युक्रेनी ड्रोन आक्रमणबाट रुसमा तीन जनाको मृत्यु, तेल प्रशोधन केन्द्रमा आगलागी

१६ साउन, काठमाडाैं । युक्रेनी ड्रोन आक्रमणबाट रुसको पश्चिमी क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । रुसको मध्यभागमा रहेको एक तेल प्रशोधन केन्द्रमा ड्रोनको आक्रमणपछि आगलागी समेत भएको छ ।

पेनजा क्षेत्रमा रहेको एक उद्योगमा भएको आक्रमणमा एक महिलाको मृत्यु र दुई जना घाइते भएको सो क्षेत्रका गभर्नर ओलेग मेल्निचेन्कोले शनिबार जानकारी टेलिग्राममार्फत दिएका छन् ।

समारा क्षेत्रमा भने ड्रोनको टुक्रा खस्दा घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गएको गभर्नर व्याचेस्लाभ फेदोरिश्चेभले जनाएका छन् ।

त्यस्तै, रोस्तोभ क्षेत्रमा एउटा औद्योगिक भवनमा ड्रोन आक्रमण र आगलागी हुँदा एक सुरक्षागार्डको मृत्यु भएको कार्यवाहक गभर्नर युरी स्ल्युसारले टेलिग्राममा लेखेका छन् ।

उनले भने, ‘सैन्य बलले रातभर भएका तीव्र हवाई आक्रमणहरूलाई प्रतिरोध गरेका छन् ।’ सात जिल्लाभन्दा बढी क्षेत्रमा ड्रोनहरू नष्ट गरिएको उनले जानकारी दिएका छन् ।

यसैबीच, युक्रेनको सेनाले शनिबार रुसको रियाजनस्थित तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको र त्यसबाट आगलागी भएको बताएको छ ।

युक्रेनको मानवरहित प्रणाली सेनाले टेलिग्राममा दिएको वक्तव्यमा भोरोनेझ क्षेत्रमा रहेको अन्नानेफ्टेप्रोडुक्त तेल भण्डारण केन्द्रमा समेत आक्रमण गरिएको जनाएको छ । ती ठाँउहरूमा कसरी आक्रमण गरिएको भन्ने खुलाइएको छैन, तर युक्रेनी सेना लामो दूरीसम्म आक्रमण गर्न सक्ने ड्रोन सञ्चालनमा विशेष दक्ष मानिन्छ ।

यसैगरी, युक्रेनको एसबीयू गुप्तचर निकायले रुसको प्रिमोर्स्को-आख्तार्स्कस्थित सैन्य विमानस्थलमा ड्रोन प्रहार गरिएको दाबी गरेको छ । उक्त विमानस्थलबाट युक्रेनतर्फ लामो दूरीका ड्रोनहरू प्रक्षेपण गरिँदै आएको बताइएको छ ।

एसबीयूले पेनजा क्षेत्रमा रहेको एउटा इलेक्ट्रोनिक उत्पादन गर्ने कारखानामा पनि आक्रमण गरिएको जनाएको छ । सो कारखानाले रुसी सैन्य-औद्योगिक क्षेत्रलाई सामग्री आपूर्ति गर्ने बताइएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको बेला युक्रेनसँग लामो दूरीको आक्रमणको कुनै उत्तर थिएन । तर, त्यसयता युक्रेनले विस्फोटक पदार्थ बोकेर सयौं किलोमिटर दूरी पार गर्न सक्ने कामिकाजे ड्रोनको एक फ्लीट तयार पारेको छ ।

रुसको रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार रातभरमा ३३८ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरिएको छ ।

युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा रातको ड्रोन आक्रमणबाट तीन जना घाइते भएको गभर्नर सेरही लिसकले टेलिग्राममार्फत बताएका छन् । आक्रमणबाट घर, भवन र सवारीसाधनहरूमा क्षति पुगेको उनले उल्लेख गरेका छन् ।

शनिबार रुसको रक्षा मन्त्रालयले डोनेट्स्क क्षेत्रमा पर्ने ओलेक्सान्द्रो-कालिनोभे गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । करिब साढे तीन वर्षदेखि जारी युद्धमा रुसले युक्रेनको पूर्व र दक्षिण भागको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ ।

यद्यपि युक्रेनले भने डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसको उपस्थिति रहेको दाबी अस्वीकार गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours