर्न नसकेको हो ।’

चालु आव सुरु भएसँगै बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी विस्तार गर्ने तथा नाफामा योगदान दिने नीति राष्ट्र बैंकले लिएको थियो । त्यसका लागि केन्द्रीय बैंकले सेयर, घरजग्गा, अटो कर्जामा सहजीकरण गरेको छ भने असल कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत घटाएको छ ।

यी व्यवस्थाले पनि बैंकहरूको नाफामा अपेक्षित सुधार आउनुपर्ने राजनीतिक वातावरणका कारण त्यस्तो हुन नसकेको ती बैंकरको भनाइ छ । आगामी दिनमा बैंकहरूलाई असुलीमा झनै जटिलता आउने जोखिम भएकाले चालु आव पनि बैंक तथा वित्तीय संस्थाको आम्दानीमा सुधार सम्भावना कमै रहेको ती बैंकको बुझाइ छ ।

चालु आव भदौसम्म कर्जा अपलेखन ७७४.८४ प्रतिशतले बढेको छ । साउन महिनामा ८० लाख रुपैयाँ बराबर कर्जा अपलेखन गरेका बैंक तथा वित्तीय संस्थाले ६ करोड ७० लाख बराबर कर्जा अपलेखन गरेका छन् ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको गैरसञ्चालन आम्दानीमा पनि उच्च सुधार आएको छ । चालु आव भदौमा बैंक तथा वित्तीय संस्थाले १ अर्ब १८ करोड गैरसञ्चालन आम्दानी गरेका छन् । यो आम्दानी साउनको तुलनामा ६६६.३३ प्रतिशतले धेरै हो । साउनमा बैंक तथा वित्तीय संस्थाले १५ करोड ५० लाख रुपैयाँमात्र कमाएका थिए ।

चालु आव दास्रो महिना बैंक तथा वित्तीय संस्थाको अन्य सञ्चालन आम्दानी २२१ प्रतिशत, खुद ब्याज आम्दानी ९९, कसिसन आम्दानी शतप्रतिशत र विदेशी विनिमय कारोबार मार्फत हुने आम्दानी ४८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उक्त अवधिमा बैंकको कर्जा जोखिम व्यवस्था बापत खर्च २५ प्रतिशतले बढेको छ भने कर्मचारी र कार्यालय सञ्चालन खर्च शतप्रतिशत बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव भदौसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ छ । यो नाफा साउनको तुलनामा ९८ प्रतिशतले धेरै हो । साउनमा ८ अर्ब ३८ करोड खुद नाफा थियो ।

त्यसैगरी भदौसम्म विकास बैंकहरूले १ अर्ब ५० करोड खुद नाफा गरेका छन् । यो नाफा साउनको तुलनामा ८४ प्रतिशतले धेरै हो । त्यसबेला ८१ करोड ६० लाख बराबर खुद नाफा गरेका थिए ।

चालु आव भदौसम्म फाइनान्स कम्पनीले २३ करोड ५० लाख खुद नाफा गरेका छन् । यो नाफा साउनको तुलनामा ३४ प्रतिशतले धेरै हो, साउनमा फाइनान्स कम्पनीको नाफा १७ करोड ५० लाख थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours