बदलिँदैछ चुनावी चक्र, अब संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने

१७ असाेज, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनले मुलुकको निर्वाचन तालिकामा ठूलो हेरफेर ल्याउने निश्चित भएको छ । यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदै आएकोमा अब यो परम्परा भङ्ग हुने भएको छ ।

फागुनमा हुने प्रतिनिधिसभाको चुनाव पाँच वर्षे कार्यकाल पूरा नभई प्रतिनिधिसभा विघटन भएर हुन लागेकाले अब तीनै तहका (स्थानीय, प्रदेश र संघीय) निर्वाचन फरक-फरक समयमा हुनेछन् । यो अप्रत्याशित निर्वाचनको पृष्ठभूमिमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ रहेको छ । उक्त आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएको थियो ।

प्रतिनिधिसभाबाटै नयाँ सरकार बन्ने अवस्था नदेखिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका हुन् ।

निर्वाचन तालिकामा आउने फेरबदल

  • प्रतिनिधिसभा निर्वाचन: आगामी फागुन २१ गते । यसबाट आउने प्रतिनिधिसभाको कार्यकाल २०८७ सालसम्म रहनेछ ।
  • प्रदेशसभा निर्वाचन: २०८४ सालको मंसिर वरिपरि। पछिल्लो प्रदेशसभा निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो ।
  • स्थानीय तह निर्वाचन: २०८४ सालको वैशाख अन्तिम साता वरिपरि । पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते भएको थियो ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न भएमा अब तीनै तहका निर्वाचन तीन फरक-फरक चरणमा हुने वातावरण बनेको छ । यसअघि आयोगले एकै पटक तीन तहको निर्वाचन गराउनेबारे छलफल गरिरहेको थियो, तर प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणाले यो योजना परिवर्तन गरिदिएको छ ।

यसले गर्दा अब संघीय सरकार प्रदेश र स्थानीय तहको निर्वाचन गराउँदा ‘विदा’ को अवस्थामा नरहने वातावरण बनेको छ । विगतमा प्रतिनिधिसभाको कार्यकाल सकिने अवस्थामा तीनवटै तहको चुनाव हुँदा संघीय सरकार पनि कामचलाउ अवस्थामा रहन्थ्यो । अब नयाँ आउने प्रतिनिधिसभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ, जसले शासकीय स्थिरताका लागि सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours