तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट १ हजार १७७ मेट्रिकटन उत्पादन

०४ साउन, तनहुँ । तनहुँमा सञ्चालन भएको चैतधान प्रवर्द्धन आयोजनामार्फत १ वर्षमा १ हजार १७७ मेट्रिकटन चैते धान उत्पादन भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा ५ हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकोमा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रवर्द्धन आयोजना सञ्चालन गरेको थियो ।

कार्यक्रम सञ्चालनका लागि ५८ लाख ५० हजार रुपैयाँ बजेट रहेकामा ४२ लाख ९४ हजार रुपैयाँ खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

उनले भने, “यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो ।” चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए ।

कार्यक्रममार्फत कृषकलाई ८ हजार १०० केजी बीउ, १४ मिनिटिलर, ४ कम्बाइन मिल, ३२ स्प्रेयर, १ मल्टिक्रप थ्रेसर, २४६ त्रिपाल, ३ डिजिटल तराजु, २०० जुटको बोरा वितरण गरिएको छ भने ८०३ मिटर कुलो निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई १ लाख ९३ हजार ६२४ रुपैयाँ, बन्दीपुर गाउँपालिका–३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई ३ लाख ५६ हजार ४७६ रुपैयाँ, व्यास नगरपालिका–८ स्थित रिस्ती मादी कृषक समूहलाई ५ लाख २१ हजार २६१ रुपैयाँ, व्यास नगरपालिका–९ स्थित फूलबारी कृषक समूहलाई १ लाख ६ हजार ७२५ रुपैयाँ, भानु नगरपालिका–४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई ४ लाख ७७ हजार ५३९ रुपैयाँ, भिमाद नगरपालिका–६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई २ लाख २१ हजार २५० रुपैयाँ, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई २ लाख ७६ हजार ९०८ रुपैयाँ वितरण गरिएको छ ।

त्यस्तै, म्याग्दे गाउँपालिका–३ स्थित स्यागेटारी कृषक समूहलाई ३ लाख ५५ हजार ५३९ रुपैयाँ, सोही वडाको आम्बोटे कृषक समूहलाई ३ लाख ७६ हजार ४८६ रुपैयाँ, व्यास नगरपालिका–१३ स्थित तुलसी कृषक समूहलाई ५ लाख १८ हजार २४ रुपैयाँ, शुक्लागण्डकी नगरपालिका–११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई ३ लाख ४८ हजार २६६ रुपैयाँ र शुक्लागण्डकी नगरपालिका–१० स्थित युनिक अभियान कृषि सहकारी संस्थलाई २ लाख ४२ हजार २५० रुपैयाँ सहयोग गरिएको केन्द्रले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours