एक लिटर दुधमा पाँच रुपियाँ अनुदान

०७ साउन, स्याङ्जा। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ ।

यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी संस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छ सय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो । पशुसेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रूपेश श्रेष्ठले कार्यालयले निकालेको सूचनामा माग भएका तीनमध्ये दुई वटा छनोट गरी अनुदान दिएको बताउनुभयो ।

यस्तै कार्यालयले भिरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा एक लाख एक हजार रुपियाँको मिल्क एनोलाइजर प्रदान गरेको छ । यस्तै विज्ञ केन्द्र स्याङ्जाले चापाकोट–९ को केलादी दुग्ध उत्पादक समूहलाई नयाँ गोठ निर्माणमा नौ वटाको छ लाख ९६ हजार ५१८ रुपियाँ, १० वटा भकारो सुधारका लागि तीन लाख ४५ हजार छ सय रुपियाँ, ८१ हजारको राँगो, १३ वटा च्याफ कटरको तीन लाख ३१ हजार पाँच सय रुपियाँ, डेरी उपकरण खरिदको एक लाख ४९ हजार ७४० लगायत १६ लाख ३९ हजार ९५३ रुपियाँ बराबरको अनुदान दिएको श्रेष्ठले बताउनुभयो । यस्तै विज्ञ केन्द्रले चापाकोट–९ को सिद्धबाबा एग्रो फार्म एन्ड सिचर्स सेन्टर प्रालिलाई ९५ लाख पाँच प्रतिशत अनुदानमा कृषि ऋण दिएको हो । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा चार करोड ५४ लाख चालु र ७० लाख पुँजीगत बजेटमध्ये ८२.६३ प्रतिशत खर्च गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours