प्रधानमन्त्रीलाई गगन थापाले भने- सरकारले काम गर्ने कि, सत्ता हस्तान्तरणको दिन गनेर बस्ने ?

०२ साउन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरणको दिन गनेर बस्न नहुने आग्रह गरेका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कैयौँ पटक अब एक वर्ष मेरो त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताए।

उनले शुरुमा दुईवटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरे पनि अहिले बरालिएको बताए। अहिले सरकार खालि दिन गनेर बसे जस्तो मात्रै भएकाले यसबाट बाहिर निस्किनुपर्ने बताए। उनले काँग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले काम गरेर देखाउनुपर्ने बताए।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले वेला वेला भनेको सुन्छु- अब एक वर्ष म हुन्छु, एक वर्षपछि काँग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु। सरकार भनेको दिन गनेर बस्ने हो? अनि के हामी ३६५ दिन घट्यो, ६४ भयो, ६३ भयो। हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो? अहिले सरकार बरालिएको छ। अहिले खालि दिन गनेर बसे जस्तो भएको छ।’

महामन्त्री थापाले २०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महसुस गर्ने गरी काम गरेर देखाउनुपर्ने बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours