आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो

२२ असार, काठमाडौं । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।

आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले हाम्रा पुर्खाले घरघरमा यसको मठ बनाएर पूजा आराधनाको परम्परा बसालेको बताए । औषधीय गुणले युक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला चिया उत्पादनलाई निरन्तरता दिएको उनले जानकारी दिए ।

“तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ । कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ, कीटनाशक भएकाले नै वैदिककालदेखि तुलसीको महत्त्व बढेको हो”, डा खरेलले भने ।

हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित रहेका भन्दै उनले अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको बताए । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । भगवान् विष्णु शयन गर्ने ४ महिनालाई चर्तुमासा पनि भनिन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार ५ महिना हुने भएको छ ।

“एक वर्षमा २४ एकादशी पर्छन् । अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चर्तुमासाका ४ महिनामा पर्ने ८ एकादशीमा व्रत गर्छन्”, उनले भने ।

कामकाजमा सक्रिय हुनुपर्ने र ४ महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरि बोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन पनि व्यवहारमा चलेको छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका ४ नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चर्तुमासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

४ महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट पूजा आराधनासहित चर्तुमासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्नि स्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराईले उल्लेख गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours