२१ साउन, काठमाडौं । सेरेस समूहको स्थापना सन् १९८६ मा भए पनि विद्युतीय सवारीसाधन उत्पादन भने सन् २०१६ बाट सुरु भयो । सन् २०१९ मा पहिलो स्मार्ट फ्याक्ट्रीमार्फत उत्पादन थालिएको थियो ।
सन् २०२२ मा सोकोन समूहको नाम परिवर्तन गरी सेरेस समूह राखिएको हो । सेरेसले चिनियाँ प्रविधि कम्पनी हुवावेसँग सहकार्यमा एआईटिओ ब्राण्डका स्मार्ट ईभी उत्पादन गर्छ, जसमा हुवावेको डिजाइन नेतृत्व र सेरेसको उत्पादन संयोजन हुन्छ । मुख्यतया चिनियाँ बजारमा केन्द्रित यो साझेदारीका साथै सेरेस विश्वका ७० भन्दा बढी देशहरूमा आफ्नो वर्चश्व कायम राखेको छ ।
कम्पनी युरोपेली बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी निर्माता पनि हो । सेरेससँग अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा सुपर फ्याक्ट्रीहरू तथा अमेरिका, चीन, जर्मनी र जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्रहरू छन् । नेपालमा सेरेसको ३ र सेरेस मिनी ईभी मोडल उपलब्ध रहेको छ ।
सेरेसका मोडलहरु
सेरेसको विश्वव्यापी उपस्थिति तीव्र गतिमा विस्तार भइरहेको छ । विशेषगरी विद्युतीय सवारीसाधनको माग तीव्र गतिमा बढिरहेका बजारहरूमा कम्पनीले हाल सेरेस ३ र सेरेस ५ जस्ता मोडलहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिरहेको छ, जसले यसको प्रविधि र उत्पादन क्षमतालाई विश्वस्तरमा स्थापित गरिरहेको छ । आगामी वर्षहरूमा सेरेसले आफ्नो उत्पादन लाइनलाई थप सशक्त बनाउन एआईटिओ एमएस अल्ट्रा , एआईटिओ एम९ २०२५, एआईटिओ एम८, न्यु एम५, एम७ अल्ट्रा र एम७ प्रो लगायतका नयाँ मोडलहरू सार्वजनिक गर्ने योजना बनाएको छ ।
जुन योजना सन् २०२५ र २०२६ सम्ममा कार्यान्वयनमा ल्याइने अपेक्षा गरिएको छ । यी नयाँ मोडलहरूमार्फत कम्पनीले ग्लोबल ईभी बजारमा आफ्नो प्रतिस्पर्धात्मक स्थानलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।
नेपालमा सेरेसकाे उपस्थिति
नेपालमा सेरेस ईभी सन् २०२३ मा नाडा अटो शोमार्फत भित्रिएको हो । जहाँ सेरेस३ र सेरेस मिनी ईभी प्रदर्शन गरिएका थिए । नेपालमा यसको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्स हो र हालसम्म ५०० भन्दा बढी सेरेस गाडीहरू नेपाली सडकमा गुडिरहेका छन्, जसले यहाँको विद्युतीय सवारीको विकास र लोकप्रियता देखाउँछ ।
सेरेस३
सेरेस ३ एक कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो जुन दुई भेरियन्ट—कम्फर्ट र प्रिमियममा उपलब्ध छ । यसमा ५२.७ किलोवाट आवर क्षमताको लिथियम– आयन ब्याट्री प्रयोग गरिएको छ जसले ९९ किलोवाट (झण्डै १३३ बिएचपी) मोटर शक्ति दिन्छ ।
मापदण्ड अनुसार एकपटकको पूर्ण चार्जमा ४०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ । यसको लम्बाइ ४३८५ मिमी, चौडाइ १८ सय ५० मिमी, उचाइ १६ सय ५० मिमी, ह्वीलबेस २६ सय ५५ मिमी र ग्राउन्ड क्लियरेन्स १९० मिमी रहेको छ ।
यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, पूर्ण डिजिटल ड्राइभर इन्फर्मेसन सिस्टम, ड्याशक्याम, अफलाइन जीपीएस नेभिगेसन, कम्फर्ट, नर्मल र स्पोट्र्स मोड सहितको मल्टि स्टेयरिङ विकल्प तथा केही एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस ) सुविधाहरू उपलब्ध छन् । साथै, १८ इन्चको पाङग्रा र स्पेयर टायर पनि दिइएको छ । नेपालमा यसको कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख, ९९ हजार रहेको छ भने प्रिमियम भेरियन्टको मूल्य ५२ लाख, ९९ हजार पर्न जान्छ ।
सेरेस मिनी ईभी
सेरेस मिनी ईभी, जसलाई सेरेस ई२ पनि भनिन्छ । एक कम्प्याक्ट ३–ढोकाको ह्याचब्याक इलेक्ट्रिक गाडी हो जुन विशेषगरी सहरभित्रको यात्रा सहज बनाउन डिजाइन गरिएको छ, यो गाडी तीन भेरियन्ट लो, मिड र हाईमा उपलब्ध छ ।
मिड भेरियन्टमा १३.८ किलोवाट आवर र टप भेरियन्टमा १६.८ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । जसले क्रमशः १८० किलोमिटर र २२० किलोमिटरसम्मको (एनईडिसी मापदण्ड अनुसार) रेन्ज दिन सक्छ ।
३.३ किलोवाट चार्जरबाट १० प्रतिशत देखि ९० प्रतिशत चार्ज हुन ३.५ देखि ४ घण्टा लाग्छ । यसको लम्बाइ ३ हजार ३० मिमी, चौडाइ १४ सय ९५ मिमी, उचाइ १६ सय ४० मिमी, ह्वीलबेस १९ सय ६० मिमी र ग्राउन्ड क्लियरेन्स १४० मिमी रहेको छ । यसमा पर्मानेंट म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ जसले अधिकतम २५ किलोवाट पावर र सय एनएम टर्क उत्पादन गर्छ । चार जनाको सिट क्षमतासहित यो गाडी गुलाबी, हरियो, सेतो र निलो रंगमा उपलब्ध छ ।
टप भेरियन्टमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स क्यामेरा, दुईवटा एयरब्याग, टिपिएमएस, एबिएस प्लस ईबिडी , रियर पार्किङ सेन्सर, र ईसोपिक्स चाइल्ड सिट इन्टरफेस जस्ता सुविधाहरू छन् । नेपालमा यसको मिड भेरियन्टको मूल्य झण्डै १६ लाख ४९ हजार र टप भेरियन्टको मूल्य १७ लाख, ९९ हजार निर्धारण गरिएको छ भने पुरानो लो ट्रिम भेरियन्ट १३ लाख ९९ हजारमा पनि उपलब्ध थियो ।


+ There are no comments
Add yours