१० साउन, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
सोलुखोलामा निर्माणसम्पन्न आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो ।
निजी लगानीमा बनेको यो आयोजना उत्पादन र प्रवाहको हिसाबले महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ ।
सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाले गएको साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन शुरू गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोलुदूधकुण्ड नगरपालिका ७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब ६ किलोमिटर तल तिङ्लाको भदौरेको भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो ।
पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ । सहायक प्रबन्धक चौधरीले ४१/४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको बताउनुभयो ।
दुवै युनिटको ग्रिडमा सफल परीक्षण पूरा भइसकेको छ । अब नेपाल विद्युत् प्राधिकरणले आउँदो १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ ।
परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह शुरू गर्ने छ ।


+ There are no comments
Add yours