०३ असाेज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको भौतिक क्षतिमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार भदौ ३१ गतेसम्ममा कुल १९ सय ८४ बीमा दाबीबापत उक्त रकम बराबरको दाबी परेको हो । द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । उक्त कम्पनीमा देशभरिबाट हालसम्म ४० दाबी परेका छन् । सर्वाधिक बीमा दाबी पर्नेमा दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दुई सय ५८ वटा दाबीबापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको बीमा दाबी परेको छ भने तेस्रोमा रहेको शिखर इन्स्योरेन्समा तीन सय ६६ दाबीबापत कुल दुर्ई अर्ब ३९ करोड चार लाख रुपैयाँको बीमा दाबी परेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीबापत एक अर्ब ५९ करोड छ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई सय ३३ दाबीबापत एक अर्ब ४७ करोड ५५ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा एक सय ९६ दाबीबापत एक अर्ब १५ करोड ६२ लाख, नेको इन्स्योरेन्समा ४० दाबीबापत एक अर्ब नौ करोड ५३ लाख, सानिमा जिआइसी इन्स्योरेन्समा एक सय २९ दाबीबापत ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा एक सय ७२ दाबीबापत ४९ करोड ५१ लाख र युनाइटेड अजोड इन्स्योरेन्समा एक सय ७० दाबीबापत ४८ करोड ५१ लाख रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्समा ७९ दाबीबापत ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा एक सय ५१ दाबीबापत ३८ करोड ५८ लाख, प्रभु इन्स्योेरेन्समा ६९ दाबीबापत १९ करोड १८ लाख र नेसनल इन्स्योरेन्समा १९ दाबीबापत छ करोड ८२ लाख रुपैयाँको बीमा दाबी परेको छ ।
त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ दाबीबापत एक करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा छ दाबीबापत ६७ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा १५ दाबीबापत ५६ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्समा आठ दाबीबापत ४२ लाख रुपैयाँको बीमा दाबी परेको छ । प्राधिकरणले जेन-जी आन्दोलनपीडितलाई राहत दिन छरितो दाबी भुक्तानी प्रक्रियाका लागि सहजीकरण गरेको छ ।


+ There are no comments
Add yours