१३ साउन, काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ, जसका कारण अधिकांश भूभागमा मौसम बदली भई ठाउँठाउँमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा आफ्नो औसत स्थानमा र पूर्वमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो ।
महाशाखाले दिएको जानकारीअनुसार हाल देशैभरि साधारणतया बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा मापन गरिएको छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा पनि यस्तै मौसम रहने पूर्वानुमान छ ।
यसका साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली हुनेछ । रातिको समयमा पनि लुम्बिनी प्रदेश र पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले नदीनालामा पानीको बहाव बढ्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।


+ There are no comments
Add yours