१३ साउन, काठमाडाैं । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, आज नाग वा सर्पको पूजा गर्ने दिन हो। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्वमध्ये एक हो । आजको दिन नाग वा सर्पको पूजा–अर्चना गरी घरको मूल ढोकामा नागको चित्र टाँस्ने परम्परा रही आएको छ ।
नेपालमा नाग पञ्चमी विशेष उत्साहका साथ मनाइन्छ । अझ विशेषगरी काठमाडौं उपत्यकाको नक्साल नागपोखरी, टौदह, ललितपुरको धापाखेल र भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नाग स्थानहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । नाग स्थानहरूमा आज बिहानैदेखि भक्तजनहरूले दूध, दुबो, फूल, अक्षता, खीर आदि चढाएर पूजा गर्छन् ।
यो पर्व नेपाल, भारत र अन्य हिन्दु संस्कृति भएका क्षेत्रहरूमा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन ठूलो श्रद्धा र उत्साहका साथ मनाइन्छ । नाग पञ्चमी केवल धार्मिक परम्परा मात्र नभई पर्यावरण संरक्षण र प्रकृतिसँगको गहिरो सम्बन्धको प्रतीक पनि हो । वैदिक सनातन परम्पराअनुसार नागहरू प्रकृतिका संरक्षक र शक्तिशाली देवता हुन् । यिनलाई भगवान् विष्णु र शिवसँग पनि जोडेर हेरिन्छ । भगवान् विष्णु शेषनागको शय्यामा विश्राम गर्छन भने भगवान् शिवले नागलाई गलाको मालाको रूपमा धारण गर्छन । नाग पञ्चमीमा विशेषगरी अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखलगायत अष्टनागको पूजा गरिन्छ । यी नागहरूलाई पूजा गर्नाले सर्पको भय, चट्याङ, आगलागी र अन्य प्राकृतिक प्रकोपबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ । साथै, नागलाई वर्षाको स्रोतसँग पनि जोडेर हेरिन्छ । यदि नाग रिसाए भने पानीको अभाव हुने र खेतीपातीमा कठिनाइ हुने विश्वास रहँदै आएको छ । त्यसैले, नागलाई प्रसन्न राख्न यो पर्वमा विशेष पूजा गरिन्छ ।

नाग पञ्चमीको उत्पत्ति वैदिक कालदेखि नै भएको मानिन्छ । वराह पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराज र ब्रह्माबीच संवाद भएको विश्वास गरिन्छ यस्तै, स्कन्द पुराणमा नाग पूजा गर्नाले मनोकामना पूरा हुने उल्लेख गरिएको छ ।
एउटा प्रख्यात किंवदन्तीअनुसार एक किसानले खेत खन्ने क्रममा अनाहकमा नागका तीन बच्चा मारिदिएका थिए । सन्तान वियोगले क्रुद्ध नागिनीले किसान, उनकी श्रीमती र दुई छोरालाई डसेर मारेको मारिन्, तर किसानकी छोरीले नागिनीलाई दूध, दुबो र अन्य सामग्रीले पूजा गरेर प्रसन्न पारेपछि उनको भक्तिबाट प्रभावित भएर नागिनीले किसानको परिवारलाई पुनर्जनम दिएको किंवदन्ती रहेको छ ।
यो घटना श्रावण शुक्ल पञ्चमीकै दिन भएको विश्वासले यो पर्वको सुरुवात भएको मानिन्छ । यसैगरी अर्को कथानकमा गुरु गोरखनाथले नौ नागमाथि बसेर १२ वर्षसम्म तपस्या गरेको कारण पानी नपरेको र गुरु मत्स्येन्द्रनाथ आएपछि नागहरू मुक्त भएको र वर्षा भएको कथन रहेको छ । त्यसैगरी काठमाडौं उपत्यकासँग जोडिएको अर्को किंवदन्तीअनुसार काठमाडौं उपत्यका पहिले टेथिस सागर नामक ताल थियो । जब यो ताल सुकाएर मानव बस्ती बनाइयो नागहरू रिसाए नागलाई शान्त पार्न टौदह, नागपोखरी र धापाखेललगायत विभिन्न स्थानमा नागको पूजा स्थल बनाइएको विश्वास पनि रहँदै आएको छ ।
नागको पूजा परम्परागत र वैदिक विधिअनुसार गरिन्छ । जहाँ बिहानै स्नान गरी घर लिपपोत गरि कागजमा विभिन्न रंगले नागको चित्र बनाइन्छ वा बजारबाट नागको चित्र किनेर गाईको दूध, दुबो, अक्षता, फूल, चन्दन, सिन्दूर, धूप, दीप, खीर, रोटी, लड्डु आदि तयार पारि घरको मूल ढोकामाथि गाईको गोबरले नागको चित्र टाँसेर दीप, कलश र गणेशको पूजा गरी नाग मन्त्र उच्चारण गरिन्छ ।
यसैगरी आजको दिन खेतबारीमा हलो जोत्न वा खनजोत गर्न नहुने र सर्पजस्ता जीवहरूलाई हानि नगर्ने मान्यता रहदै आएको छ । नाग पञ्चमी केवल धार्मिक पर्व मात्र नभएर यो पर्वले पर्यावरण संरक्षण र जैविक सन्तुलनको सन्देश पनि बोकेको छ । वैज्ञानिकहरुका अनुसार सर्पहरूले प्रकृतिमा रहेका विषालु पदार्थलाई सोसेर मानव र अन्य जीवजन्तुलाई पुग्न सक्ने हानिबाट जोगाउँदै आएका छन् ।
नाग पञ्चमी एक यस्तो पर्व हो, जसले धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई एकसाथ जोडेको छ । यो पर्वले प्रकृतिका संरक्षक नागहरूप्रति कृतज्ञता व्यक्त गर्नुका साथै पर्यावरण संरक्षण र जैविक सन्तुलनको सन्देश पनि दिन्छ ।


+ There are no comments
Add yours