२०८१ को एसइई नतिजा: परीक्षा प्रणाली सुधारको प्रयास

हरिप्रसाद रेग्मी

२८ असार काठमाडौँ ।
एउटा बच्चा जन्मेपछि हिँड्न पनि करिब एक वर्ष लाग्छ। त्यसका लागि उचित पोषण अनि हेरचाह आवश्यक हुन्छ। त्यसैगरी शैक्षिक विकास पनि ढिलोगतिमा हुने प्रक्रिया हो। रातारात परिवर्तन हुने चिज होइन।

राष्ट्रिय परीक्षा बोर्डले सुदृढ र स्तरीकृत परीक्षामार्फत कक्षा कोठाको सिकाइलाई सुधार गर्ने उद्देश्यले २०७५ साउनमा ‘इटिएस’लगायत मूल्याङ्कन विज्ञका रूपमा अन्य ठाउँमा पनि काम गरिसकेका परीक्षा तथा मूल्याङ्कन विज्ञ डच नागरिक डा. स्टेभन बेकरलाई नेपाल ल्याएर ६ दिने तालिम सम्पन्न गरेको थियो। म पनि उक्त कार्यशालाको प्रशिक्षार्थी थिएँ। उक्त कार्यशालाको संयोजन राष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाले गरेको थियो।

उक्त कार्यशाला तथा तालिममा पाठ्यक्रमले तोकेको सिकाइउपलब्धि हासिल गर्न कक्षामा गर्नुपर्ने कक्षागत क्रियाकलापहरू कस्तो हुनुपर्ने तथा तत्पश्चात् गरिने मूल्याङ्कनका लागि परीक्षामा सोधिने प्रश्नहरू कस्तो हुने भन्ने प्रशिक्षण दिइएको थियो। त्यहाँ सिकेको कुरा कक्षा कोठामा पुर्‍याउने उद्देश्ले सातै प्रदेश, प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाका विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयका एक एक जना शिक्षकलाई तालिम दिने र उहाँहरूले आफ्नो जिल्लामा रहेका विषयगत शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम तय गरी सोहीअनुरूप कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रम तीन पटकसम्म प्रदेशगत रूपमा सञ्चालन भएको थियो। तीन पटकमा करिब आठ सय १० जना शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका तर्फबाट तालिम दिइएको थियो भने कोभिड १९ महामारीको समयमा पनि अनलाइनमार्फत पनि शिक्षकहरूलाई प्रशिक्षण दिइएको थियो। यस अभियानबाट प्रश्नपत्र निर्माणसम्बन्धि आएको सचेतना तथा अभ्यासका कारण शिक्षामा आमूल परिवर्तन आइरहेको थियो। यसबिच कतिपय संस्थागत विद्यालयले विज्ञहरू बोलाएर ‘आइटम राइटिङ’ तालिम सञ्चालन गर्न सुरु गरेका थिए। यो अभियान द्रुततर रूपमा झाङ्गिँदै थियो तर यसैबिच कोभिड १९ का कारण त्यो अभियानलाई नराम्रोसँग असर पर्‍यो।

२०७८ सालपछि फेरि यो कार्यक्रमले बिस्तारै गति लिन थाल्यो। कोभिडअघि प्रदेश र जिल्लातहमा सञ्चालन गरिएको कार्यक्रम यसपटक भने पालिका तहमा पुगेको छ। २०७९ पछि द्रुततर रूपमा यस प्रकारको तालिम तथा कार्यशाला भइराखेको छ। फलस्वरूप विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयमा सोहीअनुरूप परीक्षण गरिएका प्रश्नपत्रबाट स्तरीकृत परीक्षाका लागि अवलम्बन गरिने विभिन्न चरणहरू पूरा गर्दै २०७९ सालको एसइई सञ्चालन भएको थियो।

पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धि हासिल गराउन सोहीअनुरूपका संज्ञानात्मक तहका प्रश्नहरू राखेर परीक्षा सञ्चालन भयो। त्यसकारण पनि यो वर्षको प्रश्नपत्रमा शिक्षक, विद्यार्थी र सरोकारवालाले सकारात्मक तथा नकारात्मक मिश्रित प्रतिक्रिया दिनुभएको थियो। विद्यार्थी र शिक्षकमा नयाँ खालका प्रश्नपत्र निर्माण तथा अभ्यास गर्ने बानीको विकास भयो।

२०८० सालको एसइईमा सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैमा छुट्टाछुट्टै उत्तीर्ण हुनुपर्ने आधारमा नतिजा निकालियो, जसले बाहिरी रूपमा नतिजा केही कमजोर देखियो। कोभिड १९ को महामारीका कारण थिलथिल भएर अघिल्ला कक्षामा राम्रोसँग पढ्न नपाएका विद्यार्थीको उक्त वर्षको नतिजा आफैंमा नराम्रो थिएन तर विभिन्न सरोकारवालाहरूको आआफ्नै विश्लेषण रह्यो। २०८१ सालको एसइईको नतिजा २०८० सालको भन्दा केही सुधारिएर आयो।

यसका अन्य विभिन्न कारण होलान् तर मुख्यतयाः राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालदेखि गरेको मिहिनेत, विद्यार्थीहरूको अहोरात्र खटाइ, शिक्षक, अभिभावकहरूमा आएको परीक्षासम्बन्धि सचेतना र विद्यार्थीहरूमा नपढी नहुने रहेछ भन्ने सकारात्मक सोच, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षा तथा मानव स्रोत विकास शाखाले परीक्षाप्रति देखाएको चासो अनि नतिजा सुधारका लागि सबैले आआफ्नो तहबाट गरिएको पहलको मुख्य भूमिका रहन्छ।

२०७९ सालदेखि सोधिएका प्रश्नहरूको नमुना अनि शिक्षकहरूबाट पनि यही अनुरूपका प्रश्नहरूको निर्माण गरी आन्तरिक तथा त्रैमासिक परीक्षामा सोधिएका प्रश्नले विद्यार्थीलाई यस्ता प्रश्नमा अभ्यस्त बनायो। जसले २०८१ सालको नतिजा सुधारमा उल्लेख्य भूमिका खेल्यो।

२०८० सालमा राष्ट्रिय परीक्षा बोर्डले गाउँपालिका महासंघ र नगरपालिका संघसँग परीक्षा तथा नतिजा सुधारका लागि सम्झौता गरी सातै प्रदेशका करिब तीन सय ६८ पालिकाका विज्ञान तथा प्रविधि, गणित तथा अङ्ग्रेजी विषयका विषयगत शिक्षकलाई प्रश्नपत्र सिप विकाससम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम तथा कार्यशाला सम्पन्न गरिसकेको र उक्त पालिकाबाट आएर प्रशिक्षित हुनुभएका शिक्षकले आफ्नो पालिकामा गई आफ्नो पालिका मातहतका शिक्षकलाई सोही प्रकृतिको कार्यशाला सम्पन्न गरिसक्नुभएको छ।

उक्त कार्यशालाबाट तीन विषयका करिब ११ सय चार जना शिक्षक प्रशिक्षित भइसक्नुभएको र उक्त तालिममार्फत पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको विषयगत पाठ्यक्रम, तहगत सक्षमता, सिकाइ उपलब्धि, विशिष्टीकरण तालिका, प्रश्नपत्र निर्माण योजना, प्रश्नपत्रमा रहने सिकाइ क्षमताअनुसारको तहगत प्रश्नहरू जस्तैः ज्ञान, बोध, प्रयोग तथा उच्च दक्षता तहका प्रश्नहरू निर्माण गर्ने सिप अभिवृद्धि भएको देखिन्छ।

यति मात्र नभएर तीन सय ६८ पालिकाका शिक्षा अधिकृतहरूलाई पनि यो तालिमको जानकारीमूलक कार्यशाला राष्ट्रिय परीक्षा बोर्डले सम्पन्न गरेको छ। अवश्य नै यो तालिम तथा कार्यशाला नतिजा सुधारको एउटा कोसेढुङ्गा साबित भइसकेको र शिक्षकको क्षमता विकास सम्बन्धि यसप्रकारको तालिममा राज्यले अझै लगानी बढाउनुपर्ने देखिन्छ। यस प्रकारको तालिमबाट तहगत सक्षमता, सिकाइ उपलब्धि, विशिष्टीकरण तालिका तथा पाठ्यक्रमको महत्त्व बुझ्ने र बुझाउने कार्य भएको तथा पाठ्यक्रमको उद्देश्य पूर्ति हुने किसिमका कक्षाशिक्षण तथा प्रश्न निर्माण हुँदै गइरहेको छ।

जबसम्म शिक्षकमा सिकाइ सहजीकरणसम्बन्धि क्षमतामा सुधार आउँदैन, तबसम्म राज्यले चाहेबमोजिमको सिकाइ तथा मूल्याङ्कन हुन सक्दैन। त्यसैले पनि यो तालिमको महत्त्व बढ्दै गइरहेको छ। हाल यस कार्यक्रमको संयोजन राष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान महाशाखाअन्तर्गत परीक्षा सुधार युनिटले गरिरहेको छ। यस अभियानमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष लगायतका कर्मचारी साथै सहजकर्ताहरूको अग्रणी भूमिका रहेको छ।

२०८१ सालको नतिजामा देखिएको सुधारका कारण अप्रत्यक्ष रूपमा विभिन्न हुन सक्छन्। तीमध्ये विद्यार्थी तथा शिक्षकको मुख्य भूमिका हुन्छ। उनीहरूको मिहिनेतले नै यो सम्भव भएको हो। जबसम्म उत्तरपुस्तिकामा विद्यार्थीले लेखेको उत्तर सही हुँदैन, तबसम्म उत्तरपुस्तिका परीक्षणमा परीक्षकले अङ्क प्रदान गर्न मिल्दैन। यसका लागि विषयगत शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ। सँगसँगै अर्को महत्त्वपूर्ण भूमिका विद्यालय प्रशासनको संवाहक प्रधानाध्यापकको हुन्छ, जसले सिक्ने विद्यार्थी र सिकाउने शिक्षकलाई सिकाइको उचित वातावरण प्रदान गरेका हुन्छन्। साथै अभिभावकलाई पनि सँगसँगै लिएर उत्साहित नतिजाको भागीदार बनाउँछन्।

यति मात्र नभएर अभिभावकले घरमा आफ्ना बालबालिकाको पढाइ तथा अभ्यासको उचित वातावरण नमिलाइदिने हो भने सुखद नतिजाको अपेक्षा गर्न सकिँदैन। शिक्षा क्षेत्रका सरोकारवालाहरूले राम्रो र नराम्रो पक्ष नकेलाइदिने हो भने सुधार गर्नुपर्ने पक्षले सही वा गलत के गरेको छ, भेउ पाउँदैनन्। पत्रकारहरूले सही वा गलत के भइराखेको छ भन्ने समाचार प्रकाशित नगर्ने हो भने सम्बन्धित पक्षले के सही के गलत वा सुधार्नुपर्ने पक्षबारे थाहा नपाउन सक्छन्। राष्ट्रिय परीक्षा बोर्डले समय तालिका, प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण तथा नतिजा प्रकाशन नगरुन्जेल विद्यार्थीको मूल्याङ्कनको नतिजा थाहा हुने कुरा नै भएन। यसबाट के प्रस्ट छ भने कुनै एक जना वा एक पक्षको पहल तथा मिहिनेतले मात्र एसइई परीक्षाको नतिजा राम्रो भएको पक्कै होइन। पाठ्यक्रम विकास केन्द्र, तालिम केन्द्रहरू, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जिल्ला परीक्षा समिति, स्थानीय तह अन्तर्गतका शिक्षा शाखा र परीक्षा समिति, स्थानीय भद्र भलादमी सबैको जिम्मेवारीपूर्ण कार्य सम्पादनले नै यो सम्भव भएको हो।

यसका विविध पक्षहरू छन्। तीमध्ये मुख्य पक्ष विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापक र अभिभावक हुन् ।

परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्म विभिन्न कार्यको आआफ्नै गोपनीयता र हरेक कार्यका नियम छन्। त्यही परिधिभित्र रहेर कार्य हुन्छ र हुनुपर्छ पनि। कसैले चाहँदैमा अंक थपेर नतिजा सुधारियो भन्न पनि मिल्दैन। कसैले थपिहाल्यो मानौं, त्यसलाई नियमन गर्ने सम्परीक्षक पनि त छ नि। केही हदसम्म परीक्षाको वातावरण सुधार्ने कुरामा सम्बन्धित पक्षहरू सबैले सोचविचार र सुधारका लागि पहल गर्नुपर्छ। त्योभन्दा पनि अझै हाम्रो बानी आफूले केही नगर्ने अनि अर्काले राम्रो गरेको पनि देख्न नसक्ने, राम्रो भए पनि विरोध मात्र गर्ने, आफ्नो वा अर्काको मान्छे भन्ने आधारमा मूल्याङ्कन गर्ने प्रवृत्तिको छ। यो प्रवृत्ति जबसम्म रोकिँदैन, तबसम्म न शिक्षामा सुधार आउँछ, न त अन्य क्षेत्रमा नै।

विश्व वा बाहिरी संसारमा शिक्षामा के भइराखेको छ र राम्रो गर्न उनीहरूबाट हाम्रो माटो सुहाउँदो के के कुरामा परिवर्तन गर्न सकिन्छ, बुझ्नुपर्ने र नेपालको माटो र परिवेशअनुसार लागु गर्नुपर्ने ठाउँमा परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने, आजभन्दा ३०/४० वर्षअघिदेखि जे चल्दै आएको छ, त्रुटिपूर्ण भए पनि त्यही नै ठिक छ भनी बालहठ गर्दै परिवर्तनको नेतृत्वमा रहेका शिक्षाविद्हरू पनि परिवर्तन र जीवनोपयोगी शिक्षाको विपक्षमा उभिने आदि कारणले हामी पछि परेको अवश्य हो। जे राम्रो भएको छ, खुलेर प्रशंसा गर्ने र नराम्रो भएको भए त्यसलाई सुधारेर जाने रचनात्मक पृष्ठपोषण र सोच भयो भने मात्र शिक्षामा केही परिवर्तन आउला। जसले नयाँ सोच र दीर्घकालका लागि सुधार एवं परिवर्तनको खाका ल्याउँछ, उसलाई साथ तथा समर्थन गरेर सुधार गर्दै जानुपर्ने कुरामा दुईमत छैन।

नेपालमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अघिल्ला वर्षहरूभन्दा सुधारिएको देखिएको छ। यसको पछाडि विभिन्न महत्त्वपूर्ण कारणहरू रहेका छन्–

कोभिड–१९ पछि सुधारिएको शैक्षिक अवस्था

२०७७ र २०७८ सालको एसइई परिणाममा महामारीले नराम्रोसँग प्रभावित पा¥यो। २०७९ सालमा पनि कोभिड महामारीका कारण राम्रोसँग पढ्न नपाएको ब्याचका विद्यार्थीहरू भएकाले पनि सोचेअनुसारको नतिजा आएन। २०७९ सालमा नतिजा आन्तरिक र बाह्य मूल्याङ्कनलाई आधार मानेर निकालियो। २०८०÷८१ सालसम्म आइपुग्दा कक्षा शिक्षण सामान्य अवस्थामा फर्किएकाले विद्यार्थीको तयारी राम्रो भएको देखियो।

बढ्दो सचेतना र प्रेरणा

अब एसइईलाई भविष्यको अध्ययन जस्तैः विज्ञान, व्यवस्थापनका लागि आधार मानिन्छ, जसले विद्यार्थीलाई उच्च प्रदर्शन गर्न प्रेरित गर्छ। अभिभावक र विद्यालयले एसइईको तयारीमा विशेष ध्यान दिन थालेका छन्, जस्तैः अतिरिक्त कक्षा, कोचिङ आदि। यसले विद्यार्थीमा आफ्नो भविष्यको ‘करियर’सम्बन्धि चिन्ता र सचेतना ल्याएको देखिन्छ।

 ‘ग्लोबलाइजेसन’को यो समयमा विद्यार्थीमा आफ्नो भविष्यप्रतिको चिन्ता देखिनुले पनि पढाइमा अलि बढी नै चासो देखिन्छ। साथै प्रश्नपत्र निर्माणसम्बन्धि कार्यशालाले शिक्षकहरूमा पनि सिकाइ उपलब्धिअनुरूपको कक्षा शिक्षणमा देखिएको परिवर्तन अनि प्रश्न र सिकाइ उपलब्धिको अन्तरसम्बन्ध स्थापित गरेर प्रश्न निर्माण गर्ने जागरुकताको भूमिका देखिन्छ।

राष्ट्रिय परीक्षा बोर्ड र विद्यालयको राम्रो व्यवस्थापन

सातै प्रदेशमा सञ्चालन गरिएको प्रश्न निर्माणसम्बन्धि सिप विकास तालिम यो नतिजा सुधार हुनुपछाडि कोसेढुङ्गा साबित भयो र यो कार्यक्रम अझै सशक्त बनाएर लैजानुपर्ने आवश्कता देखिन्छ। साथै परीक्षा बोर्डले विषयविज्ञहरूको उपस्थितिमा प्रश्नपत्र निर्माण, परीक्षा तालिका, पाठ्यक्रम, मूल्याङ्कन मापदण्डहरू समयमै सार्वजनिक गरिनु, व्यवस्थापनमा स्पष्टता आउनु विद्यार्थीका लागि सहयोगी बन्यो। विद्यालयहरूले आन्तरिक मूल्याङ्कन सुधार गरे र कमजोर विद्यार्थीका लागि सुधारात्मक कक्षा सञ्चालन गरे।

परीक्षा प्रणालीमा सुधार

१९९० सालदेखि २०७२ सालसम्म अङ्कन प्रणालीमा र २०७३ सालदेखि लेटर ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशन गरिएको छ। आफैंमा लेटर ग्रेडिङ प्रणाली ठिक भए पनि सरोकारवाला र विद्यार्थीलाई यसको महत्त्व बुझाउन नसक्दा कतिपय विद्यार्थीमा अङ्कन प्रणाली नै ठिक थियो भन्ने छाप लामै समयसम्म रह्यो। छिटफुट रूपमा अहिले पनि सुन्न पाइन्छ। जिपिए प्रणालीलाई थप परिष्कृत बनाएपछि विद्यार्थीलाई आफ्नो ज्ञानअनुरूपको नतिजा प्राप्त गर्न सहयोग मिलेको छ। त्यसैगरी सिपमा आधारित प्रश्नको प्रयोगले रट्नेभन्दा बुझ्ने विद्यार्थीलाई राम्रो प्रदर्शन गर्न सजिलो बनायो।

नमुना तथा पुराना प्रश्नको अभ्यास

परीक्षामा सोधिने प्रश्न परीक्षाका लागि मात्रै बनाइए तर यसले विद्यार्थी सबै तहका सिकाइ उपलब्धि मापन गर्ने खालका छैनन् भने परीक्षाको औचित्य रहँदैन। त्यसका लागि परीक्षाको संयन्त्र गुणस्तरीय प्रश्न हो। २०७९ सालदेखिका प्रश्नको अभ्यास तथा शिक्षक सहजकर्ताले पनि नयाँ नयाँ र रट्नेभन्दा पनि बुझेर उत्तर लेख्ने सिप तथा दैनिक जीवनसँग जोडिने प्रकारका सन्दर्भ राखेर प्रश्न निर्माण गरी अभ्यास गराउनु यो नतिजाको अर्को महत्त्वपूर्ण पक्ष हो।

अबका दिनमा घोकेर उत्तर दिने खालका प्रश्न मात्र नभई बुझाइ, प्रयोग तथा उच्च दक्षता मापन गर्ने खालका पनि प्रश्न आउने कुराको बोध हुनु अर्को सुन्दर पक्ष हो। पाठ्यपुस्तकमा गरिएको आमूल परिवर्तन र शिक्षक तालिम आदिले विद्यार्थीलाई प्रश्न बुझ्न र सोहीअनुसारको उत्तर प्रस्तुत गर्न सहज बनायो।

डिजिटल शिक्षा र अनलाइन स्रोतको उपयोग

कोभिडपछि विद्यार्थी र विद्यालयले डिजिटल संयन्त्रहरू जस्तै– युट्युब, अनलाइन टेस्ट, पिडिएफ नोट्स आदि प्रयोग गर्न थाले। मोडेल प्रश्न, भिडियो ट्युटोरियल र अनलाइन अभ्यासमार्फत विद्यार्थीको तयारीमा उल्लेखनीय सुधार आयो। साथै शिक्षा तथा मानवस्रोत शाखाले पनि परीक्षाको करिब १५ दिनअघि विषय विज्ञलाई नमुना उत्तर कस्तो हुने र प्रश्नहरू हल गर्दा के के कुरामा ध्यान दिने भन्नेबारे विषयगत रूपमा नै भिडिओ सामग्री प्रसारण गरेको थियो। यो सामग्री पनि विद्यार्थीको नतिजा सुधार हुनुमा सहयोगी रह्यो।

प्रश्न बैंक प्रणाली

राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई व्यवस्थित गर्न प्रश्न निर्माण सिप विकासका लागि कार्यशाला सँगसँगै प्रश्न बैंक प्रणालीको निर्माण तथा विकास गर्ने कार्य पनि गरिरहेको छ। यो अनलाइनमार्फत प्रश्न निर्माण गरी प्रश्न जम्मा गर्ने प्रणाली हो। यसमा प्रश्न निर्माणकर्ताको लग इन गर्ने अकाउन्ट राष्ट्रिय परीक्षा बोर्डले तयार गरिदिन्छ। प्रश्न निर्माणकर्ताले प्रश्न निर्माण गरी प्रविष्ट गरिसकेपछि उक्त प्रश्न ‘आइटम मोडरेटर’ले हेर्न सक्नेछ।

यदि उक्त प्रश्नको संज्ञानात्मक तह, अङ्कभार, उत्तरकुञ्जिका, प्रश्नमा प्रयोग गरिएको भाषा, पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको सिकाइ उपलब्धिअनुसारको प्रश्न भए नभएको निक्र्योल गरिसकेपछि सबै हिसाबले ठिक छ भने पाइलटिङका लागि प्रश्न बैंकमा जम्मा हुनेछ। मिलेको छैन भने आवश्यक पृष्ठपोषणसहित प्रश्न निर्माणकर्तालाई फिर्ता गर्ने व्यवस्था गरिएको हुनेछ। पाइलटिङका लागि जम्मा भएको प्रश्न निर्माणकर्ताले हेर्न मिल्दैन। प्रश्न वा आइटमहरू स्वीकृत भइसकेपछि स्वचालित रूपमा प्रश्नबापतको पारिश्रमिक प्रश्न निर्माणकर्ताको अकाउन्टमा दाखिल गर्ने व्यवस्था मिलाउने कुरा पनि राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

विषयगत रूपमा कुनै पनि कक्षाको सम्पूर्ण सिकाइ उपलब्धि हासिल हुने किसिमले देशैभरिका विषयगत विज्ञलाई विभिन्न प्रकारका प्रश्न निर्माण गर्न कार्य विभाजन गरी समय पनि तोकेर कामको जिम्मा लगाउने व्यवस्था मिलाउनेछ। समय समयमा उक्त प्रश्नहरू परीक्षणका लागि पाइलटिङमा लगिन्छ। पाइलटिङ र परीक्षणपश्चात् स्वीकृत भएका आइटम अन्तिम प्रश्न बैंकमा जम्मा हुन्छन्। जुन प्रश्न परीक्षा लिनका लागि योग्य हुनेछन्। सात वटै प्रदेशमा वा सात सय ५३ वटै पालिकाले यो प्रश्न प्रयोग गर्न सक्नेछन्। यसका लागि टेस्ट मेट्रिक्स तयार गरी सोहीअनुसारको कमान्ड प्रश्न बैंक प्रणालीलाई दिइन्छ र उक्त आइबिएस प्रणालीले सोही अनुसारको प्रश्नपत्र निर्माण गर्नेछ।

प्रदेश वा पालिकालाई आइबिएस प्रयोग गर्ने लग इन अनुमति दिएपछि उनीहरूले नै टेस्ट मेट्रिक्स तयार गरी प्रश्नपत्र प्रिन्ट गरेर परीक्षा सञ्चालन गर्न सक्नेछन्। यस प्रकारको स्वचालित प्रणाली कक्षा ८, १० र १२ को परीक्षाका लागि प्रयोग गर्न मिल्ने गरी कार्य अघि बढाउन सकियो भने एसइईमा वा कक्षा १२ मा सोधिने प्रश्नबारे टीकाटिप्पणी तथा अपव्याख्या वा अन्य अनुत्पादक व्याख्यामा समय बर्बाद गर्नुपर्ने थिएन। यस वर्ष कक्षा ८ को वार्षिक परीक्षामा एक सय ५९ पालिकाले आइबिएस प्रणालीमार्फत परीक्षा लिएको राष्ट्रिय परीक्षा बोर्डबाट जानकारी प्राप्त भएको छ।  

यसका लागि राष्ट्रिय परीक्षा बोर्डमा प्रश्न बैंक तथा प्रश्न पाइलटिङ सम्बन्धि छुट्टै महाशाखाको व्यवस्थापन गरिनुपर्छ। साथै अहिलेसम्म भएका कार्यलाई अझ बढी व्यवस्थित गरेर आइबिएसलाई प्रयोगमा ल्याउन मिल्ने बनाउनु आजको आवश्यकता भइसकेको छ। यस महाशाखाले बर्सैभरि यही प्रक्रियाभित्र रहेर कार्य सम्पादन गर्ने प्रणालीको विकास हुनुपर्छ। शिक्षाको गुणस्तर वृद्धि गर्नु यो महाशाखाको मुख्य कार्य हुनेगरी कार्य हुनुपर्छ।

प्रश्न निर्माण सिप विकासका लागि तालिम पनि यही शाखाले हेर्ने गरी अन्तर्राष्ट्रिय स्थरको परीक्षा प्रणालीको व्यवस्था गर्न सकियो भने शिक्षा प्रणालीमा राम्रो सुधार हुन सक्छ। यति मात्र नभएर विश्वविद्यालय तहमा पनि सोहीअनुसार कार्य गर्न सकियो र परम्परागत कक्षा शिक्षण तथा परीक्षा प्रणाली सुधार गर्न सकियो भने साच्चिकै शिक्षण सिकाइ र परीक्षा प्रणालीमा आमूल परिवर्तन आउँछ र भविष्यको पुस्ताले हामीलाई सराप्ने छैन।

अन्त्यमा, एसइई परीक्षाको नतिजा सुधार हुनुमा विद्यार्थी, शिक्षक, अभिभावकको मिहिनेत, बुद्धिजीवी, शिक्षाविद्, सही व्यवस्थापन, परीक्षाप्रतिको सम्पूर्ण सरोकारवालाको चिन्तन, मिहिनेत, केन्द्रदेखि स्थानीय तहसम्मको समग्र प्रयासले सम्भव भएको हो भन्ने लाग्छ।

समग्र देशको शिक्षा प्रणाली सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रूपमा, हाम्रोभन्दा पनि राम्रो व्यक्ति, चिनजानको भन्दा पनि विषयगत विज्ञता भएका व्यक्तिलाई साथमा लिई सुधारका लागि पहल गर्नुपर्छ। उचित व्यवस्थापन तथा कक्षाकोठाको शिक्षण सिकाइ राम्रो भयो भने मात्र पाठ्यक्रमले तोकेको सिकाइ–उपलब्धि हासिल हुन सक्छ। सँगसँगै आधुनिक परीक्षा प्रणालीको पनि विकास गर्दै जानुपर्ने हुन्छ। जीवनमा अवसर कमै आउँछन् तर यी अवसरलाई पहिचान गरेर इतिहासले सम्झनलायक कार्य गरौं। यसमा सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन।

– रेग्मी राष्ट्रिय परीक्षा बोर्ड, प्रश्न निर्माण सिप विकासका सहजकर्ता हुन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours