नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत

१३ साउन, काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋणको भार २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत हो ।

आर्थिक वर्षको सुरुवातमा २४ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ रहेको कुल सार्वजनिक ऋण एक वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँले वृद्धि भएको हो । बढेको ऋणमा आन्तरिक ऋणको हिस्सा बढी छ । तथ्यांक अनुसार, कुल ऋण दायित्वमध्ये आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ अर्थात कुल गार्हस्थ्य उत्पादनको २२.१४ प्रतिशत र बाह्य ऋण १४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ अर्थात कुल गार्हस्थ्य उत्पादनको २४.५६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

ऋण परिचालन भने लक्ष्य भन्दा कम रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यको ८३.२५ प्रतिशत अर्थात ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ मात्र ऋण प्राप्त भएको छ । यो अवधिमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक र १ खर्ब २५ करोड ३९ लाख रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । कुल प्राप्त ऋणमा आन्तरिक ऋणको हिस्सा ७२.४६ प्रतिशत र बाह्य ऋणको हिस्सा २७.५४ प्रतिशत रहेको छ ।

यो तथ्यांकले अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट ऋण प्राप्तीको स्थिती निराशाजनक रहेको देखाँउछ ।

यस्तै सरकारले यो अवधिमा ३ खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ ऋणको साँवा तथा भुक्तानीमा खर्च गरेको छ । यो रकम ऋण सेवाको लागि विनियोजित कुल बजेटको ९०.०१ प्रतिशत हो । कुल गाहस्थ्य उत्पादनमा ऋणको सेवा खर्च भुक्तानी ५.९४ प्रतिशत पुगेको छ ।

यो अवधिमा सरकारले आन्तरिकतर्फ २ खर्ब ४३ अर्ब ९१ करोड रुपैयाँ साँवा र ६० अर्ब २७ करोड रुपैयाँ ब्याज गरेर कुल ३ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेको छ । बाह्यतर्फ ४८ अर्ब ५६ करोड रुपैयाँ साँवा र ९ अर्ब ८४ करोड रुपैयाँ ब्याज गरेर कुल ५८ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको हो ।

बढ्दो ऋणसँगै यसको व्यवस्थापनको लागि छुट्याउनुपर्ने बजेटको आकार पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । जसले सरकारको साधारण खर्चमाथि निरन्तर दबाब सिर्जना गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours