
जगदीश्वर थापा
२६ भदौ, काठमाडौं । भदौ २३ गतेको दिन नेपालको हृदयमा एक घाउ प्रहार गरियो—यस्तो घाउ, जुन भत्किन सक्दैन, तर हामी सबैलाई निरन्तर रुवाउँछ। निहत्था विद्यार्थी र युवा—जेन–जीका आवाजहरू सडकमा गुञ्जिंदै थिए, तर त्यस आवाजलाई एकातिर दमन गर्न हतियार उठाइयो र अर्कोतर्फ जेन–जीका आन्दोललनको आडमा देशैभरी विध्वंश मच्चाइयो। कांग्रेस समर्थित एमाले सरकारका अन्धाधुन्ध गोलीले १९ अमूल्य जीवन लियो र सयौंलाई घाइते बनायो। यो घटना मात्र राज्यको असफलता होइन; यो राज्यको संवेदनशीलताको मौन मृत्यु हो। तर यथार्थमा, यस त्रासदीको अदृश्य सूत्रधार प्रचण्ड (पुष्पकमल दाहाल) र उनका अनुयायीहरू नै हुन् भन्ने सत्य अब स्पष्ट भइसकेको छ।
प्रचण्डकै सरकारले २०८० मा ल्याएको ‘सामाजिक सञ्जाल नियन्त्रण निर्देशिका’ नै आन्दोलनको आगोको बीउ थियो। उनी युवाको आवाज दमन गर्न चाहन्थे, असन्तोषको आगो निभाउन चाहन्थे, र त्यसैलाई आफ्नो अवसरमा परिणत गर्न चाहन्थे। इतिहासमै उनले यही चाल खेल्दै आएका छन्—पहिला असन्तोषलाई भड्काउने, त्यसपछि अराजकता सिर्जना गर्ने, अनि आफूलाई उद्धारकर्ता झल्काउने। यही खेलमा रास्वपा फस्यो, र युवा पीडित भए।

युद्धपश्चात् डाह र सत्ता–लोभ
प्रचण्ड र उनका समर्थकहरूको मनमा गहिरो डाह छ—अनि त्यो डाहले तिनीहरूलाई बारम्बार अस्थिरता सिर्जना गर्न प्रोत्साहित गर्यो। १० वर्षे युद्ध लडेर राजसंस्था हटाए, तर प्रत्यक्ष लाभ भने कांग्रेस, एमालेजस्ता दलहरूले पाए। हजारौं युवाको बलिदान, विधवा र अनाथहरूको पीडा, अपाङ्ग परिवारहरूको कथा—यी सबै तितो इतिहास बने। तर उनीहरूका लागि यथार्थ केवल यत्ति हो—“हामीले फलाएको फल अरूले खायो, हामीले पनि पाउनुपर्छ।”
शान्ति प्रक्रियामा ढाकछोप
युद्धपश्चात् शान्ति प्रक्रियामा प्रचण्डको हस्तक्षेपले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी हुनबाट रोकेको छ। युद्ध अपराध, बालसैनिक भर्ती, नागरिक हत्या र यातनाको न्याय जनताले अझै पाएका छैनन्। दोषीहरूलाई कारबाही गर्ने सट्टा, आफ्ना पूर्वकमाण्डरहरूलाई राज्य संरचनामा राखिएको छ।
परिवारवादी सत्ता–हस्तक्षेप
उनको छोरी गंगा दाहाल बारम्बार पार्टी निर्णयदेखि सरकारी नियुक्तिसम्म प्रभाव जमाउने विषयमा विवादमा छिन्। मन्त्री नियुक्ति, राजदूतको नियुक्ति, ठेक्का–पट्टा—सबैमा उनको नाम जोडिएको छ। प्रचण्डले आफ्नै परिवारलाई शक्ति केन्द्रमा राखेर पार्टीलाई व्यक्तिगत कम्पनी बनाइसकेका छन्।

पत्रकार र अभिव्यक्ति दमन
प्रचण्डको शासनकालमा अनलाइन पत्रकार, डिजिटल मिडियाका लेखक, र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निरन्तर दमन भयो। निर्देशिकामार्फत् नियन्त्रण गर्ने शैलीले लोकतन्त्रको आत्मालाई नै घाउ दिएको छ। जनताको प्रश्नलाई जवाफ दिने सट्टा, डर र धम्कीको भाषा बोलाइयो।
अन्धसमर्थकहरूको विवेकहीनता
युवाको आन्दोलनको वास्तविक मुद्दा—शिक्षा, रोजगारी, पारदर्शिता—उठाउनुपर्नेमा उनका अन्धसमर्थकहरू अझै “प्रचण्ड जे गर्छन्, ठीक गर्छन्” भन्ने अन्धअनुशरणमै अडिएका छन्। गरिब किसान–मजदुरका छोराछोरी विदेशिन बाध्य हुँदा पनि, नेताहरू महँगा गाडी चढ्दा, पाँचतारे होटलमा भोज खाँदा पनि उनीहरू चुप लाग्छन्। आफ्ना नेताको अपराधलाई “रणनीति” भनेर बचाउने काम गर्छन्।
भारतको गोप्य चासो
नेपालमा अस्थिरता हुँदा लाभ पाउने शक्ति भारत हो। स्थिर र स्वाभिमानी नेपाल दिल्लीलाई कहिल्यै मन परेको छैन। झगडा, असहमति, आन्दोलन—यी नै भारतको रणनीति हुन्, जसले नेपाललाई आफ्नो नियन्त्रणमा राख्न सजिलो बनाउँछ। प्रचण्ड र भारतबीचको पुरानो सम्बन्ध लुकाइएको छैन—युद्धकै बेला भारतको भूमिबाट आन्दोलन सञ्चालन, गुप्त सम्झौता, र आजको तालमेल। यही चासोले प्रचण्डलाई बल दिएको छ, र नेपाललाई अस्थिरतामा धकेलेर अन्ततः आफ्नो मतहतमा राख्ने खेलमा उनी स्वेच्छीक अभिष्टले सामेल छन्।
भदौ २३ को गोलीकाण्ड केवल राज्यको असफलता मात्र होइन। यो प्रचण्डको नियत, उनका अन्धसमर्थकहरूको विवेकहीनता, युद्धपश्चात् डाह, परिवारवादी हस्तक्षेप र भारतको गुप्त चासोको संयुक्त परिणाम हो। जबसम्म यी तत्वहरूको अन्त्य हुँदैन, नेपालले स्थिर राजनीति र सुरक्षित भविष्यको सपना देख्न सक्दैन।



+ There are no comments
Add yours