२४ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. तोसिका कार्कीले पार्टीको रिक्त सहमहामन्त्री पदमा योग्य महिलाहरूबाट नियुक्त गर्नुपर्ने तर्क गरेकी छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा रास्वपा नेतृत्वले सचिवालय सदस्य दीपकराज बोहरालाई सहमहामन्त्री बनाउन खोजेका बेला डा. कार्कीले अस्वीकार गरेकी थिइन् ।
बोहरालाई सहमहामन्त्री बनाउन रोकेको विषयमा चर्चा भइरहेका बेला शनिबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कार्कीले एजेन्डामै नभएको कुरा निर्णय प्रस्तावमा आएपछि थप गृहकार्यसहित विधिसम्मत ढंगले महिलाहरूबाट नियुक्त गर्नुपर्ने बताइन् ।
उनले लेखेकी छन्, ‘केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ, व्यक्तिको विरोध गरेको होइन । साथै रिक्त सहमहामन्त्रीमा मेरो दावी होइन । हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौं । पार्टीले रिक्त रहेको सहमहामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत रूपले इच्छुक–योग्य महिलाहरूबाट नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो ।’
सहमहामन्त्रीमा प्रस्तावित व्यक्तिको विरोध गरेको नभई विधिको प्रश्न गरेको उनले स्पष्ट पारिन् । ‘केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी छैन । पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ,’ उनले भनिन्, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मलाई जोडेर खबरहरू जसरी आयो, त्यसमा मैले पार्टीपंक्ति र आम शुभेच्छुकहरूलाई स्पष्ट पार्नुपर्छ भन्ने लाग्छ । मैले सहमहामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन । केन्द्रीय समितिमा एजेन्डा अनुरूप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो र राम्रो कुरो यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो र एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ । यसकारण पनि मैले गर्वका साथ भन्ने गरेको छु, राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो ।’
उनले गलत भाष्य बनाएर आफूलाई पदलोलुप जस्तो नदेखाउन आग्रह गरेकी छन् । ‘कृपया कसैले पनि गलत भाष्य बनाएर मलाई पद–लोलुप जस्तो नदेखाइदिनुहोला । यो सहमहामन्त्री पदमा मेरो कुनै दाबी छैन । म आमजनतासमक्ष पुगेर चुनाव लडेर सांसद निर्वाचित भएको हुँ । पार्टीभित्र पनि अधिवेशनमा पदाधिकारीहरू निर्वाचित भएरै आउनुपर्छ भन्ने नीति/निर्णय स्थापित गर्न विधान संशोधनमा मैले खेलेको भूमिकाबारे यहाँहरू जानकार नै हुनुहुन्छ । त्यसैले मैले कुनै पदमा दावी गर्नुपरे म चुनावमार्फत नै आउनेछु । राष्ट्रिय स्वतन्त्र पार्टीलाई यहाँहरूले गरिरहनुभएको माया, शुभेक्षा र शुभआशीर्वादका लागि सधैं आभारी छु । धन्यवाद ।’


+ There are no comments
Add yours