चिनी गायब प्रकरण : रौतहटका गणपति बस्नेतको ठाउँमा अर्का एसपी पठाइयो

१५ भदौ, काठमाडौं । तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा जिम्मेवारी खोसिएका एसपी सन्तोष बस्नेतको ठाउँमा अर्का एसपी पठाइएको छ ।

सशस्त्र प्रहरी बल हल्चोकले एसपी बस्नेतको ठाउँका अर्का एसपी रामहरि अधिकारीलाई पठाएको हो । ११ नं. गण रौतहटको गणपति रहेका एसपी बस्नेतकै मिलेमतोमा तस्करीको चिनी गायब पारिएको भन्दै जिम्मेवारी खोसिएको थियो। त्यसपछि नयाँ एसपीको रुपमा अधिकारीलाई पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

चिनी गायब प्रकरणमा अहिले एसपी बस्नेतसँगै सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेत, प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा डीएसपी अमर लामालाई हेडक्वाटर झिकाएर छानबिन गरिएको छ। यो प्रकरणमा २० सशस्त्र प्रहरीमाथि छानबिन भइरहेको छ ।

२९ साउन राति डीएसपी अमर लामाको टोलीले सहनीको घरमा छापा मारेको थियो । बरामद चिनी भन्सार कार्यालयमा बुझाइयो। तर जब भन्सारमा बुझाइएको चिनीको परिमाणबारे हेडक्वार्टरले थाहा पायो, त्यसपछि भने यो प्रकरणमा गोलमाल भएको विषय खुल्यो ।

७०० बोराभन्दा बढी चिनी भण्डारण गरेर राखिएको भिडिओ सहितको सूचना आए पनि गौर भन्सार कार्यालयमा बुझाउँदा जम्मा १०६ बोरा देखाइयो। त्यसपछि भने सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए।

प्रारम्भिक जाँचका क्रममा अवैध रूपमा चिनी भित्र्याउने व्यक्तिले केही रकम दिएर करिब ६०० बोरा चिनी बरामद नगराएको हुनसक्ने आशंका गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours