सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। जेनजी आन्दोलनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजानी, चोरी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा गम्भीर क्षति पुगेको विभागले जनाएको छ।

विभागले जारी गरेको सूचनाअनुसार, आन्दोलनका क्रममा विद्युतीय सवारी साधन दर्ता (EDLVRS) प्रणालीलगायत अन्य प्राविधिक सेवाहरू पनि अवरुद्ध भएका छन्। क्षतिग्रस्त उपकरण र प्रणालीको मर्मत वा पुनर्स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइए पनि तत्काल सेवा सञ्चालन गर्न नसकिने विभागको भनाइ छ।

“हाम्रा महत्वपूर्ण प्राविधिक उपकरण र सर्भरमा क्षति पुगेको छ, जसका कारण सवारी चालक अनुमतिपत्रको छपाइ, वितरण र अन्य सूचना प्रविधिसम्बन्धी सेवाहरू पूर्णरूपमा बन्द गर्नुपरेेको छ,” विभागद्वारा जारी सूचनामा उल्लेख छ। “अर्को सूचना जारी नभएसम्म यी सेवाहरू उपलब्ध हुने छैनन्।”

यस अवरोधले सवारी चालक अनुमतिपत्र लिन चाहने नागरिकहरू र सवारी साधन दर्तासम्बन्धी काम प्रभावित भएको छ। विभागले छिट्टै प्रणाली पुनर्स्थापना गरी सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours