महोत्तरीमा भएन वर्षा : २५ प्रतिशत मात्रै रोपाइँ, किसान चिन्तित

०५ साउन, काठमाडाैं । लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन्। साउनको पहिलो साता बित्नै लाग्दासमेत जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ।

१० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ। त्यसमध्ये यसवर्ष ४० हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्दराय यादवले बताए।

उनका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक नरहेको बताए।

जिल्लामा सतह सिँचाइको व्यवस्था नरहेको कारण बर्सेनि धान रोपाइँको बेला समस्या हुने गरेको र किसानहरूले समयमा धानबाली लगाउन नसकेको कार्यालय प्रमुख यादवले बताए। उहाँले जिल्लामा अहिले समग्रमा मात्र २५ प्रतिशत रोपाइँ भएकोमा सबैभन्दा बढी सोनमा गाउँपालिकामा ४० प्रतिशत र सबैभन्दा कम मनराशिस्वा नगरपालिकामा १० प्रतिशत रोपाइँ भएको जानकारी दिए।

कार्यालय प्रमुख यादवले साउन १५ गतेसम्म जिल्लामा पानी परेन भने किसानले खेतमा लगाएको धानका बेर्ना बुढो हुने भएकाले नसप्रिने र अपेक्षाअनुसार उत्पादन नहुने बताए।

उनले भदैया, हर्दिनाथलगायतका धानका जातको २५ दिनसम्मको बेर्नाले रोपाइँ भएमा राम्रो हुने बताए। सोना मनसुली, बासमतिलगायतका धानका जातका ४० दिनसम्मको बेर्ना रोपाइँ गर्दा उत्पादन राम्रो हुने बताए। जिल्लामा दुवै थरिका धानका बेर्नाहरू ४० दिनभन्दा बढीका भइसकेको अवस्थामा अझै पानी नपर्दा किसान चिन्तित भएका हुन्।

गत वर्ष जिल्लाको कुल ४२ हजार पाँच सय हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिकटन धान उत्पादन भएको थियो। तर यस वर्ष अझै १५ दिनसम्म पानी नपरेमा जिल्लामा धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्रको छ।

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतको रोपोमा धाँजा फाट्न थालेको जलेश्वर नगरपालिका–८ का किसान रामआश्रे मण्डलले बताए। पानी पर्ना साथ रोपाइँ गर्ने आशामा रहेको जलेश्वर नगरपालिका–११ का किसान महेन्द्र साहले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours