११ भदाै, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो कूल गार्हस्थ्य उत्पादनको ४३.९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत अर्थात् १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ । चालु आवका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण उठाइसकेको कार्यालयले जनाएको छ ।
वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११.० पाँच प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँ ऋण उठाइएको हो । बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा साउनमा १.९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ बराबर ऋण उठाइएको कार्यालयले जनाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट ८.९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।


+ There are no comments
Add yours