११ असाेज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र १२ सय ५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।
सडक च्यानलाइजेसनमार्फत दुर्घटना र जाम कम गर्ने लक्ष्यसहित, ट्राफिक व्यवस्थापनमा महानगर, ट्राफिक प्रहरी र सरोकारवालाबीच सहकार्यमा कामपाले उक्त कार्य सुरु गरेको जानकारी दिएको छ। कामपा सहरी योजना आयोगका सहायक विज्ञ अनुकुल निधिका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यी सामग्री खरिद गर्ने योजना भए तापनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो। जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा कामपाको छ।
विज्ञ निधिका अनुसार ट्राफिक कोनको उचाइ ९ सयदेखि हजार मिलिमिटरसम्मको छ। पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ।
यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन्। यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने निधिको भनाइ छ। ‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन्। एक सेटमा २ ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ। यसरी १२ सय ५० सेट खरिद भएका छन्, जसमा कूल २५ सय कोन र १२ सय ५० बार रहेको बताइएको छ।’
उक्त सामग्री मुख्य सडकखण्डमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने बताइएको छ। अहिले उक्त सामग्रीहरू सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोडमा राखिएको छ। विशेष गरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चाप कम हुने हुँदा उक्त स्थानमा राखिएको छ। यसले सहजै बायाँतर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकालीतर्फ) लेन प्रयोग गर्न सक्नेछ। जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउनेछ।
सडक प्रयोगकर्तादेखि व्यवस्थापन गर्ने निकाय हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य यसको आधार हो। ट्राफिक व्यवस्थापन गर्न ‘डेटा-आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएको पनि कामपाको भनाइ छ।


+ There are no comments
Add yours