इरानमा पानीको संकट : नागरिकलाई कम प्रयोग गर्न आग्रह

०५ साउन, काठमाडाैँ । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्।

विशेषगरी, इरानका दक्षिणी प्रान्तमा पानीको अभाव एक प्रमुख मुद्दा हो। खानेपानी अभावका लागि भूमिगत स्रोतको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठहराइएको छ।

शनिबार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो।

तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले भने, ‘नागरिकले पानीको मागको दबाब कम गर्न मुहानको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ।’

इरानका अधिकारीले हालैका दिनमा यस्तै अपिल जारी गर्दै धेरै प्रान्तका बासिन्दालाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।

तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ।

तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशय हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ।

अधिकारीले संकटलाई कम गर्न राजधानीका केही भागमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिबारको समाचारमा जनाएको छ। एएफपी

You May Also Like

More From Author

+ There are no comments

Add yours