आज नेपाल र ओमानबिच शीर्ष स्थानको लडाइँ

बुधबार शीर्ष स्थानको ओमानलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ।

२९ असाेज, काठमाडाैँ । आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ।

बुधबार साँझ हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने छैन, शीर्ष स्थानको लडाईं पनि हुनेछ। विगतको नतिजा हेर्ने हो भने नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ।

पछिल्लो समय ओमानको टोलीमा आमूल परिवर्तन आइसकेको छ। पुराना र अनुभवी खेलाडीले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल्न छाडेपछि नयाँ टोलीका साथ ओमान विश्वकप छनोटमा उत्रिएको छ। त्यही कारण ओमानको तुलनामा नेपालको पल्ला भारी देखिएको छ। त्यसैले बुधबार शीर्ष स्थानको ओमानलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ।

विगतमा यी दुई टोलीबीच आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले तीन खेलमा जित निकालेको छ भने पाँच खेल ओमानको पक्षमा गएको छ। विगतको तथ्यांकमा पछि परे पनि आफ्नो पुरानो छविलाई यथावत राख्दै शतप्रतिशत जित निकाल्ने अभियानमा नेपाल छ।

रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित

नेपालले सोमबार राति भएको रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित गरेको थियो। नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा एक सय ४२ रनमा समेटिएको थियो। कतारका ओपनर इमाल लियानागे र जुबेर अलीले अर्धशतकीय पालि खेले पनि टोलीलाई जिताउन सकेनन्। इमालले ५५ र जुबेरले ५२ रनको योगदान दिए। उनीहरूले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। मोहमद असिमले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका सन्दीप लामाछिानेले पाँच विकेट लिए।

३.५ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर पाँच विकेट लिएका हुन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले दोस्रो पटक पाँच विकेट लिएका हुन्। उनले यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा नौ रन खर्चिएर पाँच विकेट लिएका थिए। यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले ५८ रनको अर्धशतकीय पालि खेलेका थिए। उनले ४२ बलमा एक छक्का र सात चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले २६, गुलसन झाले १६, सोमपाल कामीले १४ र आसिफ शेखले ११ रन बनाए। कतारका कप्तान मिर्जा मोहमद बेग र डानियल लुइसले तीन÷तीन विकेट लिए। मोहमद असिमले ओवेस अहमदले एक÷एक विकेट हात पारे।

सन्दीपको २५० विकेट पूरा
सोमबार राति कतारसँगको खेलबाट लेगस्पिनर सन्दीप लामिछानेले दुई सय ५० विकेटको कोशेढुंगा पूरा गरेका छन्। उनले सोमबार कतारसँगको खेलमा दोस्रो विकेट लिएसँगै दुई सय ५० विकेट पूरा गरेका हुन्। उनले ओपनर इमाल लियानागेलाई बोल्ड गर्दै यो सफलता हासिल गरेका हुन्।

सन्दीपले ६६ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा एक सय २७ विकेट लिएका छन्। यस्तै ६२ एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक सय २७ विकेट नै लिएका छन्। उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक पाँच विकेट लिएका छन्। उनले सोमबार राति ३.५ ओभर बलिङ गर्दै १८ रन खर्चिएर पाँच विकेट लिएका थिए। यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा उनले नौ रन खर्चिएर पाँच विकेट लिएका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours